जीवनभर छायांकन निधन गुमनाम



जीवनको अधिकांश समय फिल्म र डकुमेन्ट्रीमा बिताएका छायांकार जावेद शाहले निधन भने गुमनाम भएको छ।

पछिल्लो समय फिल्म क्षेत्रबाट टाढा रहँदै आएका जावेदको गत बुधबार नै निवासमा निधन भए पनि त्यसको खबर शनिबार मात्र बाहिर आएको छ। रसिया पुगेर छायांकनको अध्ययन गरे पनि स्वदेशमै फर्केर उक्त विधामार्फत नेपाली फिल्म क्षेत्रलाई अतुलनीय योगदान पु¥याएका शाहकोे आकस्मिक हृदयघातका कारण ठमेलस्थित निवासमै निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ।

उनको ७० वर्षको उमेरमा निधन भएको हो। शुक्रबार निधनको खबर पाएपछि शाहको निवास पुगेर परिवारसँग भेटी समवेदना प्रकट गरेर फर्केका नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामालाई उनेका परिवारले बताएअनुसार हृदयघात हुनुअघि जावेदको स्वास्थ्य अवस्था सामान्य थियो। उनमा कुनै प्रकारको स्वास्थ्य समस्या थिएन। अचानक हृदयघात भएपछि निवासमै निधन हुन पुग्यो।

उनी लामो समयदेखि फिल्म क्षेत्रबाट सम्पर्कविहीन भई पारिवारिक जीवन बिताउँदै आइरहेका थिए।
उनले रसियाको मस्कोस्थित स्कुल अफ सिनेमाटोग्राफीमा अध्ययन गरेका थिए। निर्देशक स्व. दीपक रायमाझीका साथ सो स्कुल पढेर फर्केपछि जावेदले तत्कालीन शाही नेपाली चलचित्र संस्थानमा जागिर खाएका थिए।

संस्थानमा जागिर खाने क्रममा उनले लेखक तथा निर्देशक लक्ष्मीनाथ शर्माको निर्देशनमा बनेको फिल्म बदलिँदो आकाशको छायांकन गरेका थिए। बदलिँदो आकाश नै उनीद्वारा निर्देशित पहिलो फिल्म थियो। २०३९ सालमा सुटिङ भएको सो फिल्म शुरूमा श्याममोहन श्रेष्ठले खिचेका थिए।

तर, श्याममोहन राजाको भ्रमणमा दिल्ली जानुपरेपछि निर्देशक शर्माले बदलिँदो आकाशको छायांकनको जिम्मा जावेदलाई दिएका थिए। दीपक ढकाल सो फिल्ममा सहायक छायाँकार थिए। २०४० साल वैशाख महिनामा रिलिजमा आएको फिल्म लिएर निर्देशक शर्मा रुसमा सम्पन्न आठौं अन्तिर्राष्ट्रिय फिल्म महोत्सवमा सहभागी भएका थिए।

बदलिँदो आकाशपछि जावेदले युगदेखि युगसम्म, भाग्यरेखा, चोखो माया, विजय पराजय, कसम, ज्वाला, नातेदार, प्रतिज्ञा, सीमाना, अवतार, रानी खोला, जमिन, प्रतीक्षा, मनको टुक्रालगायत दर्जनौं फिल्मको छायांकन गरेर ती फिल्मलाई धनी बनाएका थिए।

उनले केही वृत्तचित्र र छोटा फिल्म पनि खिचेका थिए। अभिनेता राजेश हमालको पहिलो फिल्म युगदेखि युगसम्म खिचेका जावेदले हमालका अधिकांश शुरुआती फिल्म पनि खिचेका थिए। निर्देशक दीपक रायमाझीका धेरैजसो फिल्म पनि उनैले खिचेका थिए।

७० वर्षीय शाहको श्रीमती र २ छोरा छन्। उनको मुस्लिम परम्पराअनुसार अन्तिम संस्कार भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्