पहिरोका कारण बस्ती जोखिममा, ग्रामिण सडक अवरुद्ध



रामधन राई, खोटाङ ।

पहिरोका कारण खोटाङस्थित ऐसेलुखर्क गाउँपालिकाका–४ जलेश्वरीका ११ घर परिवार जोखिममा परेका छन् ।

असोज २ गतेको भारी वर्षाका जलेश्वरीस्थित मावाका बस्तीभन्दा तलबाट शुरु भएको पहिरोले स्थानीय बासिन्दाको घर जोखिममा परेका हुन् । बस्तीभन्दा तल खनिएको सडकको भित्ताबाट पहिरो शुरु हुँदा माथिल्लो क्षेत्रका बस्ती जोखिममा परेको स्थानीय बासिन्दाले बताएका छन् । गाउँभन्दा माथि र तलबाट खनिएको सडकबाट पहिरो शुरु भएपछि बस्ती नै उठाउनुपर्ने अवस्था आएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताउनुभयो ।

पहिरोभन्दा माथिका दिलबहादुर राई, टेकबहादुर राई र एकल महिला जुनकिरी राईको घर पहिरोको उच्च जोखिममा परेको वडाध्यक्ष नैनकुमार राईले बताउनुभएको छ । पहिरोले उक्त तीन घरसँगै स्थानीय लालबहादु राई, पर्शुराम राई, पूर्णबहादुर राई, मनकुमार राई, मुगाधन राई, प्रेमबहादुर राई, अम्वीर राई र नैनकुमार राईको घरसमेत जोखिममा पारेको जनाइएको छ । पहिरो नरोकिए उनीहरुको घरभन्दा माथि रहेको घरसमेत क्रमशः जोखिममा पर्ने खतरा देखिएको छ ।

बस्तीभन्दा माथिको पहिरो गत वर्ष जाली सहितको पर्खाल हालेर नियन्त्रण गर्ने प्रयास गरिएपनि नरोकिएको वडाध्यक्ष राईले बताउनुभयो । यस्तै, पहिरोका कारण हुर्लुङ–जालपा–ऐसेलुखर्क सडक पूर्णरुपमा अवरुद्ध भएको छ । केहि दिनदेखि लगातार परिरहेको वर्षाका कारण उक्त सडक खण्ड अन्तरगत वडा नम्बर–७ माक्पाको भदौरेमा पहिरो खस्दा असोज २ गतेदेखि यातायात अवरुद्ध भएको छ ।

सडकमा खसेको पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको गाउँपालिका प्रमुख निरौलाले जानकारी दिनुभयो । पहिरोले सडक अवरुद्ध भएपछि यातायातका साधन यताको यतै र उताको उतै रोकिएका छन् ।।

प्रतिक्रिया दिनुहोस्