हिरासतमा मृत्यु प्रकरण : प्रहरी उपरीक्षकदेखि जवानसम्म कारबाहीमा



सञ्जय कार्की, रौतहट

प्रहरी हिरासतमा एक किशोरको मृत्यु प्रकरणमा तत्कालीन प्रहरी उपरीक्षकदेखि जवानसम्मलाई कारबाही गर्न छानबिन समितिले सिफारिस गरेको छ । गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले कारबाहीका लागि सिफारिस गरेको हो ।

इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेका गरुडा नगरपालिका–५ जिगडिया निवासी विजय रामको मृत्यु भएको थियो । मृत्युपछि गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले प्रहरी उपरीक्षक रविराज खड्का, प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतो, प्रहरी निरीक्षक नवीनकुमार सिंह, प्रहरी नायव निरीक्षक वीरेन्द्र यादव, प्रहरी हवल्दारद्वय हिरोज मिया धुनिया र मुन्नु सिंह, प्रहरी जवान अजय यादव र रूपेश कुशवाहलाई आवश्यक कारबाहीका लागि सजायको सिफारिस गरेको छानबिन समितिले जनाएको छ ।

गएको साउन ३१ गते गरुडा नगरपालिका–८ जिगडिया निवासी २० वर्षीय निरञ्जन रामको घाँटी रेटी हत्या गरेको आरोपमा साउन ३२ गते पक्राउ परेका १९ वर्षीय रामको हिरासतमा भएको यातनाबाट मृत्यु भएको गृह मन्त्रालयले इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिव डोलेन्द्र निरौलाको संयोजकत्वमा भदौ १३ गते गठन गरेको तीन सदस्यीय छानबिन समितिले बुझाएको प्रतिवेदनमा जनाइएको छ ।

यातनाबाट घाइते भएका विजय रामको नेसनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगन्जमा उपचारको क्रममा भदौ १० गते मृत्यु भएको थियो । उनीसँगै पक्राउ परेका सिकिन्द्र पासवानलाई समेत यातना दिइएको थियो । छानबिन समितिले प्रहरी उपरीक्षक खड्काको कमान्डमा कमजोरी रहेको उल्लेख गरेको छ ।

यस्तै प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतो कार्यकक्ष हिरासतमा भएको घटनामा अनभिज्ञ रहेकाले पुनः छानबिन हुनुपर्ने, प्रहरी निरीक्षकसहित जवानको हकमा कानुनबमोजिम कारबाही हुनुपर्ने सिफारिस गरिएको छ ।

यसअघि नै प्रहरी उपरीक्षक खड्कालाई प्रहरी प्रधान कार्यालय र प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतो र प्रहरी नायव निरीक्षक वीरेन्द्र यादवलाई प्रदेश नम्बर २ प्रहरी कार्यालय जनकपुर तानिएको थियो । प्रहरी निरीक्षक नवीनकुमार सिंह, प्रहरी हवल्दारद्वय हिरोज मिया धुनिया र मुन्नुसिंह निलम्बनमा परेका छन् ।

घटना प्रकरणमा जोडिएका प्रहरी जवान अजय यादव र रूपेश कुशवाह भने कार्यरत रहेको जनाइएको छ । छानबिन समितिले गएको असोज १ गते गृह मन्त्रालयमा प्रतिवेदन बुझाएपछि सोको कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालयमा पत्राचार भएको स्रोतले जनाएको छ ।

उता प्रहरी हिरासतमा मृत्यु भएका विजय रामको बुबा पनिलाल रामले जिल्ला सरकारी वकिलको कार्यालयमा भदौ २४ गते कर्तव्य ज्यान र यातनाको जाहेरी दर्ता गराएका थिए । सोको कारबाही र अनुसन्धानका लागि जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाएपछि भदौ २५ गते मुद्दा दर्ता भएको छ । छानबिन समितिका संयोजक डोलेन्द्र निरौलाले प्रतिवेदनमा उल्लेख गरिएका सबै विषय आफूले भन्न नमिल्ने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्