नेपाली मिडियामा पेशागत धर्म–पालनामै चुनौती



राघवराज रेग्मी, सञ्चारविद्

राघवराज रेग्मी ३० को दशक शुरू हुनुअघि नै बाल पत्रकारका रूपमा परिचित भइसकेका व्यक्ति हुनुहुन्छ– पत्रकार पिताका पत्रकार छोरा । वरिष्ठ पत्रकार स्व. कोषराज रेग्मी उहाँका पिता तथा प्रशिक्षक हुनुहुन्छ । २०४२ सालसम्म राजधानी बाहिरको एकमात्र दैनिक पत्रिका जनवार्ताको सहायक सम्पादकका रूपमा कार्यरत राघवराज आफ्नो समयमा एक तीखो कलम चलाउने युवा पत्रकारका रूपमा परिचित हुनुहुन्थ्यो ।

सुशासन, जनउत्तरदायी र भ्रष्टाचारमुक्त सरकारी सेवा, कानुनको शासन र प्रभावकारी सार्वजनिक वित्त व्यवस्थापन जस्ता कुरा उहाँको कलमका मुख्य लक्षित विषय हुन्थे । फिलिपिन्सस्थित एसियन इन्स्टिट्युट अफ म्यानेजमेन्टबाट विकास व्यवस्थापनमा उच्च शिक्षा प्राप्त रेग्मी विगत ३० वर्षदेखि विकास व्यवस्थापन परामर्शदाताका रूपमा अन्तर्राष्ट्रिय विकास संस्थाहरूसँग नेपाल तथा अन्य विभिन्न मुलुकमा कार्यरत हुनुहुन्छ । प्रस्तुत छ, नेपाल समाचारपत्रका लागि उहाँले दिनुभएको अन्तर्वार्ता ः

एक पुरानो पत्रकारका रूपमा कोभिड महामारीका बेला घरमै बस्दाको अनुभव कसरी व्यक्त गर्नुहुन्छ ?
एक प्रकारले घरमै नजरबन्दको अवस्था छ । बाहिरका घटनाक्रम र कोरोनाविरुद्ध र भोकका विरुद्ध भएका र नभएका कामको समीक्षा गर्दै, फेसबुकमा आक्रोश व्यक्त गर्दै समय बितेको छ ।

नेपाली पत्रकारिताले यस बेला ठीक भूमिका खेलिरहेको छ ?
नेपाली पत्रकारिता जगत्ले खेलेको भूमिका पनि अहिलेको राजनीतिक संस्कार जस्तै नै हो, समग्रतामा केही मूलधारका मिडियाले ‘वस्तुगत’ हुने प्रयास गरेका छन् तर सूचना र प्रति सूचना अधुरो छाडिने समस्या देखिन्छ, कुनै समस्या उठायो, समाचार दियो तर त्यसका पछिल्ला घटना र निष्कर्षका फलोअप सूचना हँुदैन, अर्धसूचित हुनुपर्ने अवस्था छ । ‘निष्पक्ष’ विचार र विश्लेशणको अभाव छ, मिडियाको विश्वसनीयता धेरै तल गएको हुनाले यसको पेशागत धर्म पालनाप्रति पनि शंका गर्नुपर्ने अवस्था छ ।

तपाईंले पत्रकारिता गर्दाको बेला र आजको पत्रकारितामा मिडिया पावर कति भिन्न वा कति समान पाउनुहुन्छ ?
सैद्धान्तिक रूपले भिन्नता छैन तर व्यवहारमा मिडियाका विरुद्ध मिडिया नै प्रयोग हुने र युट्युब, अनलाइन आदिको गिर्दो स्तरले गर्दा त्यो बेलाको जस्तो ‘मिडिया पावर’ नदेखिने अवस्था छ । मूलधारका केही मिडियामा विषय विशेषमा केही अपवाद देखिएला ।

अहिले तपाईं मूलधारको सम्पादक। प्रकाशक भए मिडिया एजेन्डा के बनाउनुहुन्थ्यो ?
मूल रूपमा जनतालाई सार्वभौम बनाउने र राज्यलाई जनताप्रति उत्तरदायी बनाउने नै अहिलेको मूल विषय हुनुपर्छ । सुशासन, राजनीतिक शुद्धीकरण, सार्वजिनिक निकायहरूमा सेवामुखी सुधार, भ्रष्टाचारीमाथि कारबाही र पदमा हुनेहरूको स्वेच्छाचारितालाई रोक्ने कुराहरूमा ‘मिडिया अभियान’ चाहिएको छ ।

