अर्को साता इजरायलसँग श्रम सम्झौता



काठमाडौं, (नेस)
आगामी साता नेपाल र इजरायलबीच श्रम सम्झौता हुने भएको छ । इजरायलको अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्रमा नेपाली केयर गिभर लैजानका लागि श्रम सम्झौता हुन लागेको हो ।

सम्झौतापत्रमा इजरायलका लागि नेपाली राजदूत डा अञ्जान शाक्य र इजरायलका विदेशमन्त्री गाबी अस्खेनाजीले जेरुसेलमस्थित इजरायली विदेश मन्त्रालयमा हस्ताक्षर गर्ने कार्यक्रम छ । मन्त्रिपरिषद् बैठकले इराजयलसँग श्रम सम्झौता गर्ने निर्णय गरेसँगै असोज १४ गते श्रम सम्झौता गर्ने कार्यक्रम तय भएको होे ।

मन्त्रिपरिषद्ले श्रम सम्झौतामा इजरायलका लागि नेपाली राजदूत डा शाक्यलाई हस्ताक्षर गर्न अख्तियारी दिने निर्णयसमेत गरेको छ । यसअघिको जस्तो घरभित्र काम गर्ने नभएर नर्सिङ क्षेत्रमा निश्चित योग्यता भएका व्यक्तिले मात्र इजरायलमा रोजगारीको अवसर पाउने छन् ।

केयर गिभरमा छनोट हुनका लागि अनमी वा अन्य शैक्षिक उपाधि हासिल गरेका वा १२ कक्षा पास गरी तीन महिने केयर गिभर तालिम लिएको हुनुपर्नेछ । यस्तै लिखित तथा अन्तर्वार्ता दुवैमा अंग्रेजी भाषा उत्तीर्ण, निश्चित उमेर, तौल र उचाइ, स्वास्थ्यावस्था ठीक तथा कुनै आपराधिक गतिविधिमा संलग्न नभएको व्यक्ति छनोट हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्