हिरासतमा भएको मृत्यु प्रकरणमा प्रहरी उपरिक्षक देखि जवानसम्मलाई कारवाही सिफारिस



सञ्जय कार्की, रौतहट ।

प्रहरी हिरासतमा एक किसोरको मृत्यु प्रकरणमा तत्कालिन प्रहरी उपरिक्षक देखि जवान सम्मलाई कसुर अनुसारको सजाय हुनु पर्ने सिफारिस छानबिन समितिको प्रतिबेदनमा उल्लेख रहेको छ ।

ईलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेका गरुडा नगरपालिका–५ जिगडिया निबासी बिजय रामको मृत्यु भएपछि गृहमन्त्रालयले गठन गरेको छानबिन समितिले प्रहरी उपरिक्षक रबीराज खडका, प्रहरी नायब उपरिक्षक ज्ञान कुमार महतो, प्रहरी निरिक्षक नबिन कुमार सिह, प्रहरी नायव निरीक्षक विरेन्द्र यादव, प्रहरी हवलदारद्धय हिरोज मिया धुनिया र मुन्नु सिंह, प्रहरी जवान अजय यादब र रुपेश कुश्वाहा लाई सजायको सिफारिस गरेको जनाइएको छ ।

गएको साउन ३१ गते गरुडा नगरपालिका– ८ जिगडिया निबासी २० बर्षिय निरञ्जन रामको घाँटी रेटी हत्या गरेको आरोपमा साउन ३२ गते पक्राउ परेका १९ बर्षिय विजय रामको हिरासतमा भएको यातना बाट मृत्यु भएपछि गृहमन्त्रालयले ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिब डोलेन्द्र निरौलाको संयोजकत्वमा भदौ १३ गते गठन गरेको तीन सदस्यीय छानबिन समितिले बुझाएको प्रतिबेदनमा कसुर अनुसारको सजायको सिफारिस रहेको जनाइएको छ ।

यातनाबाट घाईते भएका बिजय रामको नेशनल मेडिकल कलेज शिक्षण अस्पताल बीरगजमा उपचारको क्रममा भदौ १० गते मृत्यु भएको थियो । उनी संगै पक्राउ परेका सिकिन्द्र पासवान लाई समेत यातना दिइएको थियो । छानबिन समितिले प्रहरी उपरिक्षक खडकाको कमाण्ड कमजोर रहेको उल्लेख गरेको छ । यस्तै प्रहरी नायब उपरिक्षक ज्ञान कुमार महतोको कार्यकक्षमा रहेको हिरासतमा भएको घटनामा अनभिज्ञ रहेकोले पुन छानबिन हुनु पर्ने, यस्तै प्रहरी निरिक्षक सहित जवानको हकमा कानुन बमोजिम कारवाही हुनुपर्ने सिफारिस गरिएको छ ।

यसअघिनै प्रहरी उपरिक्षक खडका लाई प्रहरी प्रधान कार्यालय र प्रहरी नायब उपरिक्षक ज्ञान कुमार महतो र प्रहरी नायब निरिक्षक बीरेन्द्र यादब लाई प्रदेशनम्बर २ प्रहरी कार्यालय जनकपुर तानिएको थियो भने प्रहरी निरिक्षक नबिन कुमार सिह, प्रहरी हवल्दारद्धय हिरोज मिया धुनिया र मुन्नु सिंह निलम्बनमा परेका छन । घटना प्रकरणमा जोडिएका प्रहरी जवान अजय यादब र रुपेश कुश्वाहा भने कार्यरत रहेको जनाइएको छ ।

छानविन समितिले गएको असोज १ गते गृह मन्त्रालयमा प्रतिबेदन बुझाएपछि सोको कार्यान्वयनको लागि प्रहरी प्रधान कार्यालयमा पत्राचार भएको स्रोतले जनाएको छ । उता प्रहरी हिरासतमा मृत्यु भएका बिजय रामको बुवा पनिलाल रामले जिल्ला सरकारी वकिलको कार्यालयमा भदौं २४ गते कर्तब्य ज्यान र यातनाको जाहेरी दर्ता गराएको र सोको कारबाही र अनुसन्धानको लागि जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाएपछि भदौ २५ गते मुद्दा दर्ता भएको छ । छानबिन समितिका संयोजक डोलेन्द्र निरौलाले प्रतिबेदनमा उल्लेख गरिएका बिषय आफुले बताउन नमिल्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्