के सामाजिक सञ्जालको मिडिया मूलधारको मिडियाका लागि चुनाती हुन सक्छ ?
सक्तैन, सामाजिक सञ्जालको मिडियाले केही प्रथम सूचना दिने र सस्तो लोकप्रियताको मनोरञ्जन दिनेभन्दा बेसी र व्यक्तिगत विचार दिनेभन्दा बढी केही गर्दैन, आधिकारिक र जिम्मेवार सूचना तथा टिप्पणीका लागि मूलधारकै मिडिया खोज्ने प्रवृत्ति बुद्धिजीवी र सचेत वर्गका पाठक, स्रोता, दर्शकहरूमा देखिन्छ ।

सरकारद्वारा सञ्चालित मिडिया र निजी क्षेत्रको मिडिया तुलना गरेर हेर्दा तपाईं कसलाई बढी विश्वास गर्नुहुन्छ, किन ?
यो वा त्यो भन्ने हुन्न, सरकारका प्रमाणिक आधिकारिक भनाइका लागि सरकारी मिडिया हेर्नुपर्ने हुन्छ भने सरकारी दावाको सत्यता, सरकारले ‘गरें’ भनेको ‘नगरेको’, वा ‘भयो’ भनेको तर ‘नभएको’ कुरा थाहा पाउन भने निजी क्षेत्रको मिडिया नै चाहिन्छ । निजी क्षेत्रले पत्रकारिताको सही धर्म पालना गर्ने हो भने सरकारी मिडियाभन्दा बढी विश्वसनीय हुन सक्छ तर सरकारी मिडियाले निजी क्षेत्रको मिडियाको ठाउँ लिन सक्दैन । जस्तो गोरखापत्रले नेपालमा कोरोना व्यवस्थापनमा भ्रष्टाचार भएको छैन भन्यो भने वास्ता हुँदैन तर त्यही कुरा नेपाल समाचारपत्रले भन्यो भने आँखीभौं खुम्च्याउनुपर्ने हुन्छ । सरकारको पक्ष राख्ने र जनताको पक्ष राख्ने भूमिका फरक हुन्छ ।

विश्वयुद्ध अघि र पछिको समाज, उपनिवेशकालभन्दा अघि र पछिको विश्व भनेजस्तै कोभिडअघि र पछिको समाजमा के भिन्नता हुने देख्नुहुन्छ ?
कोभिडअघिका चुनौती समाजमा भिन्दै थिए, कोभिडको संक्रमणले समाजमा गरिब र निम्न वर्गको जीवन कठिन भएको छ, मान्छे मान्छेबाट अझ हिजोको आशा–भरोसाकै मान्छेबाट टाढा बस्नुपर्ने समय छ, बाबुआमाको सदगत गर्नसम्म नपाएको अवस्था छ । कोभिडपछिको समाजमा मान्छेको जीवनशैली र सोचमा कोभिड कालको अनुभवले नयाँ दिशा ल्याउनेछ, परिवारमा आर्थिक चुनौती थपिन्छ नै, रोजगार कम हुने, विदेश नजाने सोच बढ्ने, उत्पादन क्षेत्रमा लगानी कम हुने जस्ता कुराहरू बढ्ने मेरो अनुमान छ । समाजलाई मानसिक रूपले बाँधेर राख्न सजग रहनुपर्छ, आर्थिक पक्षका कुराहरू विश्व परिस्थितिले निर्धारित गर्दै जानेछ, हाम्रो अर्थतन्त्रलाई त्यसैअनुरूप मिलाउँदै जान सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्छ, उत्पादक क्षेत्रबाट पुँजी पलायन हुन नदिन सतर्क रहनुपर्छ ।

साम्यवादी भन्ने चीनले कोरोना जित्यो, लोकतत्रन्त्रवादी भन्ने अमेरिका, भारत आदि हारिरहेका छन्, राजनीतिक पद्धति र कोरोनाबीच सम्बन्ध के हो ?
यो जनताप्रति उत्तरदायी राजनीतिक चरित्र र स्वेछाचारी, अधिनायकवादी तथा सामन्ती शैलीको राजनीतिक चरित्र बीचको फरक हो । चीन, अमेरिका, ब्राजिल, भारत, फिनल्यान्ड, थाइल्यान्ड जस्ता मुलुकको वर्तमान नेतृत्व र सासकहरूको शैलीको तुलना गर्दा राजनीतिक नेतृत्वशैली र कोरोना व्यवस्थापन बीचको सम्बन्ध प्रस्ट हुन्छ । जनउत्तरदायी सरकारले जनता कसरी जोगाउने र उनको स्वार्थको रक्षा कसरी गर्ने भन्ने चिन्ता गर्छ तर स्वेच्छाचारी सरकारले आफू र आफ्नाहरूको स्वार्थ मात्र हेर्छ । यहाँ प्रश्न राजनीतिक पद्धतिको होइन, त्यो पद्धति हाँक्ने व्यक्तिको नियतको हो ।

