आज देशमा रेलको मात्रै चर्चा



  • कृष्ण प्रजापति

आफूलाई गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपतिको रुपमा स्वघोषणा गरी भित्ते राष्ट्रपति बन्न पुगेका बखत नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा मेट्रो रेल सेवा सञ्चालन गराउने अवधारणा बाहिर ल्याई जनताको आँखामा छारो हानेका थिए ।

राजधानीको खुल्लामञ्चबाट मात्रै होइन कि ऐतिहासिक नगरी भक्तपुरको विश्वप्रसिद्ध पाँचतल्ले मन्दिरछेउ रहेको दबूमा भाषण गर्न टोपल्दा समेत उनले यो कुरा दोहो¥याएका थिए । चीनबाट रेल ल्याएर मेची–महाकाली जोड्ने, राजधानीभित्र मेट्रो रेल सञ्चालन गर्नेदेखि लिएर चीन, नेपाल र भारतलाई समेत रेलमार्गले जोड्ने सपना त्यति बेला नेपाली जनतालाई बाँढेका थिएतर हालसम्म यो सपना पूरा गर्न भ्याएको देखिँदैन ।

यो समयमा नेकपाको दुई तिहाइ बहुमतप्राप्त सरकार छ । एमाले र माओवादी अलग–अलग भई चुनाव जितेर आएका दलहरु भएपनि हाल आएर दुई पार्टी एक भएर नेकपाको नामले अगाडि आएको छ । गणितीय हिसाबले दुई तिहाइ त्यसको अर्थ तीन खण्डमा दुई खण्ड नेकपाका सांसदहरु नै छन् । यस्तो बेलामा समेत सरकारले काम भने गर्न सकिरहेको छैन ।

महाकाली सन्धी गरी भारतसँग जलविद्युत् आदानप्रदान गर्ने, उत्पादित विद्युत्बाट रेल सेवा, जलमार्ग, ट्रलीबसजस्ता विद्युतीय यातायात सञ्चालनमा ल्याउनेजस्ता सपनाहरु देखाएर जबर्जस्ती महाकाली सन्धी सदनले पारित ग¥यो । त्यसको झोकमा पार्टी नै अलग्याएर छुटटै पार्टी गठन गरी नेतृत्व गरेका एमाले नेता बामदेव गौतम पुनः पार्टी एकीकरण गरी बारम्बार उपप्रधानमन्त्रीसमेत भए । हाल जनताको मतले हारे पनि उनलाई पार्टीले आवश्यक व्यक्ति हो भनी राष्ट्रिय सभामा समेत नियुक्त गरिसकेको अवस्था छ । तर सन्धी कार्यान्वयन छैन ।

हालै गणतान्त्रिक नेपालको संविधान जारी भएको पाँच वर्ष पूरा भएको अवसर पारी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भाषण सुनाउँदै यस्ता रेलमार्ग, हवाईमार्ग र जलमार्गको सुधार गर्नेजस्ता विभिन्न खालका सपनाहरु पुनः दोहो¥याउनुभएको छ । त्यससँगै राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा १५० वर्षअगाडि बनाइएको जनकपुर–जयनगर रेलसेवालाई पुनः सञ्चालनमा ल्याएको देखाइएको छ ।

यो रेल सेवालाई नै नयाँ भन्ने भ्रम पार्नका लागि कतिपय सामाजिक सञ्चालका प्रयोगकर्ताहरुले पुष्पकमल दाहाल प्रचण्डपछि थप सपना र जोक्स बाँड्ने प्रधानमन्त्री खड्गप्रसाद शर्माको बचनअनुसार काम पूरा भएको भनेका छन् । यो गलत सन्देश हो ।

देशमा आज रेलकै मात्रै चर्चा छ । भ्रष्टाचार, कालोबजारी, तस्करी, कोरोना भाइरसको व्यापकता, रासायनिक मल नपाएकाले अन्न उत्पादन घट्ने भयो भनी किसानहरु छटपाइरहेका कुरा सबै ओझेलमा परेका छन् । रेलकै मात्र चर्चा–परिचर्चा गर्नका लागि मन्त्रालय नै खडा गरी त्यसमा पदाधिकारीहरुसमेत नियुक्त गरिराखेको अवस्था छ ।

डेढ सय वर्षअगाडि नै सञ्चालनमा आईदेशमा महाभूकम्प जानुभन्दा एक वर्षअगाडि २०७१ सालसम्म पनि निरन्तर सञ्चालनमा रहेको रेललाई पनि यसरी नयाँ रेल सञ्चालन गरेको जस्तो प्रचार गर्नु सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको गलत प्रवृत्ति हो ।

जनकपुरदेखि भारतको जयनगरसम्म सञ्चालनमा आएको रेल सेवा आजको रेल सेवा होइन । आफूहरु प्रधानमन्त्री हुन, पार्टी अध्यक्ष हुन र भारत र चीनलाई खुशी पार्नका लागि उनीहरुका प्रनिनिधिहरु नेपालको भ्रमणमा आउने बखत तपाईंहरुको देशबाट हामीकहाँ रेल सेवा शुरु गरे पनि हामी स्वीकृति दिन्छौं भनी बारम्बार निवेदन दिएको भरमा नेपालमा रेल आउने भयो भनी नेताहरु भाषण दिई टोपल्छन् ।

