बाथ–मुटुरोग रोकथाममा डा प्रकाशराज रेग्मीका संघर्ष र अनुभूति



डा प्रकाशराज रेग्मी,

अस्पतालमा नर्सिङ काम गर्ने आमालाई विरामीहरूले तारिफ गरेको सुनेर डाक्टर बन्ने अठोट गरेका प्रकाशराज रेग्मी आज एउटा चर्चित मुटुरोग विशेषज्ञ मात्र नभई बाथ मुटुरोगको रोकथाम र उपचारको अभियानमा सामाजिक क्षेत्रबाट नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् । उनले चिकित्सा व्यवसाय एवं समाज सेवाका क्षेत्रमा गरिरहेको योगदान अनुकरणीय त छदै छ, साथै घरबारविहीन पृष्ठभूमीबाट उठेर एउटा प्रतिष्ठित चिकित्सकको रूपमा स्थापित उनको जीवन हरेक युवा पिंडीको लागि प्रेरणाको उर्जावान् स्रोत पनि बनेको छ ।

लक्ष्मण अधिकारी

‘२०१७ सालमा म जन्मिदा मेरो बुबा कमलराज रेग्मी जेलमा हुनुहुन्थ्यो । राजा महेन्द्रले संसदीय व्यवस्था फालेर पञ्चायती व्यवस्था सुरू गर्ने क्रममा कम्युनिस्ट राजनीतिमा सक्रिय मेरो बुबालाई पनि जेल हालिएको थियो । पुर्ख्यौली सम्पति खासै थिएन । म र मेरा दुई दिदीहरूलाई आमाले गाउँमा काम गरेर हुर्काउनु भएको हो । त्यसमाथि एक दिन मैले  ढोडमा आगो लगाउने क्रममा खरको छाना भएको हाम्रो घर र सम्पूर्ण सामान जलेर नष्ट हुँदा जीवन निर्वाहका लागि मागेर काम चलाउनु परेको थियो’ डा रेग्मी आफ्नो कहाली लाग्दो अतित सम्झदै भन्छन् ।

साह्रै दुःख भएपछि आमाले एक दिन प्रकाशराजलाई लिएर पाल्पादेखि हिँडेरै बुबालाई भेट्न भैरहवा जेलमा जानुभयो र भेट्ने क्रममा आमाले ‘मलाई साह्रै दुःख भयो, म के गरूँ ?’ भनेर सोध्नुभयो । बुबा कमलराज रेग्मीले ‘आफूभन्दा अझ बढी दुःखीहरूको सेवा गर, सुखी हुने हो भने आफूभन्दा बढी दुःख पाएकाहरूको सेवा गर्नुपर्छ’ भन्नुभयो । त्यसपछि आमा  विचलित नभई ‘रोग लागेर मर्न लागेका मानिसहरू आफूभन्दा दुःखी हुन्छन्’ भन्ने ठानेर उनीहरूको सेवा गर्न तानसेनको युनाइटेड मिसन अस्पतालका डा. फेडरिकलाई भेट्न पुग्नु भएछ । तीनै डाक्टरको प्रोत्साहनले तालिम लिदै नर्सिङ सेवा गर्न थाल्नु भयो, जसको प्रेरणाले प्रकाशराजलाई चिकित्सा क्षेत्रमा काम गर्ने एवं समाज सेवा गर्ने हुटहुटी जाग्यो ।

२०३१ सालमा पद्मोदय हाई स्कूलबाट एसएलसी र २०३४ सालमा अमृत साइन्स कलेजबाट आईएस्सी गरेपछि उनी एमवीवीएस पढ्न रूसतिर लम्किए ।

त्यहाँ एमवीवीएस उत्कृष्टताका साथ पूरा गरेकै कारण उनलाई मुटुरोग विषयमा पोस्टग्राजुएट गर्न युनिभर्सिटीका प्रोफेसरबाट प्रस्ताव आयो । यो राम्रो भएकोले  साथीहरूले बधाई दिए, तर उनलाई यो प्रस्ताव स्विकार गर्न हिचकिच लाग्यो ।

