पहिरोमा पुरियो वडा कार्यालय



न्युज अफ नेपाल,हेटौंडा ।

करिब दुई वर्षअघिमात्र निर्माणसम्पन्न भएको वडा कार्यालय अविरल वर्षाका कारण पहिरोमा पुरिएको छ । मकवानपुरको बिकट राक्सिराङ गाउँपालिका वडा नम्बर–५ स्थित कुत्तसिंमा रहेको वडा कार्यालय बिहीबार पुरिएको हो । २ वर्षअघि मात्र गाउँपालिकाको १५ लाख लगानीमा वडा कार्यालय भवन निर्माण गरिएको थियो । पहिरोले कार्यालय भवनमा पूर्ण क्षति पु¥याउँदा नयाँ भवन बनाउनुपर्ने भएको छ ।

पहिरोका कारण वडा कार्यालयमा ठूलो क्षति पुगेको वडा सचिव सन्ध्या न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोले कार्यालयभित्रका सबै सामग्री पुरेको छ । मानवीय क्षति भने भएन । ‘वडा कार्यालय डोजरले खारेर बनाइएको हो, वर्षाका कारण माथिबाट पहिरो आएको हुनसक्छ ,’ उहाँले भन्नुभयो ।

बिहीबार दिउँसो वडा कार्यालयमाथिबाट पहिरो खस्दा कार्यालयको ३ कोठे भवनमा पूर्णक्षति पुगेको वडाध्यक्ष चन्द्रसिं प्रजाले बताउनुभयो । उहाँका अनुसार कार्यालयको तलतिरबाट पनि पहिरो गएको छ । कार्यालयमाथिबाट पहिरो खस्न थालेपछि कर्मचारीको भागदौड भएको थियो ।

कम्प्युटर र प्रिन्टरलगायत कागजपत्र सबै पहिरोले पुरेको वडाध्यक्ष प्रजाले बताउनुभयो । एक्कासी कार्यालयमाथिबाट पहिरो झर्न थालेपछि कर्मचारीहरु भागेर बाहिर निस्किए पनि कार्यालयका सामानहरु भने झिक्न नभ्याइएको वडाध्यक्ष प्रजाले बताउनुभयो । वडा सदस्य सुरेश घलानले पहिरोका कारण वडा कार्यालयका २ वटा कोठामा बढी क्षति भएको बताउनुभएको छ ।

राक्सिराङमा वर्षाका कारण एक गाउँबाट अर्को गाउँसम्म जान नसकिने स्थिति सिर्जना भएको छ । मंगलबारदेखि निरन्तर परेको झरिका कारण ठाउँठाउँमा पहिरो खसेको पालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो ।मंगलबार वडा नम्बर–६ को सिलिंगेमा पहिरोले बगाएर १७ वटा बाख्रा मरेको छ ।

सुकबहादुर चेपाङका १७ वटा बाख्रा जंगलमा चराएर घर ल्याउँदै गर्दा बाटोमा पहिरो गएर बगाएको हो । बाख्रा भन्दा केही पछाडि भएकोले सुकबहादुरलाई केही नभएको पालिका अध्यक्ष मल्लले जानकारी दिनुभयो । पालिकाका अन्य स्थानमा पनि पहिरो गइरहेको अध्यक्ष मल्ल बताउनुुहन्छ ।बिहीबार दिउँसोबाट धेरै ठाउँमा पहिरो खस्न थालेको छ । पहिरोका कारण मानिसहरु आवतजावत गर्न पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्