आयातसँगै व्यापार घाटा पनि घट्यो



नेपाल समाचारपत्र, काठमाडौं

चालू आर्थिक वर्षको पहिलो महिनामा कुल वस्तु व्यापार घाटा २२ दशमलव २ प्रतिशतले घटेर ७६ अर्ब १९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १३ दशमलव ९ प्रतिशतले ह्रास आएको थियो ।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात ११ दशमलव २ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८ दशमलव ३ प्रतिशत रहेको थियो । वार्षिक विन्दुगत आधारमा साउन महिनामा भन्सार तथ्यांकमा आधारित निर्यातको एकाइ मूल्य सूचकांक शून्य दशमलव ५ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क ३ दशमलव ८ प्रतिशतले घटेको छ ।

आर्थिक वर्ष २०७७÷७८ को पहिलो महिनामा कुल वस्तु निर्यात ८ दशमलव ९ प्रतिशतले वृद्धि भई ९ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २७ दशमलव ७ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ४ दशमलव ४ प्रतिशत र २५ दशमलव ५ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ७१ दशमलव ७ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा पश्मिना, ऊनी गलैंचा, आयुर्वेदिक औषधि, जडिबुटी, जुटका सामानलगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जुस, अलैंची, पोलिस्टर यार्न तथा अन्य धागो, जस्तापातालगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्षको पहिलो महिनामा कुल वस्तु आयात १९ दशमलव ६ प्रतिशतले घटेर ८५ अर्ब ८१ करोड रुपियाँ भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ११ दशमलव ५ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६ दशमलव ८ प्रतिशत, ३९ दशमलव ७ प्रतिशत र १० दशमलव ५ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा चामल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, कोइला, खाने तेललगायतका वस्तुको आयात बढेको छ । त्यस्तै पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, अन्य मेसिनरी तथा पार्टपुर्जा, एमएस बिलेट, हटरोल सीट लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्पm वीरगन्ज, भैरहवा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपालगन्ज, मेची र कृष्णनगर भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा ह्रास आएको छ । आयाततर्पm भैरहवा, नेपालगन्ज, कृष्णनगर, कैलाली, तातोपानी र कञ्चनपुर भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।

समीक्षा अवधिमा खुद सेवा आय २ अर्ब ४५ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ३ अर्ब ४१ करोडले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ८६ दशमलव १ प्रतिशतले कमी आई ६० करोड ५६ लाख कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४ अर्ब ३६ करोड रहेको थियो ।

सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण व्यय ७७ दशमलव ४ प्रतिशतले घटी १ अर्ब ५८ करोड कायम भएको छ । यसमध्ये शिक्षातर्पmको व्यय १ अर्ब ३९ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ७ अर्ब २ करोड रहेकोमा शिक्षातर्फको व्यय ३ अर्ब ४९ करोड रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्