लघुवित्त कम्पनीलाई शाखा विस्तार गर्न कडाइ



नेपाल समाचारपत्र, काठमाडौं

नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरूलाई शाखा विस्तार गर्न कडाइ गरेको छ । केन्द्रीय बैंकले राष्ट्रियस्तरमा पुग्न नसकेका लघुवित्तले अब एउटै प्रदेशभित्र मात्रै शाखा खोल्नुपर्ने नीति ल्याएपछि शाखा खोल्न कडाइ भएको हो ।

राष्ट्रियस्तरमा स्तरोन्ती हुन नसकेका लघुवित्तले एकभन्दा बढी प्रदेशमा शाखा खोलेको भए त्यसलाई अब बन्द गर्नुपर्ने भएको छ । केन्द्रीय बैंकले बिहीबार लघुवित्त कम्पनीहरूलाई जारी गरेको निर्देशिका अनुसार एकभन्दा बढी प्रदेशमा शाखा खोेलेर कारोबार गरिरहेका लघुवित्त कम्पनीहरूले आगामी २०७८ असार मसान्तभित्र त्यस्ता शाखा बन्द गर्नुपर्ने छ ।

आफ्नो कार्यक्षेत्र भन्दा बहिर शाखा खोलेका लघुवित्त कम्पनीले त्यस्ता शाखा बिक्री वा बन्द नगरेसम्म आफ्नो क्षेत्रमा रहेका जिल्लामा नयाँ शाखा विस्तार गर्न पाउने छैनन् । राष्ट्रिय स्तरमा थोक कर्जा प्रवाह गर्ने लघुवित्त कम्पनीको चुक्ता पुँजी पनि ६० करोड रुपियाँ रहेको छ ।

यसैगरी केन्द्रीय बैंकले तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगर्ने लघुवित्त कम्पनीलाई थप कडाइ गरेको छ । अब तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगर्दा अपुग भएको रकमबाट प्राप्त हुने ब्याजदर बराबरको हर्जना लघुवित्त कम्पनीले तिर्नुपर्ने छ ।

त्यस्तै लघुवित्त कम्पनीका कमर््चारीले तलब भत्ता र सेवा सुविधा अब कम्पनीकै खाताबाट लिन पाउनेछन् । केन्द्रीय बैंकले कर्मचारीले पाउने तलब भत्ता र सेवा सुविधालाई कम्पनीको निक्षेपका रुपमा स्वीकार गरेर स्रोत परिचालन गर्न बाटो खोलिदिएको हो ।

प्रतिक्रिया दिनुहोस्