पहिरोले थातथलो छाडेकाको पीडा : हुनेले ढिंडो खाए, नहुनेले मकै भुटेर



न्युज अफ नेपाल, हेटौंडा ।

‘हामीलाई यहाँ निकै सकस छ । भएको अन्नपात र लुगाकपडा त झिकेर ल्यायौं । तर, एउटै कोठामा ७ जनाको परिवार अटाउन मुस्किल छ । भुईंभरि लुगा ओछ्याएर रात कटायौं,’ पहिरोका कारण बल्लतल्ल ज्यान जोगाएर रातारात थातथलो छाडेकाहरुले भने–पीठो हुनेले ढिंडो पकाएर खाए । नहुनेहरुले मकै भुटेर खाएका छन् ।

लगातार वर्षाका कारण मकवानपुरको बिकट राक्सिराङ गाउँपालिका–१, बाराङका ७ परिवार बिस्थापित भएका छन् । धाँजा फाटेको बस्तीमा लगातारको वर्षापछि घरमाथिबाट ढुंगा खस्ने र तलतिरबाट भासिन थालेपछि ७ परिवार घर छाड्न बाध्य भएका हुन् ।

श्यामलाल चेपाङका ६ जनाको परिवार, दिलबहादुर चेपाङका १२ जना, टीकाराम चेपाङका ५ जना, शंकर चेपाङका ५ जना, सीताराम चेपाङका ५ जना, जितबहादुर चेपाङका ६ जना र कृष्ण चेपाङका ७ जनाको परिवारले बस्दै आएको ठाउँ छाडेका छन् । उनीहरुले घरबाट खाद्यान्न, लत्ताकपडा झिक्नुका साथै चौपाया पनि स्थानान्तरण गरेर डाँडामा अबस्थित विद्यालयमा बसेको राक्सिराङ–१ का अध्यक्ष कान्छाराम रुम्बाले जानकारी दिनुभयो ।

बुधबार साँझदेखि उनीहरु आफ्नो थालथलो छाडेर राम्चेमा रहेको विन्देश्वरी प्राविको भवनमा रात बिताउँदै आएका छन् । श्यामलाल चेपाङको घरमा पूर्णक्षति हुँदा छिमेकका घरमा पहिरो खस्ने डर देखिएपछि उनीहरु विद्यालय भवनमा बस्न पुगेका हुन् ।

केही परिवार छिमेकी राप्ती नगरपालिकाको आफन्तको घरमा आश्रय लिन पुगेका छन् भने केहीलाई स्थानीय विद्यालयमा बस्ने व्यबस्था भएको पालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । पहिरोका कारण स्थानीयको खेतबारी बगेका छन् भने सडकको सम्पर्क पनि टुटेको छ । मंगलबार वडाका सुकमान प्रजाका १७ वटा बाख्रा पहिरोले पुरिएर मरेका थिए । चराउन जंगल लगेका बाख्रालाई पहिरोले पुरेको हो ।

राक्सिराङ–९, खैराङका जितबहादुर घिमिरेको गोठ पनि बगाएको छ । गोठमा बाँधिएका भैंसीसमेत पुरेको गाउँपालिका अध्यक्ष मल्लले जानकारी दिनुभयो । पालिकाका ठाउाठाउँमा पहिरो जाँदा भौतिक क्षति बढ्दै गएको अध्यक्ष मल्लको कथन छ ।

करिब दुई वर्षअघिमात्र निर्माणसम्पन्न भएको वडा–५ कार्यालय अविरल वर्षाका कारण पहिरोमा पुरिएको छ । कुत्तसिंमा रहेको वडा कार्यालय बिहीबार पुरिएको हो । गाउँपालिकाको १५ लाख लगानीमा वडा कार्यालय भवन निर्माण गरिएको थियो । पहिरोले कार्यालय भवनमा पूर्ण क्षति पु¥याउँदा नयाँ भवन बनाउनुपर्ने भएको छ । वडा कार्यालय डोजरले खारेर बनाइएको हो, वर्षाका कारण माथिबाट पहिरो आएको थियो ।

बिहीबार दिउँसो वडा कार्यालयमाथिबाट पहिरो खस्दा कार्यालयको ३ कोठे भवनमा पूर्णक्षति पुगेको वडाध्यक्ष चन्द्रसिं प्रजाले बताउनुभयो । उहाँका अनुसार कार्यालयको तलतिरबाट पनि पहिरो गएको छ । कार्यालयमाथिबाट पहिरो खस्न थालेपछि कर्मचारीको भागदौड भएको थियो ।

