पहिरोपीडितलाई अस्पतालको सहयोग



जाजरकोट, (नेस)

जाजरकोट बारेकोट गाउँपालिका–४ सार्कीटोलका पहिरोपीडितलाई साइनिङ अस्पताल नेपालले सहयोग गरेको छ । सुर्खेतस्थित कालागाउँमा रहेको साइनिङ अस्पतालले पहिरोपीडित १२ परिवारलाई खाद्यान्नलगायत आवश्यक सामग्री वितरण गरेको हो ।

गत असार २५ गते अविरल वर्षाका कारण दुई घर बगाउँदा पाहुना आएकासहित १२ जनाको ज्यान गएको थियो । सयौं घर–परिवार विस्थापित भएका थिए । पहिरोबाट विस्थापित बारेकोट–४ सार्कीटोलका १२ परिवारलाई अस्पतालले सहयोग गरेको हो ।

पहिरोपीडित प्रतिपरिवारलाई २० लिटरको बाल्टी, एउटा जग, तौलिया, नङकट ४, साबुन ४, ब्रस ४, तुथपेस्ट १, ऐना १ काइँयो ३, स्यानिटरी प्याड, हाइजिन किट सेट हस्तान्तरण गरेको छ । पीडित परिवारलाई २५ किलो चामल, १ लिटर तेल, २ किलो दाल, २ सय ग्राम मसला, दुई बन्डल (९ फिटका) कर्कट पाता, २० फिट प्लेन पाता वितरण गरेको सामाजिक पुनस्र्थापना कार्यकर्ता उदय हमालले बताउनुभयो ।

पहिरोबाट १० वर्षका एक छोराबाहेक घरका सबै सदस्य गुमाएका तुलबहादुर सार्कीले राहत सामग्री पाएका छन् । कमल सार्की, लालबहादुर नेपाली, दानबहादुर नेपाली, नैनबहादुर सिंह, दलबहादुर सिंह, सर्पे कामी, लालवीर कार्मी, हंसबहादुर नेपाली, विष्णु नेपाली, हंसबहादुर सिंहले राहत सामग्री पाएका थिए ।

किसन सार्की र तुलबहादुर सार्कीले परिवारलगायत घरको सर्वस्व गुमाएका छन् भने १० परिवार पहिरोबाट विस्थापित भएर अहिलेसम्म जंगलमै त्रिपाल टाँगेर बसेका छन् ।

बारेकोट गाउँपालिका–४ का वडाध्यक्ष सिर्जना बस्नेत, सदस्य महिमा बोहरा, नेपाल रेडक्रस जाजरकोटका सभापति हरिबहादुर बस्नेत, साइनिङ अस्पतालका उदय हमाल, ज्ञानबहादुर गुरुङलगायतले पहिरोपीडित परिवारलाई राहत सामग्री वितरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्