नेपालमा रेल–वे सेवाको ऐतिहासिक पक्ष



  • माधव पोखरेल ‘गोज्याङ्गे्र’

नेपालमा सर्वप्रथम रेल सेवा बर्दिया जिल्लाको तारातालमा सञ्चालन भएको हो । राणा प्रधानमन्त्री चन्द्र शमशेरको शासनका समयमा वि.सं. १९६२ मा इस्ट इन्डिया कम्पनीले बर्दिया जिल्लाको जङ्गलमा पाइने सखुवाको काठको रेल–वे स्लीपर र ट्रयाक बनाएर भारत लैजानका लागि तत्कालीन राणा सरकारको स्वीकृति लियो । त्यसपछि भारतको बहराइच जिल्लाको निशानगढदेखि नेपालको बर्दिया जिल्लाको तारातालसम्मको करिब २५ किलोमिटर दूरीमा सो रेल सञ्चालन भएको थियो ।

भारतमा सखुवा काठ नपाएका कारण रेल–वेका लागि लिक राख्न आवश्यक पर्ने स्लीपर र ट्रयाक ढुवानी कार्य सकिएपछि सो रेल सेवासमेत बन्द भएको थियो ।

नेपालमा दोस्रो रेल सेवा वि.सं. १९८५ मा राणा प्रधानमन्त्री चन्द्रशमशेरले भारतीय सामान काठमाडौं पु¥याउन र नेपालको काठ भारतमा लगेर बिक्री गर्ने उद्देश्यले भारतको रक्सौलदेखि नेपालको वीरगन्ज हुँदै अमलेखगन्जसम्म ४२ किलोमिटरको दूरीमा एन.जे.आर. (नेपाल गभर्मेन्ट रेल–वे) नामक रेल सेवा सञ्चालन गरेका थिए । यो रेल सेवा त्रिभुवन राजपथको निर्माण भएपछि वीरगन्ज–काठमाडौबीच सीधा बस सेवा सञ्चालन भएकोले वि.सं. २०२४ देखि बन्द भएको हो । सो रेल सेवाका सम्पूर्ण सामानहरु जनकपुर रेल–वेलाई हस्तान्तरण गरिएको र ती सामानहरुमा इन्जिन तथा मालसामान ढुवानी गर्ने मालबाहक डिब्बा र यात्रुबाहक बोगी जनकपुर रेल–वेले प्रयोगमा ल्याएको थियो ।

जनकपुर रेल–वेको पुरानो रेल

वि.सं. १९९४ मा नेपालमा तेस्रो रेलको सञ्चालन भारतको जयनगरदेखि नेपालको जनकपुर हुँदै महोत्तरी जिल्लाको बिजलपुरासम्म ५३ किलोमिटरमा सञ्चालन भएको थियो । तर २०५९ सालको बाढीले महोत्तरीको बिग्ही नदीमा रहेको पुल भत्काएपछि जनकपुरदेखि बिजलपुरासम्मको रेल सेवा पूर्णरुपले बन्द भएको हो ।

यो रेल सेवा वि.सं. १९९० मा गएको महाभूकम्पपछि तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरका समयमा सर्वेक्षण गरी वि.सं. १९९४ मंसिर १६ गते विवाह पञ्चमीका दिनदेखि सञ्चालनमा आएको हो । हाल यो रेल सेवाले जनकपुरदेखि जयनगरसम्मको २९ किलोमिटर दूरीमा मात्र आफ्नो सेवा सञ्चालन गरिरहेको थियो । यो रेल सेवा पनि नेपालको बहुमूल्य काठहरु भारतमा लगेर बिक्री गरी भारतीय सामान नेपाल ल्याउने उद्देश्यका साथ सञ्चालन भएको थियो ।

नेपालमा चौथो रेल सेवाका रुपमा वि.सं. २०११ मा भारत सरकारले सप्तकोशीमा पुल बनाउन लाग्दा त्यहाँ आवश्यक पर्ने ढुङ्गा बाराह क्षेत्र चतरादेखि भारतको वीरपुर र बथनाहासम्म लैजानका लागि भारत सरकारले सञ्चालन गरेको थियो, जसलाई ढुङ्गे रेल भनेर चिनिन्थ्यो । भारतले भने यो रेललाई कोशी प्रोजेक्ट रेल–वे (के.पी.आर.) भनी नामाकरण गरी चतरा बाराह क्षेत्रका ढुङ्गाहरु ओसार्ने काम गर्दथ्यो । यो रेल सेवा न्यारो गेजको थियो भने वि.सं. २०३५।०३६ सम्म पनि यो रेलले ढुङ्गा ओसार्ने काम गरिरहेको थियो ।

