कुलेखानीको जलाशयमा दुई मिटर पानी बढ्यो



रोशन पराजुली, हेटौंडा

लगातारको वर्षाले इन्द्रसरोवरको कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानीको सतह बढ्दो छ । जलाशय क्षेत्रमा अविरल वर्षाका कारण बिहीबार दिउँसो २ बजेसम्म समुद्री सतहबाट एक हजार पाँच सय २२ दशमलव ११ मिटर पुगेको कुलेखानी जलविद्युत् जलाशय ड्यामसाइडका कर्मचारीले जानकारी दिए ।

पानी लगातार परिरहेकाले पानीको सहत निरन्तर बढिरहेको कर्मचारीको भनाइ छ । जलाशयमा पानी एक हजार ४ सय ८४ मिटर सतह रहेसम्म विद्युत् उत्पादनका लागि प्रयोगमा ल्याउन सकिने प्राविधिकको भनाइ छ ।

सात किलोमिटर लम्बाईको कुलेखानी जलाशयमा पानीको सतह बुधबार विहान एक हजार पाँच सय १९ दशमलव ४८ मिटर थियो । जलाशयमा २४ घण्टाको अवधिमा करिब दुई मिटर पानीको सतह बढेको हो । वर्षामा पानी सञ्चय गरेर हिउँदमा अन्य विद्युत् गृहमा विद्युत् उत्पादन कम भएका बेला यहाँ विद्युत् उत्पादन हुने गरेको छ ।

इन्द्रसरोवर गाउँपालिका–१ स्थित आयोजनाको जलाशय सरोवर तालको समुद्री सतहबाट एक हजार पाँच सय ३० मिटरसम्म पानी जम्मा गर्न सकिने क्षमता छ । अन्य क्षेत्रमा वर्षाका कारण रन अफ रिभरमा आधारित आयोजना पूर्ण क्षमतामा सञ्चालन हुँदा कुलेखानीलाई भार पर्दैन । अन्य आयोजना राम्ररी सञ्चालन हुनसक्दा कुलेखानीले कममात्र विद्युत् उत्पादन गर्दछ ।

वर्षाले कुलेखानीको माथिल्लो क्षेत्रका खोलामा बाढी आउनुका साथै पानीको बहाव तीव्र भएपछि पानी संकलन हुने क्रम तीव्र हुने गर्दछ । माथिको मुल नफुटी कुलेखानी भरिँदैन ।

भुकम्पपछि कुलेखानी भरिएको छैन । २०७२ पुसमा कुलेखानीमा पानीको सतह १ हजार ५ सय २६ दशमलव ९७ मिटरमा सतह पुगेर स्थिर भएको थियो । कुलेखानी जलविद्युत् आयोजना पहिलो र दोस्रोबाट क्रमशः ६० र ३२ गरी ९२ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ ।

हेटौंडामा १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो पनि सञ्चालनमा छ । कुलेखानी नेपालकै विद्युत्को पावर ब्याकअप हो । रन अफ रिभर हुँदा सुक्खायामका लागि विद्युत् उत्पादन निम्ति पानी सञ्चय गर्ने गरिएको छ । प्राधिकरणको निर्देशानुसार कुलेखानी सञ्चालन गरिँदै आएको छ ।

मुलुकलाई ‘ब्ल्याक आउट’ हुनबाट जोगाउने उद्धेश्यले मानवनिर्मित सबभन्दा ठूलो जलाशय इन्द्रसरोवरलाई जोगाउन दिगो विकास नीति अवलम्बन गरिएको छ ।

कुलेखानी जलविद्युत्का निम्ति निर्मित इन्द्रसरोवरको पिँधमा माटो तथा बालुवा थुप्रिँदै जलाशयको सतह बढेकोले उक्त क्षेत्रको वातावरणीय संरक्षण र दिगो विकास निम्ति निर्मित वातावरणीय व्यवस्थापन विशेष कोष सञ्चालन कार्यविधिलाई परिमार्जन गरी लागू गरिएको हो ।

माटो तथा बालुवा थुप्रने क्रम बढ्दै गएकाले इन्द्रसरोवरको जीवनमा मात्र नभएर पूरै जलविद्युत् आयोजनाकै जीवनको ह्रास हुने सम्भावना भएकाले अव्यवस्थित मानवीय कार्य रोक्न बनाइएको कार्यविधिलाई समयसापेक्ष परिमार्जन गरी संरक्षण एवम् व्यबस्थापन कार्यक्रम सञ्चालन गरिएको छ ।

इन्द्रसरोवर जोगाउन सडक निर्माण गर्ने नाममा एक्साभेटर र डोजरजस्ता ठूला मेसिन प्रयोग कार्यलाई पूर्णरुपमा निरुत्साहित गर्ने नीति अगाडि सारिएको छ । सडक निर्माणमा ठूला उपकरण प्रयोग गरिँदा सरोवरको पिँधको सतह करिब १३ मिटर बढेको बताइएको छ । प्रायः वर्षा समयमा जलाधार क्षेत्रका विभिन्न नदी र खोल्साबाट माटो, पात र ढुंगालगायत सरोवरमा थुप्रिने गर्दछ, जसले गर्दा वर्षेनी इन्द्रसरोवरको आयु घट्दो छ ।

जथाभावीरुपमा ग्रामीण सडक निर्माण गरिँदै आएकोमा सरोवरको आयु बढाउन जलाधार क्षेत्रलाई सम्पूर्ण प्रक्रिया पूरा गरी ‘संरक्षित जलाधार क्षेत्र’ का रुपमा घोषणा गर्ने निर्णय जिल्ला परिषद्ले गरेको छ । कुलेखानी जलविद्युत्बाट प्राप्त हुने रोयल्टी शुल्कको निश्चित प्रतिशत जलाधार संरक्षण, सुहाउँदो बृक्षरोपण एवम् बनविकास कार्यमा लगानी गरी जैविक विविधता विकास गर्ने नीति लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्