बार्यनलाई यूइएफए सुपर कपकाे उपाधि



एजेन्सी ।

सिजन २०२० को यूइएफए सुपर कपको उपाधि जर्मन क्लब बार्यन म्युनिखले जितेको छ ।

यूरोपा लिगको च्याम्पियन स्पेनिस क्लब सेभियालाई अतिरिक्त समयमा २-१ गोलअन्तरले हराउँदै बार्यनले सात बर्षपछि उक्त उपाधि जितेको हो । योसँगै बायर्न दोस्रो पटक सुपरकपको च्याम्पियन बनेको छ । यसअघि सन् २०१३ मा एकपटक मात्र सुपर कपको उपाधि जितेको बार्यनले त्यसपछि फाइनल खेल्न सकेको थिएन । यता सेभिया भने पछिल्लो १० बर्षमा चौथो पटक युएफए सुपर कपको फाइनलमा पराजित भयो ।

हंगेरीको बुडापेष्टमा भएको फाइनलमा कोरोना भाइरसपछि पहिलो पटक युरोपियन फुटबल महासंघले मैदानमा १५ हजार एक सय ८० जना दर्शकलाई मैदानमा उतारेको थियो । ६७ हजार दर्शक क्षमता रहेको पुस्कास एरिना रंगशालामा बार्यनले जित निकाल्न निकै संघर्ष गर्नुपरेको थियो ।

खेलमा सुरुवाती अग्रता भने सेभियाले लिएको थियो । सेभियाले खेलको १३औं मिनेटमा पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो । इभान राकिटिचलाई डि-बक्समा डेभिड अलावाले धकेलेपछि प्राप्त पेनाल्टीमा लुकास ओकम्पासले गोल गर्दै सेभियालाई १–० को अग्रता दिलाएका थिए ।

एक गोलले पछि परेको बार्यनले पहिलो हाफको अन्तिम समयमा खेल बराबरी गर्न सफल भयो । रोबर्ट लेवान्दोस्कीको उत्कृष्ट पासमा लियोन गोरेज्काले गोल गरेपछि पहिलो हाफसम्म दुवै टोली १–१ गोलको बराबरी स्थितिमा रहेका भए ।

जुन दोस्रो हाफको पूरै अविधसम्म जारी रह्यो । दोस्रो हाफमा दुवै टिमबाट थप गोल हुन सकेन । दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने केही उत्कृष्ट मौका गुमाएका थिए । निर्धारित ९० मिनेटसम्म १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । जसको १०४औं मिनेटमा जोभि मार्टिनेजले हेडिङ्गमा मार्फत गोल गर्दै बायर्नको दोस्रो गोल सम्भव पारे । जुन गोल बायर्नलाई दोस्रो पटक उपाधि दिलाउन निर्णायक समेत सावित बन्यो ।

यसअघि बायर्नले चार पटक फाइनल खेलेको थियो । जसमा सन् २०१३ मा एकपटक मात्र बायर्नले उपाधि उचालेको थियो । त्यसैगरी सन १९७५, १९७६ र २००१ गरी तीन पटक उपविजेतामा चित्त बुझाएका थिए । यता, सेभियाले भने यो समेत ६ पटक फाइनल खेल्दा एक पटक मात्र उपाधि उचाल्न सकेको छ । सेभियाले सन् २००६ मा एकपटक मात्र सुपरकप उपाधि जित्दा २००७, २०१४, २०१५, २०१६ र २०२० मा गरी पाँच पटक उपविजेतामा चित्त बुझाउनु पर्‍यो । बायर्नले सुपरकपसँगै यस बर्ष कुुल तीन वटा उपाधि जितेको छ ।

 

प्रतिक्रिया दिनुहोस्