कोरोनालाई श्राप दिऊँ कि आशीर्वाद !



  • सानुकाजी वज्राचार्य

मेरी ७२ वर्षीया श्रीमती लक्ष्मीहीरा वज्राचार्यले किड्नीको समस्याले आर्मी हस्पिटल, छाउनीमा गत डेढ वर्षदेखि डायलासिस गराउँदै आएकी थिइन् । बीचमा पेट दुख्यो, खोक्दा रगत देखियो भनेर सोही अस्पतालमा गत भदौ २४ मा जँचाउँदा थप समस्या देखिएकाले हाई केयर युनिटमा राखी भोलिपल्ट २५ गते हेमो डायलासिस युनिटमा लाने निर्णय भयो ।

तर कोरोनाको महामारीका कारण त्यहाँ डायलासिस नगर्ने भनिएकाले बिहानै पीसीआर टेस्टका लागि स्वाब लिने कोभिड एरियामा राखी चार घण्टा डायलासिस गरायौं । भोलिपल्ट, २६ गते नै पीसीआरको रिजल्ट आयो– पोजिटिभ । हामी सबै स्तब्ध भयौं । लाग्यो, कोरोना त कायर रहेछ अक्सर बालबच्चा, रोगी, वृद्धवृद्धा, गरिब, निमुखामा आफ्नो शान र पहुँच देखाउँदै लाग्ने रहेछ ।

पोजिटिभ रिपोर्ट आउनासाथ मलाई र मेरो परिवारका सदस्यलाई समेत अस्पतालमा डर, त्रास, हेय, घृणाको दृष्टिले हेरिन थाल्यो । मेरी श्रीमती त झन् घोषित संक्रमित नै भइहालिन् । तर, विचरी रोगी श्रीमतीको के दोष ? डायलासिस गर्दागर्दै वा बिर्सेर कहिलेकाहीँ मास्क फुकालिन्छ, यताउता बसिन्छ र सधैँ स्यानिटाइजर बोकेर लान पनि सकिन्न । ७६ वर्षीय म, उमेरका कारणले पनि थकित हुने नै भएँ ।

फोक्सोमा समस्या हुँदै सास फेर्न गाह्रो हुँदा सोमबार मात्र गर्नुपर्ने डायलासिस एक दिनअगावै आइतबार २ घण्टा गरियो । तैपनि बिरामीलाई गाह्रो हुँदै गएको खबरले आत्तियौं र म, जेठो र साँहिलो छोरा बेलुकी अस्पताल पुगी कुरेर बस्यौं ।

रोगीको सेवामा उपचार कोठाभित्रै कार्यरत मेरो माहिलो छोरा प्र.से. सन्देश वज्राचार्य र भाइको छोरी डा. जुनु वज्राचार्यको सहयोगले बिरामी लक्ष्मीहीराले मोबाइलमा एकछिन् सबैसँग राम्ररी कुरा गरिन् । फेरि अक्सिजनकम हुँदै गएको खबरले म र मेरो साहिँलो छोरा डा. कर्मेश वज्राचार्य दुवै सुरक्षात्मक लुगा लगाई बिरामीलाई हेर्न गयौं । ‘आत्मबल बढाऊ’, ‘लामो–लामो सास तान र फेर’, ‘हाम्रो जीवन कहानी प्रकाशित गर्नु छ’ भनें । जवाफमा ‘धन्दा नलेऊ’ भनिन् । तर यो नै उनको अन्तिम वाक्य बन्यो ।

उपचारमा कार्यरत हबल्दार मङ्गल रोए । डिउटीमा रहेका डाक्टरहरु कोरोना संक्रमितलाई हेर्न जान आनाकानी गरिरहेका थिए तर सबै छोरा–भतिजीहरु कराउन थालेपछि बल्ल भेन्टिलेटरको बन्दोबस्त मिलाई हामी सबै राति २ बजेतिर घर फक्र्यौं ।

