उत्तरदायी र पारदर्शीरुपमा लाइसेन्स वितरण गर्नुस : मुख्यमन्त्री शाही



दिपेन्द्र शर्मा,सुर्खेत ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उत्तरदायी र पारदर्शीरुपमा लाइसेन्स वितरण गर्न निर्देशन दिनुभएको छ । कर्णाली प्रदेशको सुर्खेतवाट पहिलो पटक गरिएको लाइसेन्स वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रि शाहीले यातायात ब्यवस्था कार्यालय सुर्खेतका कर्मचारीहरुलाई लाइसेन्स लिन भनसुन र पहुँच भन्दा पनि उत्तरदायी र पारदर्शीरुपमा नागरिकलाई नयाँ लाइसेन्स वितरण गर्न निर्देशन दिनुभएको हो ।

पहुँचको भरमा लाइसेन्स वितरण हुन्छ भन्ने बुझाई जनस्तरमा रहेकाले त्यसलाई चिरेर उत्तरदायी र पारदर्शीरुपमा लाइसेन्स वितरण गर्न निर्देशन दिनुभयो । पहुच र भनसुनबाट लाइसेन्स वितरण गरिँदैन भन्ने सन्देश प्रवाह तथा नागरिकलाई सहज सेवा प्रदान गर्न कर्मचारीको भुमिका महत्वपुर्ण हुने मुख्यमन्त्रि शाहीले वताउनुभयो ।

“नयाँ लाइसेन्स लिन नेपालगञ्ज जानुपर्ने बाध्यताको अन्त्य गर्दै सबै सेवा सुर्खेतबाट प्रवाह गर्दा सेवाग्राहीलाई सहज भएको छ” मुख्यमन्त्रीले भन्नुभयो । “कामको चाप थपिएसँगै उत्तरदायी र पारदर्शी सेवा प्रवाहमा कुनै कञ्जुसाई नगर्नुस” उहाँले भन्नुभयो ।’

मुख्यमन्त्री शाहीले सुर्खेतबाटै लाइसेन्स छपाई प्रक्रिया अघि बढाउन सरकारले गृहकार्य गरेको जनाउनुभयो । संघीयताले नागरिकलाई सहज, छिटो र छरितो सेवा प्रवाह गर्ने अधिकार प्रत्यायोजन गरेकाले महिनौं लगाएर काठमाडौंकै भर पर्नुपर्ने बाध्यता अन्त्य गर्ने गृहकार्यमा सरकार लागेको उहाँले जानकारी दिनुभयो ।

नागरिकहरुलाई पारदर्शी सेवा प्रवाह गरेर घरमै लाइसेन्स पु¥याइदिने तयारी अब कार्यालयले गर्नुपर्छ त्यसका लागि सरकारले सक्दो सहयोग गर्छ मुख्यमन्त्रि शाहीले भन्नुभयो ।

कर्णालीमा लाइसेन्स वितरण शुरु

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरवाट नयाँ लाईसेन्स वितरण शुरु गरिएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्रि महेन्द्रवहादुर शाहीले आज एक कार्यक्रमका विच सेवाग्राहीलाई लाई नयाँ लाइसेन्स वितरण गर्नुभयो ।

गत माघ ६ गतेबाट नयाँ लाइसेन्स सेवा शुरु गरेको कर्णाली प्रदेशको यातायात ब्यवस्था कार्यालय सुर्खेतले बिहीवार मुख्यमन्त्रि शाहीको उपस्थितीमा पाँचसय ५३ वटा नयाँ लाईसेन्स वितरण गरिएको छ ।

गत माघबाटै सेवा शुरु गरिएपनि छपाइ गर्न काठमाडौं पठाउनु पर्ने र कोभिड–१९ का कारण पनि वितरण प्रक्रिया ढिला भएको यातायात ब्यवस्था कार्यालयका प्रमुख आनन्द चपाइँले जानकारी दिनुभयो ।

उहाँका अनुसार नयाँ लाइसेन्सबाट मात्रै ८ लाख ९२ हजार राजश्व संकलन भएको छ । कार्यालयले गत आर्थिक वर्षमा १० करोड ७३ लाख राजश्व संकलन गरिएको पनि प्रमुख चपाइँले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्