डलर साट्ने भन्दै रकम लुटपाट गर्ने ५ जना पक्राउ



पुष्कर बुढाथोकी, भक्तपुर ।

प्रहरीले डलर देखाई लुटपाट गर्ने समुहका ५ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले लुटपाट गर्ने समूहका पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ३ घर भई हाल काठमाडौं गोकर्णेश्वर १ बस्ने वर्ष ३६ को खेलबहादुर तामाङ र सोही ठाउँका वर्ष ३३ का रेलबहादुर तामाङ रहेका छन् ।

यसैगरी सिन्धुपाल्चोक बाह्रबिसे ६ घर भई हाल मध्यपुरठिमी ९ बस्ने वर्ष ५६ को श्यामबहादुर तामाङ, सोही ठाउँका वर्ष २५ को रामकृष्ण तामाङ र सिन्धुपाल्चोक बाह्रबिसे नैै घर भई हाल मध्यपुरठिमी ९ बस्ने वर्ष ३२ की कान्छी तामाङ रहेको प्रहरी परिसरका निमित्त सूचना अधिकारी प्रहरी निरिक्षक सुवास बुढोथोकीले जानकारी दिनुभयो ।

प्रहरीको अनुसन्धानबाट उनीहरुले विगत केही समयदेखि व्यापारी, व्यावसायी तथा विदेशबाट फर्किएका व्यक्तिहरूलाई फोन गरि पहिला देखिनै चिनजान भएको जस्तो व्यवहार गर्दै लुटपाट गर्ने गरेको खुलेको छ ।

आफूसँग प्रशस्त मात्रामा अमेरिकन डलर रहेको र सो डलर सस्तोमा साटिदिन्छु भनि बिभिन्न बहाना बनाएर अमेरिकन डलर देखाई उनीहरुले नेपाली रुपैयाँ लुटपाटका गर्दै आएको प्रहरीको भनाई छ ।

खोजतलास गर्दै जाँदा शुक्रबार मध्यपुरठिमी ९ बाट ८ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिएको प्रहरी परिसरका सूचना अधिकारी बुढाथोकीले बताउनुभयो ।

अनुसन्धान पश्चात ३ जना व्यक्तिहरुको संलग्नता नदेखिएकालाई उनीहरुलाई भने छाडिएको तथा घटनामा संलग्नता देखिएका बाँकी ५ जना व्यक्तिहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।

यसबारेमा थप अनुसन्धान भइरहेको साथै घटनामा संलग्न भई फरार रहेका अन्य व्यक्तिहरुको खोजतलास भईरहेको प्रहरी निरिक्षक बुढाथोकीले बताउनुभयो ।

प्रहरीले उनीहरुको साथबाट नेपाली रुपैंयाँ २ लाख ४२ हजार ९ सय ३५, बिभिन्न कम्पनीका मोबाईल ५ थान, मोटरसाइकल २ थान, डलर भनि झुक्काउन तयार गरिएको कागजको बिटो– २ बण्डल बरामद गरेको छ । उक्त समूहले भक्तपुरका बिभिन्न स्थानबाट डलर साट्ने बाहानामा लुटपाट गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्