घरमै पुगेर ललितपुरका प्रमुखले भन्नुभयो– ‘गेट वेल सुन’



ईश्वर ढकाल, ललितपुर

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन बुधबार बिहानै हरिसिद्धि पुग्नुभयो । हरिसिद्धिमा कुनै सभा, सम्मेलन, शिलान्यास, उद्घाटन केही थिएन । नगरप्रमुखसहितको एक समूह त्यहाँ कोभिड संक्रमणका कारण होम आइसोलेसनमा बसेकी किशोरीलाई हौसला बढाउन पुगेको थियो ।

टोलीमा हुनुहुन्थ्यो, महानगरका उपप्रमुख गीता सत्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, ललितपुर महानगरपालिका कोभिड फोकल पर्सन देवी गुरुङ, केस इन्भेटिगेसन कन्ट्याक ट्रेसिङ (सीआईसीटी)को समूह। त्यही क्रममा राष्ट्रसंघीय बालकोष युनिसेफले उपलब्ध गराएको ‘डिग्निटी किट’मा महानगरपालिकाले केही सामग्री थपेर संक्रमितलाई प्रदान गरेको थियो ।

मास्क, पन्जालगायतका सामग्री प्रमुख महर्जनले उक्त किट दिँदै भन्नुभयो– ‘हामी यहाँको स्वास्थ्य लाभको कामना गर्न आएका हौं, आराम गर्नुस्, अप्ठ्यारो पर्दा महानगर यहाँ र यहाँको परिवारलाई सहयोग गर्न तत्पर छ ।’

घरको आँगनमा उभिएका महर्जनले संक्रमितको परिवारको कुरा ध्यान दिएर सुनेपछि चिकित्सक र स्वास्थ्यकर्मीले सुझाएको स्वास्थ्य सतर्कता अपनाउन अनुरोध गर्नुभयो । उक्त किटमा महानगरले सिटामोल र जीवनजल थपेर संक्रमितलाई दिएको थियो ।

उपप्रमुख गीता सत्यालले सान्त्वना दिँदै भन्नुभयो– ‘आत्मबल बढाउनुस्, तपाईं छिट्टै निको हुनुहुनेछ ।’ संक्रमितको कुरा ध्यान दिएर सुनेकी सत्यालले भन्नुभयो– ‘कोभिडसँग लड्न आत्मविश्वास र सतर्कता आवश्यक हुन्छ, त्यो तपाईंमा हामीले देख्यौं, हामी खुसी छौं ।’

वडा नं २८ का वडाध्यक्ष राजेश महर्जनले पनि आफ्नो पालोमा त्यसैगरी हौसला प्रदान गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला पनि सुझावको लाममा सरिक हुनुभयो ।

कोभिड संक्रमितका लागि थप पोषण आवश्यक पर्ने भएकाले उक्त किटमा पोषणयुक्त पीठो थप्ने महानगरपालिकाले जनाएको छ । उक्त पीठो नेपाल युथ फाउन्डेसनले उपलब्ध गराउन लागेको हो । महानगरपालिकाका अनुसार महानगरभित्र तीन सय जना संक्रमित होम आइसोलेसनमा छन् ।

हाललाई असोज १ गतेदेखि संक्रमण देखिएकालाई ‘डिग्निटी किट’ दिइएको छ । किट प्रदानको शुरुआत प्रमुख र उपप्रमुखबाट गरिएको उल्लेख गर्दै अन्य संक्रमितलाई वडामार्फत दिइने महानगरले जनाएको छ । उक्त किटमा स्यानिटाइजर, पानी शुद्धीकरण गर्ने औषधी पियूष, भाँडा माँझ्ने साबुन, मास्क, थर्मोमिटर छन् । महिलालाई दिइने किटमा स्यानिटरी प्याड पनि थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्