इनारभित्र बेपत्ता दुईको शव निकालियो



न्युज अफ नेपाल, हेटौंडा।

पश्चिम मकवानपुरको मनहरी–७ मा इनारभित्र बेपत्ता भएका दुई जनाको शव निकालिएको छ । बेपत्ता भएका मनहरीको साह पार्टी प्यालेस सञ्चालक ३० वर्षीय सुरज शाह र १६ वर्षीय उत्सव नेपालीको शव निकालिएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

इनारको मोटरपम्प मर्मत गर्न इनारमा पसेका शाह बाहिर नआएपछि नेपाली पनि इनारमा पसेका थिए । बेपत्ता भएका दुई जनाको खोजी गर्न डोरी लगाएर इनारभित्र डोरीको सहायताले पसेका २६ वर्षीय आनन्द लो भने बेहोस भएका थिए । जीवित उद्धार गरी उपचारका लागि अस्पताल लगिएका लोको होस आएको प्रहरीले जनाएको छ ।

इनार करिब ४० मिटर गहिरो रहेको र तालिमप्राप्त नेपाली सेनाको टोलीले बेपत्ता भएकाहरुको शव निकालेको स्थानीय प्रहरीले जनाएको छ । दुवै शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्