शिक्षक संक्रमित भएको पालिकामा खुले अधिकांश विद्यालय



न्युज अफ नेपाल,हेटौंडा ।

स्थानीय तहमा साउन दोस्रो साता कोरोना संक्रमित नभेटिएपछि हेटौंडा नगरसँग सीमा जोडिएको मकवानपुरगढी गाउँपालिकाले विद्यालय खोल्ने निर्णय नै ग¥यो । सिफ्टमा ‘सुरक्षा उपाय अपनाएर पठनपाठन सुरु गर्न सकिने’ उसले बताएको थियो । जबकि, केन्द्रीय सरकारले शैक्षिक संस्था खोल्न प्रतिवन्ध लगाएको अबस्था थियो ।

पालिकाको शिक्षा समितिले विद्यालय खोल्न ‘सहमति’ दिएपछि भानु माध्यमिक विद्यालयले पढाइ नै सुरु ग-यो । कक्षा–८ देखि १२ सम्म विहान ८ देखि १२ बजेसम्म र १ देखि ७ सम्मको कक्षा सञ्चालन भयो । करिब २ सय जनाको हाराहारीमा विद्यार्थी विद्यालय जान थाले । विद्यालयमा करिब ५ सय विद्यार्थी छन् । कक्षा–१० सम्म अंग्रेजी माध्यममा पढाइ हुने भएकाले विद्यालय खुलेको समयमा केही अभिभावकले आफ्ना सन्तानलाई भर्ना गर्न पनि ल्याए ।

तर, प्रवि तहका एक शिक्षकको परिवारका सदस्यलाई कोरोना संक्रमण देखियो । कट्याक्ट ट्रेसिङका क्रममा शिक्षकको पनि स्वाब संकलन गरेर परीक्षण गर्दा संक्रमण पुष्टि भयो । त्यसले सिंगो गाउँ त्रासमा प-यो ।शिक्षकको प्रत्यक्ष सम्पर्कमा रहेका अन्य शिक्षकले कोरोना परीक्षणका लागि स्वाब दिए । थप तीन शिक्षकमा पनि कोरोना संक्रमण पुष्टि भयो ।

उनीहरुमध्ये दुई प्राथमिक र एक माध्यमिक तहका शिक्षक थिए ।सोही पालिकाका अधिकांश विद्यालय हाल खुला भएका छन् । कोरोना भाइरसले पठनपाठन ठप्प रहेका करिब ९० प्रतिशत विद्यालय खुल्न थालेका हुन् । संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका–२०७७ जारी भएपश्चात् स्थानीय तहले विद्यालय सञ्चालन सुरु गरेको हो ।

विद्यालयले भर्ना असारमा गरे पनि असोजबाट निर्देशिकाअनुरुप विद्यालय सञ्चालन गरिएको पालिका शिक्षा शाखा अधिकृत रामबहादुर घलानले बताउनुभयो ।उहाँले पालिकामा ९० प्रतिशत विद्यालय सञ्चालनमा आएका र केही सञ्चालनको तयारीमा रहेको बताउनुभयो । निर्देशिकाअनुरुप आफ्नो अनुकूलताअनुसार विद्यालयको परिवेश हेरी सबै विद्यालय सञ्चालन गर्न पालिकाबाट परिपत्र गरिए पनि केही कठिनाइका कारण केही विद्यालय सञ्चालन नभएको घलानले बताउनुभयो ।

सञ्चालित विद्यालयले सहजीकरण कार्यविधि बनाएर कोरोना जोखिमबाट बच्न सामाजिक दुरी कायम गरी, मास्क तथा स्यानिटाइजर प्रयोग गरेर पठनपाठनमा सहजीकरण गरेको उहाँले दाबी गर्नुभयो । मकवानपुरगढी–५ मा रहेको शारदा माध्यमिक विद्यालयले सातामा ३ दिन कक्षा–१ देखि ७ कक्षासम्म र ८ देखि १० सम्म ३ दिन पठनपाठनमा सहजीकरण गरेको विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर कार्कीले बताउनुभयो ।

भर्ना कम भएको र विद्यार्थीहरु विद्यालय कम आएको बताउँदै प्रधानाध्यापक कार्कीले आफूहरुले सामाजिक दुरी, मास्क अनिवार्य र स्यानिटाइजर प्रयोग गरी विद्यालय सञ्चालन गरिएको दाबी गरे पनि स्थानीय भने मास्क प्रयोग निकै कम भएको दाबी गर्छन् । मकवानपुरगढीमा ९ वटा माध्यमिक, ७ वटा निम्न माध्यमिक र २३ वटा प्राथमिक विद्यालय छन् । ती विद्यालयमा आधारित ५४ वटा बालविकास केन्द्र छन् । हेटौंडामा विद्यार्थी वर्गीकरण जारी छ ।

कोरोना महामारीले तत्काल विद्यालय खुल्ने सम्भावना नरहेपछि शिक्षा मन्त्रालयले वैकल्पिक व्यबस्थाबाट विद्यार्थीलाई पठनपाठन गराउन भनेको हो । त्यसका लागि मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका स्वीकृत गरेको छ । कोरोना भाइरस महामारीका कारण सिर्जित परिस्थितिमा बालबालिका विद्यालय जान सक्ने अबस्था नभएकाले विद्यार्थीमा पर्न जाने क्षतिलाई न्यूनीकरण गर्न नेपाल सरकारले वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण निर्देशिका जारी गरेको हो ।

विद्यालय खुलेर नियमित पठनपाठनको सहज अबस्था सिर्जना नहुञ्जेल खुला तथा दुर शिक्षालगायत वैकल्पिक शिक्षा प्रणालीबाट सिकाइ सहजीकरण गर्न निर्देशिका ल्याइएको मन्त्रालयले जनाएको छ ।सरकारले विद्यालय खुला गरी पठनपाठन सञ्चालन गर्ने सम्बन्धमा हालसम्म कुनै निर्णय गरेको छैन । कोरोना महामारीको अबस्था र परिस्थिति हेरेर मन्त्रिपरिषद्बाट प्राप्त हुने निर्देशनअनुसार जानकारी गराइने मन्त्रालयले भनेको छ । निर्देशिकामा प्रविधिका माध्यमबाट पठनपाठन गर्न सकिने उल्लेख छ । इन्टरनेट, रेडियो, टिभी, अनलाइन र अफलाइनबाट पठनपाठन गर्न सकिन्छ ।

आफ्नो विद्यालयमा २०७६ सालको शैक्षिक सत्रमा कायम गरेको भर्ना अभिलेखअनुसार विद्यार्थीको नामनामेसी, आमाबाबुको नाम÷ठेगाना तथा सम्पर्क र स्रोत/साधनको पहु“चको अबस्थासमेत खुल्ने गरी विद्यालयमा अध्ययनरत् विद्यार्थी कुन वर्गमा पर्छन् भन्ने विवरण विद्यार्थी बसोबास गरिरहेको स्थानीय तहलाई उपलब्ध गराउनुपर्ने व्यबस्था गरिएको छ ।

स्थानीय तहले विभिन्न विद्यालयमा अध्ययनरत् विद्यार्थी, विद्यालयबाहिर रहेका, अन्य स्थानमा अध्ययन गरिरहेका तर हाल स्थानीय तहको गाउँघर वा स्थायी ठेगानामा बसिरहेका प्रारम्भिक बाल विकास तहदेखि विद्यालय शिक्षाका सबै बालबालिकाको विवरण तयार गरी समूहगतरुपमा वर्गीकरण गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।

विद्यालय खुल्ने मेसो नभएकोले सिकाइ सहजीकरणका लागि कुनै पनि प्रविधिको पहँ“चभन्दा टाढा रहेका, एफएम तथा रेडियोको पहुँचमा रहेका, टेलिभिजनको पहुँचमा रहेका, कम्प्युटर भएको तर इन्टरनेटको पहुँच नभएका र इन्टरनेटको पहुँच भएका समूह गरेर पाँच वटा समूहमा विद्यार्थी वर्गीकरण थाल्न सरकारले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्