बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त



काठमाडौं ।नेपाली कांग्रेसले अविरल वर्षाका कारण स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा आज बिहान गएको पहिरोमा एकै परिवारका नौ जनाको मृत्यु र एक जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

त्यसैगरी कांग्रेसले स्याङ्जाकै कालीगण्डकी गाउँपालिका–४ मा एक जनाको मृत्यु, पाल्पाको रम्भा गाउँपालिकामा पहिराले घर पुरिदा पाँच जना बेपत्ता र कपिलवस्तुको बनगाई–डोहोट सडकखण्डअन्तर्गत कोइली खोलामा पजेरो जीप खोलाले बगाउँदा एक जनाको मृत्यु र एक जना बेपत्ता भएको घटनाप्रति पनि दुःख व्यक्त गर्दै सम्पूर्ण पीडितहरुको संवेदनशीलताप्रति सहानुभूति प्रकट गरेको छ ।

पहिरोमा परी जीवन गुमाउनुभएका सबैमा श्रद्धाञ्जलि अर्पण र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै काग्रेसले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै काग्रेसले बेपत्ताको खोजी कार्यलाई तीव्रता दिन, पीडित परिवारलाई राहत र स्वास्थ्योपचारको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

युनियनको निर्वाचन रोक्नु दुःखद्

नेपाली कांग्रेस श्रमिक तथा ट्रेड युनियन विभागले सरकारले निजामती कर्मचारीको आधिकारिक युनियनको निर्वाचन पटकपटक सार्ने कार्य गरी संविधानप्रदत्त मौलिक हकको हनन् गरेको आरोप लगाएको छ ।

विभागका प्रमुख शिवप्रसाद हुमागार्इँले आज एक विज्ञप्तिमार्फत संविधानको धारा १७ बमोजिम सङ्घसंस्था खोल्न पाउने र धारा ३४ बमोजिम युनियन खोल्ने र सामूहिक सौदाबाजी गर्न पाउने नैसर्गिक अधिकारमा हस्तक्षेप गरेको उल्लेख गर्नुभएको छ ।

कांग्रेसले कुनै पनि वर्ग र समुदायको लोकतान्त्रिक अधिकारमाथि हुने अतिक्रमणको भत्र्सना गर्ने उल्लेख गर्दै उहाँले निर्वाचनको घोषणा गरेर अन्तिम तयारी भइसकेको अवस्थामा विभिन्न बहनाबाजी गरी गरिएको निर्णय सच्याउन र आधिकारिक युनियनको निर्वाचन तोकिएकै मितिमा गराउन सरकारसँग माग गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्