‘मुटुरोग धनीलाई मात्र लाग्ने रोग हो’ भन्ने उनलाई त्यसवेला भ्रम थियो । ‘हाम्रो देश गरिब छ, मुटुका बिरामी थोरै हुन्छन्, बिरामी जाँच्ने मौकै नपाउने पो हो कि ?’ आदि प्रश्नहरू त्यसबेला उनका मनभित्र उब्जिएका थिए । उनको दुविधा बुझेर प्रोफेसरले सम्झाउँदै भनेका थिए, ‘मुटुरोग धनीलाई मात्र हुने र बुढेसकालमा मात्र हुने रोग होइन । कतिपयलाई मुटुरोग त जन्मजात नै हुन्छ । बाथ–मुटुरोग बाल्यकालमै सुरू हुन्छ । केटाकेटीमा मुटुको भल्भ बिग्रिने समस्या प्रायः गरिबीका कारण हुन्छ । देश सम्पन्न हुँदै जाँदा मुटुको रोग बढ्दै जान्छ । भोलिको युग भनेको मुटुको रोगले मानिसलाई सखाप पार्ने युग भएकोले यस क्षेत्रमा ठूलो योगदान दिन सकिन्छ…।’

डा प्रकाश भन्छन्, ‘त्यसपछि मेरा धेरै भ्रमहरू हटे, म कार्डियोलोजीमा पोस्टग्राजुएट गर्ने निर्णयमा पुगेँ । बाथ–मुटुरोग हाम्रो जस्तो गरीब देशको समस्या हो भन्ने कुरा मैले पहिलो पटक सन् १९८५ मा त्यहीँ सुनेको थिएँ ।’

ठूलो अस्पतालमा हराएको सानो इन्जेक्सन

सन् १९८७ मा कार्डियोलोजीमा पोस्टग्राजुएट (एमडी) गरेर नेपाल फर्किएपछि उनले स्वयंसेवकका रूपमा वीर अस्पतालबाट स्वास्थ्य सेवा सुरू गरी जीवनको लक्ष्य प्राप्तिमा अघि बढे ।

डा प्रकाश सम्झन्छन्, ‘त्यसबेला डा. मृगेन्द्रराज पाण्डे मुटुरोगका विभिन्न विषयमा रिसर्च गर्नुहुन्थ्यो । त्यसमध्ये एउटा बाथ–मुटुरोग पनि थियो । मैले पनि सुरूमै यस्ता रिसर्चका काम गर्ने अवसर पाएँ । राजधानी वरिपरिका गाउँका स्कुलमा गएर विद्यार्थीको मुटु जाँच्ने, रिपोर्ट लेख्ने गरेर बाथ मुटुरोगको गम्भीरताबारे बुझ्ने अवसर पाएँ ।’

२०४५ सालमा स्वास्थ्य मन्त्रालयबाट आठौँ तहको मेडिकल अफिसरमा नियुक्ति पाएपछि  भरतपुर, बाग्लुङ, बुटवलमा केही वर्ष काम गरी आफ्नो अनुभवको दायरालाई फराकिलो पारेर २०५० सालमा उनी फेरि वीर अस्पताल फर्किए ।

काठमाडौं बाहिर रहँदा यस अवधिमा उनले अस्पतालमा सेवा दिनुको साथै नेपाल हार्ट फाउन्डेसन, रोटरी क्लब, नेपाल मेडिकल एसोसिएसनको शाखा स्थापना गर्न पहल गरेर सामाजिक काममा पनि हात हाले । साथै गाउँगाउँमा गएर बालबालिकाको मुटु परीक्षण, शिक्षक र स्वास्थ्यकर्मीहरूलाई यस सम्बन्धी तालिम दिएर बाथ–मुटुरोगको रोकथाम र उपचारमा सक्रिय बने । त्यस क्षणलाई सम्झदै उनी भन्छन्, ‘चितवनका गाउँमा बालबालिकाको मुटु परीक्षण गर्ने क्रममा सडक नभएको जंगलको बाटो हिँड्दै माडीसम्म पुग्थेँ । त्यस क्रममा एकपटक माडी जाँदा जङ्गलमा बाघसँग जम्काभेट भयो, रूख चढेर बाँचेको थिएँ, अहिले सम्झँदा पनि डर लाग्छ ।’

२०५० सालतिर वीर अस्पतालमा बाथ–मुटुरोगीहरू प्रशस्तै आउँथे । कतिपय बिरामीलार्ई पेनिसिलिनको सुई लगाउनु भनेर लेखिन्थ्यो । तर त्यहाँ सुई लगाउने ब्यवस्था एक वर्ष देखि बन्द हुँदा विरामीले दुःख पाइरहेको अवस्था थियो । त्यसपछि उनले ‘ठूलो अस्पतालमा हराएको सानो इन्जेक्सन’ शीर्षकमा लेख प्रकाशित गरे, जसका कारण सुई लगाउने व्यवस्था फेरि सुरू भयो । यसलाई डा रेग्मी आफ्नो एउटा सम्झनयोग्य कामका रूपमा लिन्छन् । त्यसपछि उनले स्वास्थ्य क्षेत्रका विकृति, कमजोरी वारेमा विभिन्न सञ्चार माध्यमबाट ज्वालामुखीको नाम र आफ्नै नामबाट पनि लेखहरू प्रकाशित गरे । उनी आज स्वास्थ्य विषयमा कलम चलाउने एउटा स्थापित चिकित्सकका रूपमा परिचित छन् ।

