ढुंगाभित्र किल्ला : आन्तरिक पर्यटनको केन्द्र



सरस्वती न्यौपाने, रसुवा

जिल्लाको उत्तरगया गाउँपालिका–४ ढुंगेमा रहेको घलेगढी जहाँ विशाल ढुंगा रहेको छ । ढुंगा यति विशाल छ कि, त्यसभित्र सुरुङसमेत रहेको छ जहाँबाट हाम्रा पुर्खाले तिब्बती फौजमाथि तोप वर्षाएर विजय हासिल गरेका थिए ।
गुफामा तिब्बती पक्षबाट हानिएको तोप लागेका डोबहरू आज पनि देख्नसकिन्छ ।

घलेगढी एउटा सिङ्गो पहाडभित्र डरलाग्दो गुफा, गुफाभित्र त्यति बेलाको सैनिकले युद्ध लड्ने सामान, खाना खान मिल्ने, खर–खजाना राख्न मिल्ने ठाउँ रहेको छ । पानीका गाग्री र भाँडाकुँडासमेत राख्ने घरजस्तै संरचना ढुंगाभित्र रहेको गुफामा देखिन्छ ।

घलेगढीको ढुंगामाथि नेपाली फौजी र त्यसभन्दा माथि कमेरेगढी रहेको छ । अन्नतः त्यहाँबाट लखेटिएको तिब्बती फौजसँग रसुवागढीमा सन्धि भयो ।

उत्तरगया गाउँपालिका–४ का वडाध्यक्ष केशरबहादुर बुलुनका अनुसार यस ढुंगाभित्र ढुंगे गाउँका गाउँले आजभोलि गर्मीयाममा शीतलताका लागि आएर बस्ने गर्छन् ।

यहाँ प्रकृतिसँग रमाउन वनभोज खान तथा फोटो खिच्न मात्रै भए पनि दैनिक मानिसको भीड लाग्छ । घलेगढीको अलि पर ठूलो चउर छ, जो पोखरीजस्तै देखिन्छ । त्यहाँ भगवान् शिवले गोसाइँकुण्ड बनाउन पोखरी बनाउँदै गर्दा कुखुराको भाले बसेपछि ओहो यहाँ बस्नुहुँदैन भनेर त्यहाँबाट शिव भगवान् हिँडेको भन्ने किम्बदन्ती रहेको छ ।

गणेश हिमालको मनमोहक दृश्य तथा वन–जंगल, पाखा–पहराले यहाँ आउने जो–कोहीलाई मोहनी लगाउँछ ।
‘पुर्खाले आफ्नो स्वाभिमान, वीरता प्रदर्शन गरेर भावी सन्ततीका लागि जोगाएर राखेको आस्थाको धरोहरलाई नजिकबाट नियाल्न हामी सबैलाई आअ्वान गर्छाैं।’ –वडाध्यक्ष बुलुन भन्नुहुन्छ ।

युद्धको इतिहास
तिब्बतले केरुङ र कुतीबाट नेपालमा आक्रमण गर्ने तयारी गरेको सुइँको पाएपछि बहादुर शाहले पनि युद्ध सञ्चालन गर्ने जिम्मा बलभद्र शाहलाई सुम्पिए । यही आदेश पालना गर्दै कुतीतिर श्रीकृष्ण शाह र केरुङतिर कीर्तिमानसिंह बस्नेत खटिएका थिए । नेपालमा भोटु पाण्डे तिब्बती सेनाद्वारा पक्राउ परेपछि नेपालले थप सैनिक पठायो ।

अन्ततः तिब्बत नेपालसँग सम्झौता गर्न बाध्य भयो । सम्झौताअनुरूप चिनियाँ प्रतिनिधिलाई साक्षी राखेर तिब्बतले वर्षेनी ५० हजार १ रुपियाँ हर्जना तिर्नुपर्ने भयो । पहिलो वर्षमा हर्जाना तिरेपछि १८४७ को साउनमा रकम बुझाउन आनाकानी ग¥यो र पछि २५ हजार रुपियाँ बुझाउन तयार भयो ।

पछिल्लोपटक तिब्बतले प्रभावशाली व्यक्ति स्यामर्पा लामाको खोजी गर्न थालेपछि नेपाली सेनाले तिब्बती वार्ता टोलीका सदस्यलाई घेरा हाली पक्रिएर काठमाडौं ल्याए । झुगाको किल्ला कब्जा ग¥यो, त्यसपछि चीनसमेत नेपालसँग क्रुद्ध हुन पुग्यो । चीनले आफ्नो विशाल सेनासहित १८९४ को असार ११ मा केरुङको नेपाली किल्लामा आक्रमण गरेपछि त्यहाँबाट हटेर आठ कोस टाढाको रसुवागढीमा नेपाली सेना आइपुग्यो ।

चिनियाँ सेनाले लखेट्दै ल्याउँदा नेपाली सेना टिमुरे आइपुगेपछि काठमाडौंबाट हिँडेका थप सैन्य दल र युद्धमा भिडिरहेको नेपाली सेनाको स्याफ्रुबेंसीमा भेट भयो, ठूलो संख्यामा रहेका चिनियाँ सेना सिरानको बाटो भई भोटेकोसी नदी तरेपछि उनीहरूसँग मुकाबिला गर्न नसक्ने देखेपछि बहादुर शाहले चीन–तिब्बतसँग सम्झौता गर्नुपर्ने आवश्यकता महसुस गरे । यस्तो इतिहास बोकेको रसुवागढीका कारण जिल्लाको नाम रसुवा हुनपुग्यो ।

प्रतिक्रिया दिनुहोस्