नेपालमा अर्को रेल सेवा काठमाडौंको मातातीर्थदेखि लैनचौरसम्मको १० किलोमिटरको दूरीमा सञ्चालन थियो । यो रेल सेवा कसले, कहिले सञ्चालन गरेको हो भन्ने कुराको भेद खुल्न नसके पनि हेटौंडा र काठमाडौंबीच रोप–वे सेवा सञ्चालन भएपछि रोप–वेबाट आएका सामानहरु ढुवानी गर्ने उद्देश्यले यो रेल सेवा सञ्चालनमा आएको थियो भनिन्छ । मातातीर्थ रेल–वेका नामले चिनिने यो रेल सेवा डिजलबाट सञ्चालन हुन्थ्यो भने यसअघिका सबै रेल सेवा कोइलाबाट सञ्चालित थिए ।

नेपालको छैटौँ रेल सेवाका रुपमा भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुले तत्कालीन राजा त्रिभुवनलाई उपहारस्वरुप दिएको रेल हो । सो रेल हाल भृकुटी मण्डपमा रहेको छ भने उक्त रेल गोपाल रेल वा बाल रेलका नामले चिनिन्छ । यसरी नेपालमा जम्मा ६ बटा रेल सेवा सञ्चालनमा आएको देखिए पनि स्थायित्व भने जनकपुर–जयनगर रेल सेवाले मात्र पाएको छ । पहिले यातायात संस्थानको एक अङ्गका रुपमा रहेको जनकपुर रेल–वे यातायात संस्थानको वि.सं. २०५८ मंसिर मसान्तमा विघटनपश्चात् वि.सं. २०६१ जेठ १८ गते कम्पनी ऐनमा दर्ता भई नेपाल रेल–वे कम्पनीका नामले हाल सञ्चालनमा रहेको थियो ।

नेपाल सरकारले रेल–वेको विकासका लागि पटक–पटक गरी अर्बौं रुपियाँ खर्च गरेको भए पनि ती खर्चहरु सबै बालुवामा पानी हालेसरह नै भएकोमा हाल आएर रेल सेवाले निरन्तरता पाउने भएको छ । हाल नेपाल सरकारले रेल–वेको विकासका लागि नेपाल रेल–वे विभाग गठन गरेको छ तर काम भने कछुवा गतिमा भैरहेको छ ।

भारत सरकारले भारतको जयनगरदेखि नेपालको धनुषा जिल्लाको जनकपुर महोत्तरीको बिजलपुरा हुँदै बर्दिबाससम्मको करिब ७१ किलोमिटरको दूरीमा ब्रोडगेज रेल–वे सञ्चालनका लागि सर्वेक्षण गरी अन्य कामहरु जग्गा अधिग्रहणदेखि ठेक्कामार्फत निर्माणसम्बन्धी कामसमेत शुरु गरिसकेको छ । तर नेपालका तर्फबाट रेल–वेका लागि जग्गा अधिग्रहण गर्ने काम भए पनि जग्गाको मुआब्जा वितरण गर्ने काम गर्न नसक्दा भारतले गर्ने भनिएको रेल–वेसम्बन्धी कार्य नै अलपत्र परेको थियो ।

पछि रेल–वेसम्बन्धी समस्याहरु समाधानपश्चात् करिब ४ सय ७० बिघा जग्गा जनकपुर रेल–वेसँग रहेको भए पनि त्यसको सही रुपले सदुपयोग हुन सकेको देखिँदैन । ब्रोडगेज रेल सञ्चालनका लागि हाल नेरो गेजको रेल–वे लिकलाई बढाउनुपर्ने भएकोले सोका लागि आवश्यक जग्गा स्थानीय जनताबाट अधिग्रहण गरिए पनि मुआब्जा वितरणका लागि रकम निकासा नहुँदा आर्थिक समस्याले गर्दा काम रोकिएको थियो ।

नेरो गेजलाई विस्थापित गरी ब्रोड गेजको ट्रयाक निर्माण गर्दा केही वर्ष रेल–वेको नियमित सेवा स्थगित भएकोमा आउँदो तिहारपश्चात् नियमित सेवा जयनगर–जनकपुर–कुर्थासम्म सञ्चालन हुने बुझिएको छ ।
(लेखक नेपाल समाचारपत्रका जनकपुरस्थित पूर्वसमाचारदाता हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्