मङ्गलबार बिहान फेरि अक्सिजन कम भएको र सास फेर्न गाह्रो भएको खबर आयो । बिहान १०ः३० बजेतिर अस्पताल पुगेर हेर्दा अचेत भइसकेकी थिइन् । बोलाउँदा पनि कुनै प्रतिक्रिया देखाइनन् । भतिजीले ठूली मम्मी भर्खरै बित्नुभयो भनी रुन्चे बोलीमा घोषणा गरिन् ।

रुवाबासी नहोस् भन्ने हेतुले मैले मनलाई सम्हाल्दै, भतिजी र छोराहरुलाई ‘रोएर मम्मीको हौसला र साहसलाई अपमान एवं अवमूल्यन नगर’ भनें । मृत्यु त जीवनको अन्तिम सत्य हो भनेर सबैलाई सम्झाएँ । परिवारको पाको सदस्य मैले नै धैर्यधारण गरेका कारण अरुमा पनि त्यसको प्रभाव देखियो ।

अब अगाडि चुनौती थियो शव व्यवस्थापनको । कहाँ लगेर लजाउने, गुठियार, छिमेकी, नातागोतालाई कसरी बोलाउने ? इत्यादि प्रश्न खडा भयो । शवलाई फास्टिनरभएको ठूलो थैलोभित्र पोको पार्दै शवगृहमा राखियो । शव हस्तान्तरणबारे बुझ्दा यसरी मृत्युवरण गर्नेलाई सेनाकै टोलीले पशुपतिमा लगी विद्युतीय दाहसंस्कार गर्ने नियम भएको बताइयो । दाह संस्कारको लागि टोली बेलुकी ५–६ बजेतिर आइपुग्ने भनियो ।

दाह संस्कारको लागि २ जना मात्र भित्र छिराउने र अरुलाई जान नदिइने बताइयो । त्यसरी नै सबै हितैषीलाई आउनमा रोक लगाइयो । क्याप्टेनसहितको एक टोली अर्को त्यस्तै शवसमेत लिई बेलुकी ७ बजेतिर आइपुग्यो । हामी बाबु र छोरा चार, भतिजी एक र माइतीतर्फका एकसमेत ६ जना पशुपति पुग्यौं । शवलाई भित्र लगी बाबु र छोराहरुले मात्र अन्तिम ढोग दिएर बिदा दियौं । अन्दाजी एक घण्टाभित्र दाहसंस्कार सकेर अस्तु (खरानी) विष्णुमती र वाग्मतीमा बगाई अन्त्येष्टि सक्यौं ।

मैले घर फर्किंदै गर्दा कोरोनासँग मनोवाद गरें । कोरोना, तिमी यदि जीवन्त प्राणी भई बोल्न सक्ने हुँदो हो त म तिमीसँग अन्तरक्रिया गरी प्रश्नको वर्षा नै गर्थें होला । तर तिमी बिचरो कायर, सबै प्राणीबाट घृणित, हेलित, त्रसित भई छिःछिः दुरदुर भएर किन यस संसारमा भाइरसको नामले अन्तित्व भएको होला ? तिम्रो नामैबाट विश्व नै भयभित भई थरथर काँप्दै तिमीबाट बच्ने उपाय, औषधि निकाल्न र तिमीसँग भिडन्त गर्न दौडधुप गरिरहेको छ ।

तिम्रै कारणले गर्दा मेरी श्रीमतीको दुःखद निधन र निधनपश्चात् गरिने विधि, मलामी, काजक्रिया, कर्मकाण्ड, श्रद्धाञ्जलि, मायाममता, प्रेम, रीतिथिति, धर्म–संस्कृति, भेटघाट, भ्रमण आदिमा बाधा आउनुका साथै असंख्य मानिसको जीवनयापन गर्नसमेत कठिन भइरहेको छ । मेरी श्रीमतीको शून्य, सुनसान र गुमनाम मौत तथा अन्त्येष्टिको दोष पनि तिमीमा नै थोपरिन्छ । हाम्रो पारिवारिक जीवनमा समेत भाँडभैलो र झैझगडाको छिटपुट संकेतहरु तिम्रै कारण देखा पर्न थालेका छन् ।

