मनसुनका कारण झापामा २० जनाको मृत्यु



न्युज अफ नेपाल, भद्रपुर ।

यस बर्षको मनुसनका कारण झापामा २० जनाको मृत्यु भईसकेको छ भने झण्डै ३ सय ५० घर परिवार विस्थापित बनेका छन् । जिल्लाका विभिन्न खोला तथा नदीमा आएको बाढीले बगाएर तथा डुवाएर उनिहरुको ज्यान गएको जिल्ला विपद् व्यवस्थापन समिति झापाले जानकारी दिएको छ ।

जिल्लामा ४५ घर परिवार विस्थापित बनेका छन् भने बाढीले ९ वटा घर बगाएको छ । पछिल्लो समय परेको अविरल मनसुन नरोकिएकाले झापाको विभिन्न खोला तथा नदिमा आएको बाढीले झापाको बाह्रदशी, भद्रपुर, झापा, हदिबारी क्षेत्रमा ४५ घर परिवार विस्थापित भईसकेको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले जानकारी दिनुभयो ।

विरीङ्ग खोलामा आएको बाढीले बाह्रदशी गाउँपालिका वडा नं ७ तुलसीबारीका ६ घर परिवार घरबार विहीन बनेका छन् । कटानले घर बगाउन थाले पछि सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा घर भत्काएर आवाश्यक सामाग्री सुरक्षित गरिए पनि सो क्षेत्रमा कटान नरोकिएको वडा अध्यक्ष मित्रराज भट्टराईले बताउनुभयो । बाढीले घरबार विहीन बनेका बासिन्दालाई उचित व्यवस्थापनको तयारी थालेको भट्टाईले जानकारी दिनुभयो ।

मनसुनका कारण मेचीखोला, विरीङ्ग, कन्काई, रतुवा, मावा, देउनिया लगायतका खोलामा आएको बाढीले कटान तथा डुवान थालेको छ । बाढीका कारण विस्थापित बनेकाको उचित वासको व्यवस्थापन गर्न उनीहरुले माग गरेका छन् ।

यो बर्ष अधिक बर्षा भएको कारण दक्षिण झापा क्षेत्रमा सयौं विगाह अन्नबाली लगाएको खेतबारी वगरमा परिणत भएको स्थानीय पालिकाहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्