सिन्धुलीमा कोरोना नियन्त्रणमा नौ करोड खर्च



बुद्ध नेपाली, सिन्धुली ।

सिन्धुलीको कमलामाई नगरपालिकाले कोरोना भाईरस् (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सवा दुई करोड भन्दाबढी रकम खर्च गरेको छ । कोरोना भाईरसको महामारी सुरु भएदेखि गत भदौं ११ गते सम्ममा नगरपालिकाले २ करोड १४ लाख ४१ हजार ३ सय ३५ रुपैयाँ ३५ पैसा खर्च गरेको कमलामाई नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्रीले जानकारी दिनुभयो ।

राहत वितरणमा एक करोड ५७ लाख ६१ हजार ७ सय ४८ रुपैयाँ ३८ पैसा, क्वारेन्टिन व्यवस्थापनमा २४ लाख २६ हजार ८ सय ३९ रुपैयाँ खर्च भएको नगरप्रमुख खत्रीले बताउनुभयो । उहाँका अनुसार नगर क्षेत्रका ५२ जना सुत्केरी महिलालाई एक एक लिटर घ्यू वितरण गर्दा २ लाख रुपैयाँ, जिल्ला समन्वय समितिलाई एक लाख सहयोग उपलब्ध गराएको उहाँले बताउनुभयो । नगरपालिकाले कोरोना भाइरस रोकथाममा खटिने सिन्धुली अस्पतालका कर्मचारीलाई ३ लाख रुपैयाँ प्रोत्साहन भत्तामा दिएको छ ।

यस्तै १४ लाख ९३ हजार ३४२ रुपैयाँ स्वास्थ्य सामाग्री खरिद गरिएको उहाँको भनाइ छ । १ लाख ७४ हजार २५२ रुपैयाँ स्वास्थ्य तर्फका कर्मचारीको तलबबाट कट्टा भएको रकम फिर्ता गर्नुका साथै अन्य विभिन्न काममा बाँकी रकम खर्च गरेको पाइएको छ । कमलामाई नगरपालिका सहित सिन्धुलीका नौ स्थानिय तहहरुले कोरोना भाइरस ९कोभिड–१९० रोकथामका तथा नियन्त्रणका लागि झण्डै ९ करोड रुपैयाँ खर्च भएको पाइएको छ ।

जिल्लाका दुई नगरपालिका र सात गाउपालिका गरी नौंवटै स्थानीय तहमा ८ करोड ८२ लाख ८० हजार ८ सय १७ रुपैयाँ ४१ पैसा खर्च गरेको पाइएको हो । माहामारी सुरु भएदेखि आरडिटी तथा पीसीआर टेष्ट, उपचार, क्वारेन्टाइन तथा आइसोलेसन निर्माण तथा व्यवस्थापन, राहत वितरण, स्वास्थ्य सुरक्षा सामग्री तथा औषधि खरिद, जोखिम भक्ता लगायत विभिन्न शीर्षकमा उक्त रकम खर्च भएको जिल्लाका स्थानीय तहहरुले जानकारी दिएका छन् । जिल्लाको दुधौली नगरपालिकाले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि एक करोड ६७ लाख १ हजार ४ सय ६७ रुपैंयाँ खर्च गरेको छ ।

क्वारेन्टिन निर्माण तथा व्यवस्थापनमा १७ लाख ४१ हजार ७ सय ७१ रुपैयाँ ७५ पैसा, औषधि तथा स्वास्थ्य सुरक्षा सामाग्री व्यवस्थापनका लागि ४७ लाख ४ हजार ५६ रुपैयाँ ७५ पैसा, क्वारेन्टिनमा बस्नेहरुको उपचार व्यवस्था, खाजाखाना तथा यातायात खर्चमा ४५ लाख ८ हजार २ सय ८१ रुपैयाँ ७५ पैसा खर्च गरेको नगरपालिका प्रमुख घनश्याम राउतले जानकारी दिनुभयो । यो गत असार मसान्त सम्मको खर्च हो । राउतका अनुसार राहत वितरणका लागी ५७ लाख ४७ हजार ३ सय ५६ रुपैयाँ ७५ पैसा खर्च गरिएको छ ।

मरिण गाउँपालिकाले पनि गत असार मसान्तसम्ममा ९६ लाख ५० हजार ८ सय ६६ रुपैयाँ खर्च भएको जनाएको छ । ‘क्वारेन्टिन निर्माण तथा व्यवस्थापनमा लागि २ लाख ६० हजार १ सय ३४ रुपैंया, खानामा एक लाख ९३ हजार ९ सय ९७ रुपैयाँ, औषधि तथा स्वास्थ्य सुरक्षा सामाग्री खरिदमा १६ लाख ८२ हजार २५८ रुपैयाँ खर्च भएको’, अध्यक्ष बम्जनले भन्नुभयो, स्वास्थ्यकर्मीको जोखिम भक्तामा २२ लाख ९४ हजार र राहत वितरणमा ५० लाख ६० हजार ८७ रुपैयाँ खर्चभएको छ,’ बम्जनले भन्नुभयो ।

तिनपाटन गाउँपालिकाले १ करोड २३ लाख ३२ हजार ९ सय ७९ रुपैंया खर्च गरेको गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगरले जानकारी दिनुभयो । गाउँपालिकाले ४६ लाख २४ हजार बढीको राहत मात्र वितरण गरेको छ । तिनपाटनमा कर्मचारी जोखिम भक्तामा मात्र ४३ लाख ९० हजार ३ सय ४४ रुपैयाँ खर्च गरेको छ ।

फिक्कल गाउँपालिकाले कोरोना रोकथाम शीर्षकमा ६८ लाख ७५ हजार रुपैयाँ खर्च गरेको छ । जसमध्य क्वारेन्टिन व्यवस्थापन खानाखाजा सहित १९ लाख १ हजार रुपैंयाँ खर्च भएको गाउँपालिकाले जनाएको हो । पालिकाले माक्स, सेनिटाइजर, सावुन, बेड, औषधि लगायतमा २३ लाख २२ हजार रुपैंयाँ खर्च भएको छ ।

घ्याङलेख गाउँपालिकामा गत असार मसान्तसम्ममा ५९ लाख ६३ हजार ९ सय ९२ रुपैंयाँ खर्चगरिएको प्रमुख प्रशासकिय अधिकृत रामकुमार कार्कीले उल्लेख गर्नुभयो । पालिकाले सबै भन्दा बढी कोरोना जोखिम भक्तामा १५ लाख ३४ हजार १ सय २ रुपैंयाँ खर्च गरेको छ ।

हरिहरपुरगढी गाउँपालिकाले ६१ लाख ६९ हजार ६७९ रुपैयाँ, सुनकोसी गाउँपालिकाले १३ लाख ४१ हजार ५४ र गोलन्जोर गाउँपालिकाले ७६ लाख ९४ हजार ६९ रुपैयाँ खर्च गरेको जनाएका छन् । हरिहरपुरगढी र गोलन्जोर गाउँपालिकाले राहत र स्वास्थ्य सुरक्षा भत्तामा सबै भन्दाबढी खर्च गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्