माओवादीले हत्या, हिंसा, यातना, लुटपाट, सफाया, सम्पत्ति हड्पने आदि मार्ग लिँदा चिन्तित भई शान्तिका लागि शव भन्ने लेख वि.सं. २०६१ मा कान्तिपुरमा प्रकाशित गर्न खोज्दा भावनाप्रधानभनी प्रकाशित नगरेकाले स्वयम् माओवादी नेता ‘प्रचण्ड’लाई भेटी पढिदिनुहोस् भनेर एक प्रति दिएको थिएँ, जसको मुख्य आशय थियो कि देशमा शान्ति बहाली गर्न अझ १ शवको अभाव भएमा म त्यो शव दिन तयार छु ।

माओवादीले त मलाई शवमा परिणत गरेन, तर बिचरो मजबुरी अर्थात् विवश, अशक्त, सोझी, रोगी बिरामीलाई प्रहार गरी किन मेरो श्रीमतीको प्राण ह¥यौ, ए कोरोना ? तिमी त कायर मात्र नभई निर्लज्ज, निर्दयी, अधर्मी, अन्यायीको स्वरुप हो कि जस्तो लागेको छ तर तिमी यति खतरनाक छौ कि प्लेग, स्वाइन फ्लु, डेंगु, क्षयरोग, हैजा आदिलाई समेत मात गरेका छौ ।

तर पनि भष्मासुर, भ्रष्टाचारी, हृष्टपुष्ट, बलिया, शासन, शक्ति, पद र आयुको लोभी तथा सम्पन्न व्यक्तिहरुमा भने तिम्रो प्रभाव न्यून नै देखिन्छ । यदि ममा दुर्वासा ऋषिको जस्तो शक्ति र पराक्रम हुँदो हो त तिमीलाई श्राप दिऊँ कि आशीर्वाद ? म आफैं असमञ्जस्यमा छु ।

एक हिसाबले घृणित कोरोना रोगीको पगरी दिई मेरी श्रीमतीको प्राण हरेको र हाम्रो परिवारलाई नै आजन्म कलङ्कित, बेइज्जती, अपमानित, अपहेलित बनाएकोमा तिमी कोरोना अवश्य श्रापको हकदार ठहरिन्छौ । अर्को हिसाबले हेर्ने हो भने वि.सं. २०५९ देखि मधुमेहलगायतकारोग लागी महिनैपिच्छे हात छियाछिया पारेर रगत झिक्ने बाध्यताबाट मेरी श्रीमतीलाई तिमीले मुक्त गरिदियौ ।

२०७३ सालदेखि दिनको दुईपटक पेटमा सुई घोची इन्सुलिन लिने गरेको थियो । २०७६ साल वैशाख ९ गतेदेखि फिस्टुला बनाइसकेको देब्रे हातमा केही दिन हप्तामा तीनपटक र पछि दुईपटक डायलासिस गर्ने गरेको थियो । प्रत्येकपटक डायलासिस गर्दा दुई ठाउँमा सुई घोच्ने र निकाल्ने गर्दा दर्दले कैयौंपटक मुख बिगारेको दृश्य अब देख्नुपर्ने भएन । हिमोग्लोबिनकम भई ३५–४० युनिट रगत दिइसकेको, जवानीमा स्तन शल्यक्रिया, पछि पित्तथैलीको शल्यक्रिया गरी निकालिसकेको, तीन–चारपटक फोक्सोमा पानी जमेकोले उपचार, पेट दुख्ने, पोटासियमबढ्ने, सोडियम घट्ने आदि कारणले कतिपटक मरणासन्न भएको अवस्था अब दोहोरिने भएन ।

