सामाजिक सेवा दिवसमा मोदीबेणी बृद्धाश्रमका जेष्ठ नागरिकलाई सहयोग



न्युज अफ नेपाल, पर्वत  । 

पर्वतको कुस्मा नगरपालिका ५ स्थित पबित्र धार्मिकस्थल मोदीबेणी धाममा रहेको बृद्धाश्रममा रहेका जेष्ठ नागरिकलाई सहयोग हस्तान्तरण गरिएको छ ।

४१ औ सामाजिक सेवा दिवसको अवसर पारेर गैह्र सरकारी संस्था महासंघ पर्वतले जेष्ठ नागरिकलाई सहयोग हस्तान्तरण गरेको हो ।
कार्यक्रममा गैसस महासंघका केन्द्रिय सचिब देबीप्रसाद तिमिल्सिना, गैसस महासंघ पर्वतका सल्लाहकार तथा प्रेस संगठन नेपालका पुर्व केन्द्रिय बरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्मा, गैसस महासंघ गण्डकी प्रदेशका सचिब राजेन्द्र पौडेल लगायतले जेष्ठनागरिकलाई न्यानो कपडा र खाद्यय सामाग्री हस्तान्तरण गर्नुभयो ।

सप्ताहब्यापी रुपमा देशभर सेवा दिवस मनाउने क्रममा जेष्ठ नागरिकलाई जाडोका लागि न्यानो पच्छ्यौरा र खाधान्न तथा सरसफाईका सामाग्री सहयोग गरिएको गैसस महासंघ पर्वतका अध्यक्ष शिबप्रसाद शर्माले जानकारी दिनुभयो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै गैसस महासंघका केन्द्रिय सचिब देबिप्रसाद तिमिल्सिनाले सामाजिक सेवाको उद्देश्यले गठन भएका संस्थाहरुले सामाजिक उत्तरदायित्व सहित पिछडीएको र पछाडि पारिएको समुदाय तथा क्षेत्रको बिकासका लागि महत्वपुर्ण योगदान गरिरहेका छन भन्नुभयो । उहाँले देशैभर सामाजिक सुरक्षा दिवस राष्ट्रिय पर्वको रुपमा मनाइएको र समाजकल्याण परिषदको स्विकृतीमा ६ सय ६३ वटा कार्यक्रम सम्पन्न भएको बताउनुभयो ।

गैसस महासंघ पर्वतका सल्लाहकार तथा प्रेस संगठन नेपालका पुर्व केन्द्रिय बरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्माले बृद्धबृद्धाहरुलाई सहयोग गर्ने र उनीहरुको स्वास्थ्य उपचार सम्बन्धी कार्यक्रमहरु गैससहरु परियोजनाकै रुपमा अगाडी बढाउन आवश्यक छ भन्नुभयो ।

गैसस महासंघ पर्वतका अध्यक्ष शिबप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा गुड नेर्वस इन्टरनेशनलकी प्रत्यायोजित सेवा अधिकृत बिष्णु बराल, मोदीबेणी दिब्यधाम ब्यबस्थापन समितिका उपाध्यक्ष खुमनाथ पराजुली, गैसस महासंघ पर्वतका सचिब रमेश तिमिल्सिनाले बोल्नु भएको थियो । सोही अवसरमा सुनौलो परिवार नेपालको सहयोगमा स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम पनि सम्पन्न गरिएको पर्वत जिल्ला संयोजक दिपक शर्मा चापागाईले जानकारी दिनुभयो ।

सेवा दिवसकै अवसरमा पर्वतमा सवारी साधनका यात्रु र चालकलाई सेनिटाइजर र मास्क बितरण, बालबालिकालाई शैक्षिक सामाग्री बितरण, अपाङ्गता भएका बालबालिकालाई सहयोगी सामाग्री सहयोग गरिएको छ भने १८ वटा सहकारीहरुमा जीबिकोपार्जनक तथा आयआर्जनका बारेमा अभिमुखीकरण सम्पन्न भएको छ । बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण लगायतका कार्यक्रमहरु भने बाँकी रहेको गैसस महासंघका सचिब रमेश तिमिल्सिनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्