मोफसलमा मुटु उपचार

गंगालाल अस्पतालको स्थापना हुनु अघिसम्म मुटु रोग उपचार राजधानीको वीर अस्पतालमा केन्द्रित थियो । केही कार्डियोलोजिष्टहरू बेलाबेलामा राजधानी बाहिर गएर स्वास्थ्य क्याम्प तथा क्लिनिक चलाएर मुटुरोगीलाई सेवा उपलब्ध गराउँथे । त्यसमध्ये एक हुन डा. प्रकाशराज रेग्मी । मुटु उपचार सेवा राजधानीबाहिर ग्रामीण क्षेत्रसम्म ई.सी.जी र इकोकार्डियोग्राफी प्रविधिसहित पुर्याउने कार्यमा डा. रेग्मीको महत्वपूर्ण योगदान छ ।

कार्डियोलोजिष्टको रूपमा सम्पूर्ण मुटुरोगको रोकथाम र उपचारमा उनी सक्रिय भएता पनि बाथ–मुटुरोग उनको सधैँ प्राथमिकतामा रहेको देखिन्छ ।

उनी भन्छन, ‘आजका दिनमा अत्यधिक प्रयोगमा रहेको इन्टरभेन्सनल कार्डियोलोजीका प्रोसेड्युरहरू एन्जियोग्राफी, एन्जियोप्लास्टी, पेसमेकर प्रत्यारोपण आदि उपचार पद्धतिलाई मैले आफ्नो सेवाकालमा सक्दो उपयोग गरेँ, यद्यपि मेरो मन त्यता धेरै आकर्षित भएन । मुटुरोगको रोकथाम र नियन्त्रण नै प्रमुख मुद्दा बन्नुपर्दछ भन्ने मेरो ठम्याइ रह्यो र आजसम्म यसमा नै एकोहोरो लागिरहेको छु ।’

रोकथाममा निरन्तर जोड

सामान्यतया गरिबी, अल्पपोषण, सरसफाइको कमी आदि कारणले बालबालिकाको घाँटीमा सङ्क्रमण हुन्छ । यो अवस्थामा घाँटी दुख्ने, टन्सिल बढ्ने, स्वर भासिने, निल्न गाह्रो हुने, ज्वरो आदि आउने हुन्छ । कतिपयले नुन, तातो पानीले घरमै उपचार गर्छन् भने कतिपयलाई अस्पताल नै जानुपर्ने हुन्छ । कतिपयको घाँटी दुखाइ निको भएर पनि दोहोरिएर आउँने, जोर्नीहरू दुख्ने र ज्वरो आउने हुन्छ । यसलाई बाथ–ज्वरो भनिन्छ । विशेषगरी ५ देखि १५ वर्ष उमेर समुहका यस्ता बालबालिका मध्ये धेरैको मुटुको भल्भमा असर परी मुटु क्षतिग्रस्त हुन्छ । यसलाई बाथ–मुटुरोग भनिन्छ ।

सुरूमै उपचार गर्दा यो रोग साधारण औषधिले निको पार्न सकिन्छ भने समयमै उपचार नगर्दा पछि गएर लाखौँ खर्च गरे पनि उपचार गर्न नसकिने स्थिति आउन सक्छ । ठूलो खर्च गरेर उपचार राम्रो भइहाले पनि शारीरिक, मानसिक समस्या हुने, कतिपय युवतीको विवाह नहुने र विवाह भैहाले पनि गर्भधारण गर्न समस्या हुने गर्छ ।

राजधानीबाहिर मुटु रोगीको उपचार गर्ने क्रममा डा. रेग्मीले गरीब बालबालिका र युवाहरूमा बाथ–मुटुरोगको यस्तै गम्भीर समस्या देखे । थोरै खर्चमा हुने घाँटीको सङ्क्रमणको उपचार राम्ररी हुन नसक्दा धेरै बालबालिकाको मुटुको भल्भमा क्षति पुगेको पाए । त्यसबेला मुलुकमा भल्भ फेर्ने उपचार सेवा नभएको र गरिबीका कारण विदेश जाने क्षमता पनि नहुँदा मृत्यु कुरेर बसेका असंख्य बाथ–मुटुरोगीका पीडादायक स्थिति देखे ।

