कमलामाई नगरपालिकाको ९० प्रतिशत भू-भागमा विद्युतीकरण



बुद्ध नेपाली, सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकाको ९० प्रतिशत भुभागमा विद्युतीकरणको काम सकिएको छ । शनिवार कमलामाई नगरपालिका वडा नं. ८ मा विद्युत पुृर्याएसँगै नगरक्षेत्रको ९० प्रतिशत भुभागमा विद्युतीकरणको काम सकिएको नगरप्रमुख खड्ग बहादुर खत्रीले दावी गर्नुभएको छ ।

वडा नं. ८ को तिनतले, पाथिपरान, माईखोला, सिद्धडांडा, ज्यामिरे, बाघछेडा, ठुल्डाँडा हुँदै लाङ्दिमा विद्युत विस्तार गरी शनिवार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । साढे दुई करोड भन्दाबढी लागतमा विस्तार गरिएको विद्युतबाट वडा नं. ८ का २ सय भन्दाबढी घर परिवार विद्युत सेवाबाट लाभान्वित भएका छन् ।

माइखोला क्षेत्रमा ११ किमि मुख्य लाइन, १५ किमि शाखा लाइन, २ वटा ट्रान्स्फर्मर तथा पातिपरान क्षेत्रमा १५ किमि मुख्य लाइन, ३० किमि शाखा लाइन र १ वटा ट्रान्स्फर्मर जडान गरी वडा नं. ८ को सबै बस्तीमा विद्युतीकरण गरिएको नगरप्रमुख खत्रीले बताउनुभयो ।

हाल सम्म कमलामाई नगरपालिकाको १४ वडा मध्ये वडा नं. १ को केही भाग र वडा नं. ४ को केही भाग बाहेक नगरको सबै भुभागमा विद्युतीकरण भएको नगरप्रमुख खत्रीले जानकारी दिनुभयो ।

आर्थिक बर्ष २०७६।०७७ मा विद्युतीकरणका लागि बिनियोजन गरिएको ६ करोड रुपैयाँले विद्युत पुग्न बाँकी वडा नं.७,८ र १० का सबै भुभागमा विद्युत पुर्याईएको नगरप्रमुख खत्रीले सुनाउनुभयो । ‘मैले चुनावमा “नगरवासिको चाहना, उज्यालो नगरपालिका हाम्रो कामना”भन्ने अभियान अन्तर्गत आफ्नो ५ बर्षे कार्यकालमा नगरपालिकाको सबैबस्ती बस्तीमा विद्युत पुर्याउछु भनेर जनतामाझ घोषणा पत्र मार्फत प्रतिबद्धता गरेको थिए । यो प्रतिबद्धता म यसै साल पुरा गर्दैछु । अहिले सम्म नगरको ९० प्रतिशत भुभागमा विद्युत पुर्याईसके अव ५ प्रतिशत आगामी मंसिर सम्म पुरा हुन्छ । बाँकी ५ प्रतिशत आगामी असार मसान्त सम्ममा पुरा हुन्छ’नगरप्रमुख खत्रीले भन्नुभयो ।

विद्युत पुग्न बाँकी वडा नंं १ र वडा नं. ४ का केही भुभागमा आर्थिक बर्ष २०७६।०७७ मा विद्युतीकरणका लागि बिनियोजन गरिएको ६ करोड रुपैयाँबाटै विद्युत विस्तार हुने नगरप्रमुख खत्रीले बताउनुभयो ।‘विद्युत पुग्न बाँकी वडाको सबै बस्तीमा आर्थिक बर्ष २०७६।०७७ मै विद्युतीकरणको काम सक्ने हाम्रो योजना थियो । तर कोरोना भाईरसको महामारीका कारण देश लकडाउन भएपछि विद्युत विस्तारको काम रोकियो । अहिले धमाधम काम भईरहेको छ । अव विद्युत पुर्याउन बाँकी ठाउँमा पनि छिटै विद्युत पुराउछौं’ नगरप्रमुख खत्रीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्