जफत गरेको ढुंगा लिलाममा



नेपाल समाचारपत्र, बारा

निजगढ नगरपालिकाले जफत गरेको अवैध ढुंगा लिलाम बिक्री हुने भएको छ । नगर कार्यपालिकको मंगलबार बसेको बैठकले बिक्रीको लागि बोलपत्र आह्वान गर्ने निर्णय गरेपछि ढुंगा लिलाम गर्ने बाटो खुलेको हो ।

निषेधित अवधिमा स्थानीयले खोला बगरबाट संकलन गरेर राखेको ढुंगा नगरपालिकाले बिक्रीका लागि बोलपत्र आह्वान गर्ने निर्णय गरेको र आवश्यक प्रक्रिया पूरा गरेर बिक्री गरिने नगरपालिका सूचना अधिकृत रविन घिमिरेले बताउनुभयो ।

नगरपालिकाले गत हप्ता करिब १ करोड मूल्य बराबरको १३ हजार ८ सय १४ दशमलव ४५ घनमिटर ढुंगा जफत गरेको थियो । स्थानीय केहीले निषेधित अवधि (असारदेखि भदौं मसान्तसम्म) वडा नम्बर १ स्थित धन्सार र वडा नम्बर ४, ९ र १० को बकैया खोलाकिनाराबाट उत्खनन गरी संकलन गरेर राखेको ढुंगा नगरपालिकाले जफत गरेको हो ।

नगरपालिका प्रमुख सुरेश खनाल, उपप्रमुख लीलादेवी लामिछानेसहित कर्मचारी र सुरक्षाकर्मीको टोलीले गत बुधबारदेखि दुई दिन लगाएर ढुंगा जफत गरेको थियो । टोलीले ढुंगा घाटगद्दी स्थानमा नै पुगेर नापजाँच र नगरपालिकाको चिह्न लगाएर सम्बन्धित वडाध्यक्ष तथा जनप्रतिनिधिको रोहबरमा मुचुल्का बनाई ढुंगा जफत गरेको हो ।

स्थानीय केही ट्याक्टरधनी र व्यवसायीहरूले निषेधित अवधिमा पनि खोला बगरबाट अवैधरूपमा ढुंगा उत्खनन गरी बिक्रीका लागि जम्मा पारेर राखेको भन्ने नेपाल समाचारपत्रमा समाचार प्रसारण भएपछि नगर कार्यपालिकाको गत भदौ २८ गते बसेको बैठकले ढुंगा जफत गर्ने निर्णय गरेको थियो । वीरगन्ज, सिमरा र निजगढ बजार क्षेत्रका व्यापारीबाट अग्रिम भुक्तानी लिएर खोला बगरबाट ढुंगा निकालेर स्थानीयले स्टक गर्दै आएका थिए ।

त्यसै गरी, नगरपालिकाका वडा नम्बर ३ को बगरे, वडा नम्बर ५ र ६ को भमरा र वडा नम्बर ११ को पसहा नदीमा पनि स्थानीयले अवैधरूपमा ढुंगा संकलन गरेर राखेको तर उक्त क्षेत्रको ढुंगा नगरपालिकाले जफत नगरको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार असोज १ गतेबाट निकासी खुलेपछि बाहिरका व्यापारीलाई बिक्री गर्ने योजनामा ढुंगा स्टक हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्