नियमित कोलमनिस्ट भएर पुरानो पत्रकारको धर्म आज पनि निर्वाह गर्न मन हुँदैन ?
निश्चय पनि मन लाग्छ, तर आज जे लेखिन्छ, जे पढ्न खोजिन्छ, जे प्रसारित गरिन्छ त्यो हेर्दा कलम चलाउने जाँगर आउँदैन । ‘नेपालमा ‘र’ को तलब खाने ५ हजार मान्छे छन्’ भन्ने जस्ता हावादारी गफ दिनेलाई सुनाउने, छाप्ने, २० वटा टिभी च्यानलमा सार्वजनिक विषयमा बोल्ने, लेख्ने मान्छे घुमीफिरी उही ५÷७ जना, कथा र अनुमान, गालीगलौज र हावादारी गफ गर्ने÷गराउने, राजनीतिक दलको र कुनै नेताको हनुमानगिरी वा कुनै नेतालाई गाली गर्ने÷गराउने बजार छ । यस्तोमा गम्भीर, निष्पक्ष र सन्तुलित कुरा गर्ने ठाउँ नै देखिँदैन । अहिलेको ‘ओलीजीलाई गाली गर्ने र जोगाउने, वा ‘एमसीसीको विरोध गर्ने र समर्थन गर्ने’ बजार यसको एक उदाहरणका रूपमा लिन सकिन्छ ।

मेरो फेसबुकका अधिकांश स्टाटस सार्वजनिक विषयमा राज्य र जिम्मेवार पदाधिकारीहरूको जनउत्तरदायित्वप्रति नै लक्षित हुन्छन्, त्यसैलाई मेरो नियमित कोलम माने पनि हुन्छ । कहिलेकाहीं मन्त्री, सचिवहरूका मोबाइलमा सीधै सुझाव र टिप्पणी पनि पठाउँछु, अहिलेसम्म एक जना व्यक्तिगत मित्र मन्त्रीले बाहेक कसैले पनि जबाफ पठाएको अनुभव छैन । मेरो यो एउटा प्रयोग हो जसले सार्वजनिक जिम्मेवारीमा बस्नेहरू आम जनताको चासो र आवाजप्रति कति उत्तरदायी छन् भन्ने देखाउँछ ।

नेपाली पत्रकार र मिडिया हाउसहरूलाई सुझाव ?
मूलधारका मिडियाहरूमा पत्रकारिताको मूल धर्म जोगाउने कुरामा एकता र सहकार्य हुनुपर्छ । व्यावसायिक प्रतिस्पर्धाले प्रतिद्वन्द्वीको रूप लिन नपाओस् भन्ने कुरामा सचेत रहेन भने नेपाली निजी क्षेत्रको प्रत्रकारिता ‘भाटगिरी’ र झुटको खेती मात्र हुनेछ । नेपाली पत्रकारहरूलाई भन्ने पनि त्यही हो– पत्रकारिताको धर्म पालना गर्नुहोस्, मर्यादित पत्रकारिता मात्र गर्नुहोस् ।
अर्को कुरा मिडिया हाउस मालिक र श्रमजीवी पत्रकार, मालिक पत्रकार र श्रमजीवी पत्रकारका बीचको सम्बन्ध र नियतलाई प्रस्ट र सही व्यवस्थापन गरिनुपर्छ जस्तो लाग्छ ।

थप केही भन्नु छ कि ?

प्रेस स्वतन्त्रता भनेको छाडा छाड्नु होइन, नियमन गरिनुपर्छ तर नियमन गर्नु भनेको नियन्त्रण पनि होइन । अहिले धेरै छाडापन पनि देखिएको छ, सँगसँंगै नियन्त्रण मात्रै होइन पूरै दबाउनुपर्छ भन्ने शैली पनि देखिन्छ– यो दुवै ठीक छैन । मूलधारका श्रव्य–दृश्य र छापाहरूलाई नियमन गर्न सजिलो छ, युट्युब, अनलाइन मिडियामा भने नियमन अलि कठिन छ, तर बढी समस्या पनि त्यहीं छ ।

प्रतिक्रिया दिनुहोस्