त्यसपछि उनले बाथ–मुटुरोगको उपचारलाई भन्दा थोरै पैसामा हुनसक्ने रोकथाममा जोड दिन नेपाल हार्ट फाउण्डेसनमार्फत सशक्त अभियानको थालनी गरे । यस अन्तरगत विभिन्न कार्यक्रमहरू चलाए । त्यसमध्ये एउटा प्रभावकारी कार्यक्रम हो ‘बालहृदय बचाऊ कार्यक्रम’ । स्कुलहरूमा गएर बालबालिकाको मुटु परीक्षण गर्ने र बाथ–मुटुरोगबारे जनचेतना अभिवृद्धि गर्न प्रचारप्रसार गर्ने यो कार्यक्रमलाई उनले नेतृत्व गरेर नेपाल हार्ट फाउण्डेसन मार्फत मुलुकका अधिकांश जिल्लामा पुर्याए । १० वर्षको अवधिमा उनको नेतृत्वको चिकित्सा टोलीले २ लाख भन्दा बढी बालबालिकाको मुटु परीक्षण सम्पन्न गर्यो । १० हजार भन्दा बढीको मुटुरोगको निदान भयो । ५ सयभन्दा बढीको निःशुल्क शल्यक्रिया भयो । धेरैको ज्यान बच्यो ।

यस क्रममा उनले अति दुर्गम तथा पहाडी जिल्लामा यो समस्या भुसको आगो जस्तै भित्रभित्रै सल्केर बसेको अवस्थामा पाए । उनी भन्छन, ‘काठमाडौं उपत्यकामा विभिन्न पटक गरिएका अध्ययनमा १० हजार बालबालिकामध्ये १३ जनामा बाथ मुटुरोग रोग पाइएकोमा काठमाडौं उपत्यका बाहिरका जिल्लामा २० देखि ३० जनासम्म र पश्चिम पहाडको जाजरकोटमा त १० हजार स्कुले बालबालिकामध्ये ७३ जनालाई बाथ–मुटुरोग भएको पाइयो । यो निकै डरलाग्दो तथ्यांक हो ।’

डा रेग्मी भन्छन्, ‘यो समस्या ग्रामीण क्षेत्रमा निकै गम्भीररूपमा रहेकोले नेपाल हार्ट फाण्डेसनले धेरै अघि देखि नै सरकारसँग सहकार्य गरेर ग्रामीणतहसम्म सेवा विस्तार गर्ने जमर्को गर्यो तर सफलता पाउन सकिएन । जुन स्वास्थ्यमन्त्री आए पनि आश्वासन दिन्छन् तर कार्यान्वयन गर्ने बेलामा पछि हट्छन् ।’

सरकारले अहिले गंगालाल अस्पतालमार्फत मुटुको भल्भ बिग्रेको निशुल्क उपचार गरिरहेको छ । तर रोकथाम कार्यक्रम अघि नसारेकोमा डा रेग्मीको चित्त दुखाइ छ । उनी भन्छन्, ‘बाथ–मुटुरोग बढेर भल्भ बिग्रिएपछि २–३ लाख खर्च लाग्ने शल्यक्रिया चाहिँ निःशुल्क गरेर बार्षिक झण्डै ३० करोड रूपियाँ खर्च गर्छ तर प्रति बिरामी ३० रूपियाँ खर्च गरेर रोकथाम गर्न सकिने कार्यक्रमतिर चाहिँ स्वास्थ्य मन्त्रालयले ध्यानै दिएन । अहिले वार्षिक रूपमा एक करोड रूपियाँ रोकथामका लागि छुट्याउने हो भने भविष्यमा बार्षिक ३० करोड रूपियाँ खर्च गर्नु पर्ने स्थिति नै आउँदैन भन्दा मन्त्रालयले आश्वासनमै टार्नु मुलुककै लागि दुर्भाग्यपूर्ण हो ।’

आफ्नै पहलमा नयाँ अभियान

मुलुकका विभिन्न क्षेत्रका स्कुलमा पुगेर बालबालिकाको मुटु परीक्षण गर्ने क्रममा समस्याको पहिचान त भयो तर यसको रोकथामको कार्यक्रम पर्याप्त हुन नसकेको महशुस गरी अहिले उनकै नेतृत्वमा नेपाल हार्ट फाउण्डेसनले बाथ–मुटुरोग विरूद्धको महाअभियानको रूपमा ‘इन्ड आरएचडी क्याम्पियन नेपाल’ सुरू गरेको छ । सन् २०१९ मा विश्व मुटु महासङघबाट ‘हार्ट हिरो’ को सम्मान पाएपछि आफ्नो जिम्मेवारी अझ बढेको महसुस गरी विश्व मुटु दिवसका अवसरमा नेपाल हार्ट फाउन्डेसनलाई आफैँले रू. १० लाखको चेक हस्तान्तरण गरी ‘आरएचडी रिसर्च फन्ड’ स्थापना गरेका छन् ।

