शनिवारदेखि खानीडाँडा र थामखर्क विमानस्थलमा नियमित उडान



रामधन राइ,खोटाङ ।

असोज–८, छ महिनादेखि बन्द रहेको खोटाङस्थित मनमायाँ राई खानीडाँडा र थामखर्क विमानस्थलमा यही शनिबारदेखि नियमित उडान हुने भएको छ । कोरोना भाइरसको कारण सरकारले जारी गरेको लकडाउन खुलेसँगै नेपाल वायु सेवा निगमको हवाईजहाजले नियमित उडान भर्ने भएको हो ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार नजिक पर्ने खानीडाँडा विमानस्थलमा हप्ताको दुई पटक बुधबार र शनिबार तथा दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थमा हप्ताको बुधबार उडान भर्नेगरी वायु सेवा निगमले कार्यतालिका सार्वजनिक गरेको छ ।

खानीडाँडा–काठमाडौँका लागि एकतर्फी भाडा प्रति यात्रु चार हजार ७ सय ४० निर्धारण भएको खानीडाँडा विमानस्थलका प्रमुख नवराज कटवालले बताउनुभयो ।कटवालका अनुसार यसअघि नियमित उडान हुँदै आएको खानीडाँडा–बिराटनगरको उडान भने तत्कालका लागि नहुने भएको छ ।

उता, थामखर्क विमानस्थलका लागि भने एकतर्फी भाडा प्रति यात्रु चार हजार ३ सय ८५ निर्धारण गरिएको जनाइएको छ । नियमित उडान हुने भएपछि कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न विमाननस्थलले सार्वजनिक सूचना जारी गरेर सचेतता अपनाउन अनुरोध गरेको छ ।

यात्रुलाई लिन तथा लैजान प्रयोग गरिने सवारी साधनहरु गेट बाहिर राख्नु पर्ने, विमानस्थल हाताभित्र छिर्नुपूर्व यात्रुको ज्वरो नाप्ने तथा ब्यागेज निर्मलिकरण गर्नुपर्ने, टर्मिनल हल प्रवेश गर्नु अगाडि हात धोएको हुनु पर्ने लगायतका सर्त उल्लेख गरिएको छ ।

यस्तै, यात्रा अवधिभर आफूलाई चाहिने पानी, स्यानिटाइजर तथा जगेडा मास्क यात्रु आफैले बोक्नुपर्ने जनाइएको छ । यात्रुमा सामान्य ज्वरो आएको तथा कोरोना भाइरससम्बन्धी कुनै लक्षण देखिएमा उक्त यात्रुलाई यात्रा गर्न नदिइने विमानस्थलले जारी गरेको सूचनामा उल्लेख छ ।

जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थलमा भने तत्काल उडान नहुने भएको छ । लामीडाँडा विमानस्थलमा पनि चाँडै नियमित उडान भर्ने पहल भइरहेको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्