त्यसलाई कतिपय टिप्पणीकारहरुले त बकम्फुसे कुरा भनेर पनि टिप्पणी गर्ने गरेका छन् । तर चीन भूमिगत रेल सेवाको लागि विश्वप्रसिद्ध देश भने हो नै । त्यसैले पनि चीनले नेपालमा भूमिगत रेल सेवा सञ्चालनको लागि अध्ययन शुरु गरेको छ । यो असम्भव भने होइन ।

हालसम्म त्यसको पूर्वाधार तयार गर्ने कुनै पनि काम–कारबाहीहरु अगाडि बढेका छैनन् । फगत आज रेल फेसबुकमा सञ्चालनमा आएको छ । जनकपुर–जयनगरको रेल आजको रेल होइन । राणाहरुले भारतलाई रिझाउनको लागि बनाएको रेल सेवा हो । अहिले पनि त्यसलाई सञ्चालनमा ल्याएर नेपालमा नयाँ खाले रेल सेवा सञ्चालन गर्ने गरेको भनी भ्रममा पार्न खोज्नु नेताहरुको गद्दारी नै हुनेछ ।

जनकपुरदेखि जयनगरसम्म सञ्चालनमा रहेको रेल सेवा लामो समयदेखि बन्द थियो । हाल त्यही रेल पुनः सञ्चालनमा आए पनि कतिपय मानिसहरुले दिनभरजस्तो कुरेर पनि रेल सञ्चालनमा आएको हेरेका थिए । गत असोज २ गते शुक्रबारका दिन जनकपुरधाम पु¥याइएको रेल नेपालको झन्डाको रंग प्रयोग गरिएको थियो । सोही दिन नेपालको झन्डा जलाउने कलाकारहरुको एक टोलीलाई नेपाल सरकारले जेलमुक्त गरिदियो ।

हाल नेपालमा रेल मन्त्रालय गठन गरी काम शुरु भइसकेको कारण यो रेल सेवा अब निरन्तर सञ्चालनमा आउने अपेक्षा गरिएको छ । सामाजिक सञ्जालमा कतिपय सरकारवादी व्यक्तिहरुले प्रधानमन्त्री खड्गप्रसाद शर्माले नेपालमा रेल भित्र्याउने आश्वासन पूरा गरेको भनेर टिप्पणी गरेका छन् । तर २०७१ सालसम्म सञ्चालनमा रहेको रेल केही समय बन्द भएर पुनः सञ्चालनमा ल्याएको कुरालाई त्यसरी टिप्पणी गर्नु सही होइन ।

नेपालमा बिजुलीबाट रेल सञ्चालन गर्ने कार्य कतिको मिल्छ वा मिल्दैन भन्ने कुरामा व्यापक छलफल हुनु जरुरी छ । नेपालमा २०२२ सालमा २२ वटा ट्रलीबसहरु चीन सरकारको सहयोगमा भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको त्रिपुरेश्वरसम्म सञ्चालन भएर २२ वर्षदेखि बन्द छ । जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालनमा आएको यो समय नेपालको इन्धन विद्युत्बाट सञ्चालन हुने ट्रलीबस पुनः सञ्चालनमा ल्याउने सम्भावना कत्तिको छ भन्ने कुरामा पनि अध्ययन हुनु जरुरी छ ।

अरु नयाँ स्थानमा ट्रलीबस सञ्चालन गर्ने सम्भावना छ वा छैन, अध्ययन हुनुपर्दछ । नेपाल जलस्रोतमा धनी देश भएका कारण बिजुलीबाट चलाउने साधनहरु बढाउन सकेको खण्डमा बाहिरको इन्धन आउन पनि कमी भई नेपालको आम्दानी बढाउन सकिने थियो । त्यसैले पनि ट्रलीबस, रेल सेवा वा अन्य यातायातका साधनहरु पनिबिजुलीबाट सञ्चालन गर्नुपर्ने देखिन्छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अब धमाधम बिजुलीबाट वा ब्याट्रीबाट सञ्चालन हुने यातायातको साधनलाई मात्रै प्राथमिकता दिने भनिएपनि त्यसको तयारी भने नेपाल सरकारले कतै पनि गरिरहेको देखिन्न ।

भारत, चीन र अन्य कुनै पनि मुलुकसँग नेपालमा रेल सेवा सञ्चालन गर्ने बखत नेपालले बुझ्नुपर्ने मुख्य कुरा भनेको नेपालको राष्ट्रिय हित हो । रेल आएर छुकछुक आवाज मात्रै सुनेर रोमाञ्चित हुने वा त्यसबाट थप आन्दानी गरी आफ्नो देशमा प्रगति र उन्नति गर्ने भनेको कुरा पनि नेपाल सरकारको नियतमा भर पर्ने कुरा हो ।

रेल ल्याएर हामीले भारतबाट नोक्सान बढी र आम्दानी कम भयो भने त्यसबाट हामीलाई राम्रो हुनेछैन । त्यसैले पनि नाफा–नोक्सानको हिसाब अगाडि नै गर्न सक्नुपर्दछ । रेल सञ्चालनमा ल्याएर पनि भारत र चीनसँग हामीले फाइदा लिन सकेनौं भने त्यसले हामीलाई नोक्सान मात्रै हुनेछ । त्यसो भएर कुनै पनि देशबाट आउने रेलले नेपालको भन्दा विदेशीको बढी सेवा गर्ने खाले सम्भावनालाई पनि इन्कार गर्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस्