भारतले गर्यो डेढ अर्ब सहयोग



काठमाडौं, (नेस)

नेपालमा भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले मंगलबार १ अर्ब ५४ करोड रुपियाँ प्रदान गरेको छ ।
नेपालस्थित भारतीय राजदूतावासले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार नियोग उप–प्रमुख नामग्य खम्पाले अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानालाई भारत सरकारले आवास तथा विद्यालय पुनर्निर्माणका लागि गरेको प्रतिबद्धताअनुरूप नेरु १ अर्ब ५४ करोड (भारु ९६ करोड) को चेक हस्तान्तरण गर्नुभएको हो ।

भारत सरकारले आवास परियोजनाअन्तर्गत नेपाललाई १५ करोड अमेरिकी डलर बराबर अनुदान सहायता उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो ।

चेक हस्तान्तरणसँगै भारतले आवास क्षेत्रको पुनर्निर्माणका लागि नेपाल सरकारलाई अनुदान सहायताको ७ करोड २० लाख अमेरिकी डलर बराबर उपलब्ध गराइसकेको पनि विज्ञप्तिमा जनाइएको छ ।

भारत सरकारले गोरखा र नुवाकोट जिल्लाका ५० हजार निजी आवास पुनर्निर्माणका लागि गरेको प्रतिबद्धतामध्ये ९२ प्रतिशत घरधुरीको निर्माण सम्पन्न भइसकेको बताइएको छ ।

यस्तै भारत सरकारले ५ करोड अमेरिकी डलर अनुदान सहायताअन्तर्गत ७० वटा विद्यालय र एक पुस्तकालयको पुनर्निर्माणका लागि पनि सहयोग प्रतिबद्धता गरेको छ ।

यसमध्ये भारत सरकारले विद्यालय पुनर्निर्माण तर्फको ४२ लाख अमेरिकी डलर बराबरको पहिलो किस्ता नेपाल सरकारलाई उपलब्ध गराइसकेको छ ।

‘भूकम्पपछिको पुनर्निर्माणतर्फको प्रयासमा नेपाल सरकार तथा नेपाली जनतालाई निरन्तर सहयोग गर्न भारत सरकार प्रतिबद्ध रहन्छ।’ –विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्