अनि तिमी कोरोनालाई यस संसारमा भाइरलगर्ने पनि कोही न कोही त अवश्य होला नि ईश्वर, मनुष्य वा अन्य जीवजन्तु । मनुष्यले नै प्रकृतिको नियमलाई मिचेर, तोडेर बा बिगारेर तिमी सिर्जित भएको हो कि जस्तो पनि लागेको छ । किनकि प्रकृतिलाई प्रदूषण, फोहोर, मिसावट, धूलो–धुवाँ, प्रदूषण, रासायनिक र परमाणु हातहतियारको भण्डारण एवं होडबाजी आदिको मुख्य कारण त मनुष्य नै हो नि ।

हिटलरले पानीको पाइपमा विषादी मिसाएर कैयौं यहुदीहरुको नरसंहार गरे भनेजस्तै, यस्ता सन्की, रिसाहा, अनुदार, अविवेकी नेता तथा शासकहरु देशमा जन्मिए भने वा वायु नै विषादीयुक्त भयो वा पारियो भने प्राणी तथा वनस्पतिहरुसमेत लोप हुन के बेर ? यदि तेस्रो विश्वयुद्ध निम्तियो र शक्तिशाली देशहरुसँग भएका १० वटा अति हानिकारक बमले पृथ्वी नै धराशायी र ध्वस्त भई प्राणीको लीला नै समाप्त हुन के बेर ? तसर्थ के गरुँ ? म त रणभुल्लमा परें, सराप पनि दिन सकिन, न त आशीर्वाद ?

सरकारी नीतिनियम, विधिविधानअनुरुप मेरी श्रीमतीको शव पशुपतिमा विद्युतीय दाह संस्कार उपकरणमा राखेर शून्य, सुनसान, सन्नाटा, निर्जन, एकान्त वातावरणमा अन्त्येष्टि भएकोले कसैले पनि मृतकबारे सञ्चारमाध्यमद्वारा समवेदना, श्रद्धाञ्जलि, शोक व्यक्त गरी ‘हाइलाइट’ नगरिदिनुहुन कर जोडी सहर्ष विन्ती गर्दछु ।
मेरो निम्न भावना र विचारसहितको प्रश्नलाई सकारात्मक सोचको रुप लिई निक्र्योल र निराकरणका लागि न्यायप्रेमी, कानुनविद्, बौद्धिक जगत् र पाठकवर्गहरुलाई समेत हार्दिक अपिल ।

प्रश्न
१. यो रोग मृतक वा जीवन्त रोगीले जानी–जानी हाम्रो देशमा हुलेको हो त ? न त शरीरभित्र जबरजस्ती पसाएको हो ? पथपरहेजमा बस्दा उमेर र रोगको कारणले केही कमजोर भए÷गरे होलान् तर किन मृत्युपछि पनि यस्तो करोड नीतिनियम, हेला, भेद्भाव र अवहेलना ?
२. मर्ने त मरिगए सकियो । तर जीवन्त परिवारलाई समेत आजन्म कलङ्क, घृणा, अपमान र कुदृष्टिले हेर्दै खिसीको पात्रसमेत किन ?
३. दाह संस्कार आफ्नै मसान वा चिहानमा गर्न नपाइने किन ?
४. मलामी जानै बन्देज, कर्मकाण्ड, श्रद्धाञ्जलि, समवेदना, अन्तिम बिदाइ नै गर्न नपाई जलाइने यो कस्तो अन्धा कानुन ?
५. झुन्डिएर, विष सेवन गरेर, दुर्घटना भएर, एचआईभीभएर, हृदयघात भएर, मद्यपान गरेर मर्ने सबैले मलामी, मसान र कर्मकाण्ड गर्न पाउने तर कोरोनालाई वञ्चित किन ?
(लेखक वज्राचार्य पद्मोदय माविका संस्थापक÷पूर्वअध्यक्ष तथा मरणोपरान्त शरीर दाता हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्