कामपाले रोक्यो जथाभावी परीक्षण

आजबाट मन्त्रालयको मापदण्डअनुसार परीक्षण गर्ने



नेपाल समाचारपत्र, काठमाडौं

दैनिक करिब ४ सयको हाराहारीमा कोरोना परीक्षण गर्ने काठमाडौं महानगरपालिकाले अब सरकारको मापदण्डअनुसार परीक्षण गर्ने जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको लक्षण देखिएका, वृद्धा वा विदेशबाट आएर केही दिन आइसोलेसनमा बसेकालाई मात्र परीक्षण गर्न निर्देशन दिएपछि सोही आधारमा परीक्षण गर्न लागेको हो ।
कामपा जनस्वास्थ्य विभाग प्रमुख हरिबहादुृर कुँवरले वडापिच्छे सधैंजसो कोरोना परीक्षण गर्ने कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो ।

कोरोना संक्रमणको हटस्पटका रुपमा रहेको राजधानीमा अबदेखि ठूला बजार, सपिङ मल, दशैं लक्षित व्यापारिक क्षेत्रमा मात्र परीक्षण गर्ने जनाएको छ ।

विभाग प्रमुख कुँवरले वडास्तरमा परीक्षणलाई पूर्णरुपमा बन्द नभई अत्यावश्यक भए पुनः परीक्षण गर्ने गरी तयारी भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘विगतमा जस्तो वडाको सिफारिसमा कोरोना लक्षण नदेखिएकालाई पनि परीक्षण गर्ने गरिएको थियो, अब त्यसो नगरी मन्त्रालयको मापदण्डअनुसार लक्षण देखिएकालाई मात्र परीक्षण गर्नेछौं ।’

कामपाको विभागले दिएको तथ्याङ्कअनुसार हालसम्म ६४ जनाको मृत्यु भएको छ । करिब ८ हजार संक्रमित देखिएका छन् । तीमध्ये सक्रिय संक्रमितको संख्या ३ हजार ६ सय ६६ रहेको छ । ३ हजार ७ सय ९७ जना निको भइसकेका छन् ।

२ हजार ४ सय ४५ जना होम आइसोलेसन, ४ सय ७० जना अस्पताल, ७ सय ४ जना संस्थागत आइसोलेसन, ३ सय ६५ जना सम्पर्कविहीन, १७ हजार १ सय ९५ को कन्ट्याक्ट ट्रेसिङ, १२ हजार ९ सय ७१ को पीसीआर परीक्षण गरिएको कुँवरले जानकारी दिनुभयो । उहाँले नयाँ मापदण्डअनुसार परीक्षणको तयारी गर्न सोहीअनुसार स्वास्थ्यकर्मीलाई अभिमुखीकरण शुरु गरेको बताउनुभयो ।

कामपामा दैनिक करिब ४ सयको हाराहारीमा संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले राजधानीमा २५ हजार सक्रिय संक्रमित देखिए पुनः लकडाउन गर्न सिफारिस गरेको छ । उपत्यका मेयर फोरमले स्थानीय प्रशासनले हचुवाको भरमा खोल्न नहुने व्यवसाय खोलेको आरोप लगाएका छन् ।

स्थानीय प्रशासनले उपत्यकामा लकडाउन खुकुलो पारेदेखि संक्रमितको संख्या बढ्दै गएको आकलन गर्दै यही अवस्था भइरहे पुनः लकडाउन गर्ने योजना बनाएको छ । चाडबाडको समयमा लकडाउन गर्दा सरकारप्रति आक्रोश बढ्ने भएपछि लकडाउनलाई खुकुलो पारेको हो ।

जनताहरु संयमित नभएको कारण संक्रमणको जोखिम दिनदिनै बढ्दै गएको छ । सरकारको शून्य अनुगमन र जनताले स्वास्थ्य मापदण्ड पूरा नगरेको कारण समस्या बढ्दै गएको हो । पछिल्लो समय उपत्यकामा संक्रमितको संख्या ह्वात्तै बढ्दै गएको छ ।

संघीय राजधानीमा कोरोना संक्रमित बढेसँगै स्वास्थ्य मन्त्रालयले उपत्यकामा तत्कालै लकडाउन गर्न सुझाएको छ । स्थानीय निकायले पनि अत्यावश्यक सेवाबाहेक अन्यमा कडाइ गर्न माग गरेको छ ।

ललितपुरका तीन मेयरलाई कोरोना संक्रमण

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलाई कोरोना संक्रमण देखिएको छ ।

संक्रमण देखिएकामध्ये ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र गोदावरीका मेयर गजेन्द्र महर्जन होम आइसोलेसनमा हुनुहुन्छ भने दोस्रो पटकसम्म पीसीआर परीक्षण गर्दासमेत कोरोना रिपोर्ट पोजेटिभ देखिएपछि महालक्ष्मीका मेयर श्रेष्ठ ग्वार्कोस्थित किस्ट मेडिकल कलेजको आइसोलेसनमा हुनुहुन्छ ।

उपत्यकाका मेयर फोरमका उपाध्यक्ष रहनुभएका ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले केही दिनअघि आफूसँग सम्पर्कमा रहेका सबैलाई पीसीआर परीक्षण गर्न आग्रह गर्नुभएको छ ।

कोरोना संक्रमण हुनु एक दिनअघि मेयर महर्जनले मेयर फोरमको बैठकमा सहभागिता जनाउनुभएको थियो । यसअघि फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएर निको भइसक्नुभएको छ ।

ललितपुरका तीनै जना मेयरलाई कोरोना संक्रमण देखिएपछि तीनै स्थानीय तहका कर्मचारीको कोरोना परीक्षण गर्ने तयारी भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्