डोटीमा पहिलो पटक टेलिकमको एफटीटीएच सेवा सुरु



विमल विष्ट, डोटी ।

नेपाल टेलीकमको उच्च गतीको इन्टरनेट सेवा एफटिटिएच अर्थात फाइबर टु द होम सेवा सुरु भएको छ । जिल्लामा पहिलो पटक उक्त सेवा सुरु गरिएको हो । सेवा सुरु भएसँगै ग्राहक पनि दिनहुँ बढ्न थालेको नेपाल टेलीकम दिपायल राजपुरले जनाएको छ । अहिले सम्म जिल्ला सदरमुकाम सिलगढीमा १७८ तथा पिपल्ला र राजपुर बजारमा २५४ गरी कुल ४३२ वटा ग्राहकले एफटिटिएच सेवा जडान गरेका छन् ।

यहाँका प्रमुख बजारहरु पिपल्ला, राजपुर, दिपायल तथा जिल्ला सदरमुकाम सिलगढीमा उक्त सेवा जडान गर्ने कार्य सुरु गरिएको हो । उक्त फाइबर टु द होम अर्थात एफटीटीएच सेवा अन्तरगत एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने नेपाल टेलीकम दिपायलले जनाएको छ । यतिमात्र नभइ उक्त सेवाबाट टिभी समेत चलाउन मिल्ने बनाइएको छ ।

यस अघि यो सेवा काठमाण्डौँमा मात्रै सुरु गरिएको भएपनि पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा बिस्तार गरिन थालिएको छ । नेपाल टेलिकमले एफटीटीएच अन्तर्गत व्यक्तिगत र कर्पोरेट युजर प्याकेज समेत उपलब्ध गराइरहेको टेलीकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार एफटीटीएच सेवा अन्तर्गत न्यूनतम एक वर्षका लागि ८ एमबीपीएसको प्याकमा जम्मा रु ८ हजारमा उपलब्ध शुल्क लाग्ने भएको छ भने २० एमबीपीएसको प्याकमा रु १२ हजार लाग्ने भएको छ । हाल एफटीटीएच प्याकेज अन्तर्गत नयाँ लाइन जडान गर्ने ग्राहकले एक थान वाइफाई राउटर (सीपीई) र १०० मिटर फाइबर केवल तार निःशुल्क प्राप्त गरीरहेका छन् ।

एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पु¥याई ट्रिपल प्ले अर्थात भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवाहरु प्रदान गर्न सकिने भएकोले ग्राहकहरुको लागि यो सेवा प्रभावकारी र अत्याधुनिक भएको नेपाल टेलीकम दिपायल राजपुरका प्रमुख केशवराज भट्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ यो नेट प्रबिधि तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पु¥याई ट्रिपल प्ले सेवा दिने भएकाले राम्रो छ र इन्टरनेटको क्षमता पनि अरुभन्दा छिटो छरितो रहेको छ, उच्च गतीको भाइवरबाट सञ्चालन हुँने भएकाले ग्राहकलाई राम्रै फाइदा छ ।” पहिले एडीएसएल प्रयोग गरिरहेका ग्राहकले पनि सेवा अपग्रेड गरी एफटीटीएच सेवा लिन सक्ने र यो आईपीमा आधारित सेवा भएको दिपायल राजपुर टेलीकमका प्रबिधिक मुकेश रावलले जानकारी दिनुभयो ।

हाल डोटी जिल्लामा जडान गरिएका दुईवटा एफडीसी (फाइबर डिष्ट्रिब्युसन क्याबिनेट) को एक हजार २४ लाइन एफटीटीएच वितरण क्षमता रहेको र यसमध्ये ७६८ लाइन तत्काल वितरण गर्न सकिने नेपाल टेलीकम दिपायल राजपुरले जनाएको छ । यसैगरी जिल्लामा थप ७ वटा एफडीसी जडान गरी ग्रामिण तथा घना वस्ती क्षेत्रमा समेत उक्त सेवा थप विस्तार गर्ने टेलीकमको योजना रहेको छ ।

जिल्लामा यस अघि एडिएसएल र फोरजी सेवा बिस्तार गरिदै आएको भएपनि अबदेखि जिल्लाका सबै ठाउँमा एफटिटिएच सेवा सञ्चालन हुँने टेलीकम राजपुरले जनाएको छ । डोटीमा यो सेवा बिस्तार भएपछि छिमेकी जिल्लाहरु डडेल्धुरा, बैतडी, अछाम, बझाङ र बाजुरामा पनि बिस्तार गरिने टेलीकमको योजना रहेको नेपाल टेलीकम दिपायल रापुरका प्रमुख भट्टले जानकारी दिनुभयो । लेण्डलाईन नभएपनि इनटरनेट तथा टिभी सेवा सञ्चालन हुँने भएकाले जिल्लामा अहिले यो सेवा लिने ग्राहकको संङ्ख्या बढेको बताइएको छ ।

उच्च गतीबाट इन्टरनेट चलीरहेकाले यो सेवा लिएका ग्राहकपनि खुसि भएको भएपनि भनेको जती द्रुत गतीको नभएको दिपायल पिपल्लाका स्थानीयबासी दिव्यराज पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, “टेलीकमले भनेको जती नेट द्रुत गतीमा छैन तर पनि पहिलेको एडिएसएल सेवा भन्दा राम्रो छ ।”

उता नेपाल टेलीकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले यो तिब्र गतीको नेट सेवा हो, कहिले काही हाम्रो सरवर ह्याङ भएको समयमा नेटको गती कम भएको हुँन सक्ने भएकाले ग्राहकले आफ्नो राउटर रिसेर्ट गरेर वा पावर बटन अन अफ गरेर पनि द्रुत सेवा लिन सकिने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्