पाँच वर्षभित्रमा १ करोड रूपियाँ जम्मा गरिसक्ने लक्ष्य लिइएको भए तापनि कोष स्थापनाको घोषणाकै दिनदेखि यस कोषमा दाताहरूले उत्साहजनक मात्रामा रकम दान गर्न आरम्भ गरेकाले लक्ष्य चाँडै पूरा हुने सङ्केत देखिएको उनी दङ्ग पर्दै बताउँछन् । हालसम्म यस कोषमा ४० लाख रूपैया जम्मा भैसकेको र यस कोषबाट नेपालमा बाथ–मुटुरोग रोकथाम सम्बन्धी विविध कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको उनी बताउँछन् ।

नेपालका गरीब, अशिक्षित र पीडित बालबालिकालाई बाथ–मुटुरोगबाट मुक्ति दिलाउने उद्देश्यले सञ्चालन गरिएको यस महत्वाकांक्षी कार्यक्रमलाई नेपाल हार्ट फाउन्डेसनले आफ्नो सम्पूर्ण शक्ति लगाएर लड्ने लडाईँको रूपमा लिएको र यसलाई सफल बनाएरै छाड्ने डा रेग्मीको अठोट छ ।

उनी भन्छन्, ‘बालबालिकाको टन्सिल पाक्दा औषधि गर्नुपर्छ भन्ने ज्ञान नआएसम्म, जोर्नीहरू दुख्ने, सुन्निने र ज्वरो आउने हुँदा उपचार गराउने चेतना नआएसम्म, गरिबी र अशिक्षाका कारण कलिलै उमेरमा मुटुको भल्भ बिग्रिएर मृत्यु हुने अवस्थाको अन्त्य नभएसम्म र हेपाइमा परेको यो बाथ–मुटुरोगको रोकथामलाई नेपाल सरकारले आफ्नो जिम्मेवारी महशुस गरी कार्यक्रममा समावेश नगरेसम्म बाथ–मुटुरोग विरूद्धको यो लडाइँ जारी रहनेछ ।’

टन्सिलले बिगारेको मुटु

बाथ मुटुरोगलगायत समग्र मुटुरोगसँग सम्बन्धित दर्जनौँ पुस्तकहरू प्रकाशित गरिसकेका डा. रेग्मीले बाथ–मुटुरोगको रोकथाम तथा उपचारमा जनचेतना बृद्धि गर्ने उद्देश्यले ‘टन्सिलले विगारेको मुटु’ नामक नयाँ पुस्तक प्रकाशित गरेका छन् । डा रेग्मीका अनुसार यो पुस्तक विश्व मुटु दिवसका अवसरमा यही असोज १३ गते सार्वजनिक हुँदैछ । यस पुस्तकको बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम ‘आरएचडी रिसर्च फन्ड’मा नै जम्मा गर्ने डा. रेग्मीको प्रतिबद्धता छ ।

बाथ–मुटुरोग रोकथामका लागि गरिएका सङ्घर्षका अनुभूतिहरूको संगालोको रूपमा रहेको यो पुस्तक बाथ–मुटुरोग लागेकाहरूका लागि मात्र होइन, विद्यालयस्तरका विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी र बाथ मुटुरोगबाट बचाउन चाहने सचेत बाबुआमाका लागि अझ बढी उपयोगी छ । साथै यस क्षेत्रमा कार्यरत संघ संस्था, नीति निर्माता, सञ्चारकर्मी, चिकित्सा क्षेत्रका विद्यार्थी सवैका लागि उपयोगी छ । यस पुस्तकमा उनको प्रेरणादायी एवं अनुकरणीय जीवनका संघर्षपूर्ण कथाहरू समेटिएका छन् । यस पुस्तक भित्र नेपाली समाजको चित्र छ । रोगीको वेदना छ । सङ्घर्षको कथा छ । नेपालमा मुटुरोग उपचार सेवाको स्थापना र विस्तारको इतिहास छ । पुस्तक पढ्दै जाँदा धेरै ठाउँमा तपाई भावुक बन्नु हुनेछ । भाषा अत्यन्तै सरल र रसिलो छ । पुस्तक पढेपछि तपाईलाई पनि बाथ–मुटुरोग रोकथामको जिम्मेवारी बोध हुनेछ । डा. रेग्मीका अनुसार यो जिम्मेवारी बोध नै पुस्तक प्रकाशनको उपलब्धि मानिने छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्