क्यानको वर्गीकरणमा सुदूरका ९ खेलाडी



विनोद सिंह विष्ट, बैतडी

नेपाल क्रिकेट संघ क्यानको वर्गीकरणमा बैतडीसहित सुदूरपश्चिम प्रदेशका ९ जना खेलाडी परेका छन्। वर्गीकरणमा परेका देशरभरिका ३९ खेलाडीमध्ये सुदूरपश्चिमका ९ जना अटाएका हुन्। त्यसमध्ये पुरुषतर्फ ३ र महिलातर्फ ६ जना खेलाडी परेका छन्।

ग्रेड ‘ए’ मा कञ्चनपुरका दीपेन्द्रसिंह ऐरी र विनोद भण्डारी परेका छन्। बैतडीका कमलसिंह ऐरी ग्रेड ‘सी’ मा परेका छन्। दीपेन्द्र र विनोदले क्यानबाट मासिक ५० हजार पाउनेछन् भने कमलले ३० हजार रुपियाँ पारिश्रमिक पाउनेछन्।

महिलातर्फ ग्रेड ‘बी’ मा कञ्चनपुरकी बिन्दु रावल र कविता जोशी तथा बैतडीकी रितु कनौजिया परेका छन्। यसैगरी ग्रेड ‘सी’ मा कैलालीकी कविता कुँवर, सोनु खड्का, कञ्चनपुरकी डोली भट्ट र बैतडीकी अञ्जली चन्द परेका छन्। ग्रेड ‘बी’ मा परेका रावल, जोशी र कनौजियाले क्यानबाट मासिक १५ हजार पारिश्रमिक पाउनेछन्। यस्तै, ग्रेड ‘सी’ मा पर्ने कुँवर, खड्का, भट्ट र चन्दले मासिक १२ हजार पारिश्रमिक पाउनेछन्।

नेपाली राष्ट्रिय टोलीका उप–कप्तानसमेत रहेका दीपेन्द्रसिंह ऐरीले आफू ग्रेड ‘ए’ मा परेकोले निकै उत्साहित भएको बताएका छन्। उनले भने– ‘क्रिकेट संघले तलब बृद्धिसँगै वर्गीकरण गर्नु मलगायत अरू खेलाडीका लागि पनि राम्रो पक्ष हो, यसले क्रिकेटमै भविष्य खोज्नेका लागि राम्रो सन्देश दिएको छ।’

यस्तै, क्रिकेट संघले पहिलोपटक महिला क्रिकेटरको पनि वर्गीकरण गरेको छ। यसले गर्दा यहाँका महिला खेलाडी पनि खुसी भएका छन्। पहिलोपटक महिला क्रिकेटरलाई पनि तलब दिने कुराले निकै खुसी लागेको अञ्जली चन्दले बताइन्।

उनले भनिन्– ‘क्रिकेट संघले महिलालाई पनि पारिश्रमिक दिने कुरा राम्रो हो, यसले महिला खेलाडीको हौसला बढाएको छ, यसअघि पुरुष खेलाडीलाई मात्रै तलब दिने गरिएको भए पनि अब महिलाले पनि पाउने भए उनले थपिन्– पुरुषको तुलनामा कम भए पनि महिला खेलाडीलाई क्रिकेटमै टिकिराख्ने आधारको शुरुआत भएको छ।’

क्रिकेटलाई नै जीवन ठानेर लागेका खेलाडीका लागि तलब तोकिनुले उत्साह जागेको महिला क्रिकेटर रीतु कनौजियाले बताइन्।

क्रिकेटको उर्वरभूमि सुदूरपश्चिमबाट क्यानको वर्गीकरणमा ९ जना पर्नु निकै सुखद पक्ष भएको नेपाल क्रिकेट संघ क्यानका सुदूरपश्चिम प्रदेशका सचिव तेजप्रकाश भट्टको भनाइ छ। उनले भने– ‘यस प्रदेशमा भौतिक पूर्वाधारको अभाव हुँदा समस्या रहेको र खेल मैदानलगायत पूर्वाधारको विकासमा जोड दिन सके अझै थुप्रै प्रतिभा बाहिर आउनेछन्।’

क्यानले तोकेको पारिश्रमिक खेलाडीले जनवरीबाटै पाउने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए।

प्रतिक्रिया दिनुहोस्