२०७२ सालको भुकम्पपछि बिकट गाउँका वाराङ, इन्द्रुङ, राम्चे, कुभिन्टारका बस्ती पहिरोको जोखिममा थिए । ती गाउँमा एक मिटरसम्म फराकिलो धाँजा फाटेको छ । विज्ञहरुले बस्ती स्थानान्तरणको सुझाव दिएका थिए । स्थानीय पालिकाले धेरै पटक जिल्ला प्रशासन कार्यालयमा बस्ती स्थानान्तरणको पहल गरेकै हो । तर, सुनुवाइ भएन । यही अबस्था रहे जुनसुकै बेला बस्तीमा थप पहिरो आएर ठूलो जनधनको क्षति हुनसक्छ ।

उक्त क्षेत्रका १ सय २० भन्दा बढी परिवारलाई स्थानान्तरण गर्नुपर्ने अबस्था रहेको अध्यक्ष मल्लको भनाइ छ । भुकम्पपछि अध्ययन गर्न प्राविधिकहरु गाउँ गए पनि उनीहरुले नियतबश बस्ती स्थानान्तरणको सिफारिस नगरेको स्थानीय जनप्रतिनिधिको आरोप छ ।

मकवानपुरका १८ गाविस तथा नगरपालिका क्षेत्र भुकम्पका कारण पहिरोको जोखिममा परेकोे आशंकामा पुनर्निर्माण प्राधिकरणले सर्वेक्षण गरेको छ । राईगाउँ, धियाँल, हेटौंडाका २६ र २७ वडालगायत खैराङ, डाँडाखर्क, राक्सिराङ गरी १८ गाविसमा पहिरो जोखिम सर्वेक्षण गरिएको हो ।

भुकम्पपछि मकवानपुरमा भूक्षय अत्यधिक देखिएका कारण मानवीय दृष्टिले अति जोखिमयुक्त रहेको एक अध्ययनले देखाएको छ । तराईका १० जिल्लामा फैलिएको चुरे क्षेत्रमा तीनहजार चार सय ५६ वटा पहिरो पहिचान गरिएको छ ।

जसमध्ये मकवानपुरमा अत्यधिक पहिरो भेटिएको त्रिभुवन विश्वविद्यालयको वातावरण केन्द्रीय विभागले करिब एक वर्ष लगाएर गरेको अध्ययनबाट देखिएको हो । चुरेक्षेत्र ओगटेको मकवानपुरमा धेरै भूक्षय भएका छन् । मकवानपुरमा मात्र करिब ८ सय पहिरो गएको छ ।

चुरेक्षेत्र ओगट्ने अन्य क्षेत्र भन्दा मकवानपुरमा बढी पहिरो गएको अध्ययनले देखाएको छ । उक्त परियोजनाका अनुसार मकवानपुरमा सात सय ९२ वटा पहिरो भेटिएको छ । भूगर्भविद्, इञ्जिनियर, जीआईएस विज्ञ र सामाजिक सर्भेयरले गरेको अध्ययनले मकवानपुर पहिरोबाट जोखिममा रहेको देखाएको हो ।

जिल्ला भूसंरक्षण कार्यालय मकवानपुरले भुकम्पपश्चात् केही गाविसका पहाड बग्नसक्ने सम्भावना रहेको जनाएको छ । भुकम्पले बिकट गाविसका पहाड चर्किएका कारण वर्षामा बग्नसक्ने खतरा रहेको बताइएको छ ।
चुरेक्षेत्रको भू-वनौट नै सुक्खा माटो भएका कारण पानी पर्नासाथ भूक्षयको सम्भावना बढी रहेको छ ।

मकवानपुरमा साना र ठूला गरी करिब २ हजार पहिरो रहेको जानकारी दिइएको छ । विज्ञहरुले गुगल म्याप, फिल्ड अध्ययन, स्याटेलाइट सर्भे, रिमोट सर्भे, जीआईएस विश्लेषणका आधारमा पहिरो पहिचान गरेका हुन् ।
अध्ययनका क्रममा उनीहरुले १० जिल्लाका १ हजार ४ सय पहिरोको स्थलगत अध्ययन गरेका थिए ।

अध्ययनले ३ हजार ५ सयमध्ये धेरै पहिरो मझौला छन् । केही पहिरो अत्यधिक ठूला र खतरासमेत रहेको पहिचान गरिएको छ । भविष्यमा कुनकुन स्थान पहिरोको जोखिममा छन् भन्ने अध्ययन गरिएको छ । अध्ययनले जोखिमयुक्त पहिरो र ठूला पहिरोको तत्काल उपचार आबश्यक पर्ने ठहर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्