मुम्बई इन्डियन्सको पहिलो जित



अबुधाबी, (एजेन्सी)
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति भएको खलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्स (केकेआर) लाई ४९ रनले हराएको छ।

यो मुम्बईको दोस्रो खेलमा पहिलो जित थियो। अबुधाबीमा भएको खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बईले १ सय ९६ रनको लक्ष्य दिएको थियो। यसको जवाफमा केकेआर १ सय ४६ रनमा समेटिएको थियो । मुम्बईका लागि सर्वाधिक रन बनाएका रोहित शर्मा प्लेयर अफ द म्याच घोषित भए। कप्तान रोहितले ८० रनको योगदान दिएका थिए। उनले सो खेलसँगै आईपीएलमा २ सय छक्का प्रहार गरेका छन्।

केकेआरका ब्याट्सम्यानलाई मुम्बईका बलरले कुनै पनि मौका दिएका थिएनन्। केकेआरले पावर प्लेमा ३३ रन मात्रै बनाउन सकेको थियो । यही दौरान २ विकेट पतन पनि भएको थियो। ओपनर ब्याट्सम्यान शुभमन गिल ७ रन र सुनील नारान ९ रन बनाएर आउट भएका थिए।

यसपछि केकेआरका कप्तान दिनेश कार्तिक र नितिश राणाले ब्याटिङ सम्हालेका थिए। कार्तिकले ३० रन जोडेर राहुल चाहरको बलमा आउट भए। नितिश २४ रनमा किरोन पोलार्डको बलमा पवेलियन फर्केका थिए। त्यस्तै, आन्द्रे रसेल र आयन मोर्गानले पनि खासै केही गर्न सकेनन्। रसेलले ११ रन र मोर्गनले १६ रन बनाएका थिए।

केकेआरको कमजोर बलिङका कारण मुम्बईले रन बटुल्न सफल भएको थियो। केकेआरले १५ दशमलव ५० करोडमा किनेको पेट कमिन्स निकै महँगा खेलाडी हुन्। तर, उनको बलिङ निकै महँगो साबित भयो। उनले ३ ओभरमा ४९ रन दिएर विकेटविहीन भएका थिए। तर, उनले ब्याटिङमा भने १२ बलमा ३३ रन जोडे। जसमा उनले जसप्रीत बुमराहको एकै ओभरमा ४ छक्का हानेको पनि सामेल थिए।

केकेआरले आईपीएलमा ८ वर्षपछि पहिलो खेलमा हार व्यहोरेको छ । यसअघि २०१२ मा दिल्ली डेयरडेभिल्सले केकेआरलाई ८ विकेटले हराएको थियो। यसअघि मुम्बईविरुद्ध केकेआरले हालसम्म दुईवटा पहिलो खेलमा (२०१४ र २०१५) खेलेकोमा दुवै खेल जितेको थियो। तर, हाल अबुधाबीमा भने मुम्बईले केकेआरलाई नराम्रोसँग पराजित गरेको छ।

मुम्बईको ब्याटिङमा रोहितले आईपीएलमा ३७औं अर्धशतक लगाएका हुन्। त्यस्तै, सूर्यकुमार यादवले ४७ रन योगदान दिँदा सौरभ तिवारीले २१ र हार्दिक पाण्डेले १८ रन जोडेका थिए। रोहित र सूर्यकुमारले दोस्रो विकेटका लागि ८९ रनको साझेदारी गरेका थिए। सो साझेदारीले मुम्बईले ५ विकेटको क्षतिमा १ सय ९५ रन बनायो। केकेआरका शिवम माभीले २ तथा सुनील नारान र आन्द्रे रसेलले १÷१ विकेट लिए।

छक्का हान्नेमा गेल अग्रस्थानमा
मुम्बईका कप्तान रोहित शर्मा यो खेलमार्फत आईपीएलमा २ सय छक्का प्रहार गर्ने चौथो खेलाडी बनेका छन्। क्रिस गेल आईपीएलमा छक्का प्रहार गर्ने सूचीमा पहिलो स्थानमा छन्। गेलले कुल ३ सय २६ छक्का प्रहार गरेका छन्। त्यस्तै, दोस्रो स्थानमा रहेका एबी डिभिलियर्सले २ सय १४ छक्का प्रहार गरेका छन्। महेन्द्रसिंह धोनीले २ सय १२ छक्का प्रहार गरेर तेस्रो स्थान हासिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्