ललितलाई चितवन टाइगर्सबाट नगद सहयोग



काठमाडौं, (नेस)

सडक दुर्घटनामा घाइते भएका क्रिकेटर ललितसिंह भण्डारीलाई चितवन टाइगर्सलगायतका संस्थाले उपचारका लागि नगद सहयोग गरेका छन्। तीव्र गतिका बलर ललितले २०१७ र २०१८ को एभरेस्ट प्रिमियर लिग क्रिकेटमा चितवन टाइगर्सबाट खेलेका थिए।

अघिल्लो आइतबार साँझ उनी गृहनगर कञ्चनपुरमा सवारी दुर्घटनामा परेका थिए। उनी सवार मोटरसाइकल र विपरीत दिशाबाट आएको ट्रकमा ठोक्किएपछि गम्भीर घाइते भएका उनलाई हेलिकप्टरबाट काठमाडौंको गान्डी अस्पताल ल्याइएको छ।

चितवन टाइगर्सले लायन्स क्लब अफ काठमाडौं कर्पोरेट नेपालसँग मिलेर १ लाख ११ हजार १ सय ११ रुपियाँ ११ पैसा उपचारका लागि प्रदान गरेको हो। चितवन टाइगर्सका मालिक एवं लायन्स कर्पोरेट नेपालका संस्थापक अध्यक्ष किशोर भट्टराई, अध्यक्ष सुशील विष्टले बुधबार ग्रान्डी अस्पतालमा पुगेर ललितकी श्रीमती ममतालाई चेक प्रदान गरेका हुन्।

सो अवसरमा चितवन टाइगर्सका मार्की एवं राष्ट्रिय खेलाडी सोमपाल कामी र राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद दास, लायन्स क्लबका कोषाध्यक्ष रमेश रूपाखेती पनि उपस्थित थिए।

यसैगरी, अमेरिकास्थित नेपाल राइनोज क्रिकेट क्लबको डालास शाखाले ललितको उपचारका लागि ७५ हजार ८ सय ३१ रुपियाँ प्रदान गरेको छ। राइनोजका संयोजक राकेश कर्णमार्फत अमेरिकामा उठाइएको रकम सोमपालमार्फत ललितकी श्रीमती ममतालाई बुधबार हस्तान्तरण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्