राजस्थानद्वारा चेन्नई पराजित



शारजाह, (एजेन्सी)

शारजाहमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को १३औं संस्करणअन्तर्गत मंगलबार भएको खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई १६ रनले हराएको छ।

शारजाहमा भएको खेलमा रोयल्सले २ सय १७ रनको ठूलो लक्ष्य दिएको थियो। यसको जवाफमा चेन्नईले ६ विकेटको नोक्सानीमा २ सय रन मात्रै बनाउन सकेको थियो। आईपीएलमा रोयल्सले चेन्नईलाई हराएको यो दोस्रोपटक हो। यसअघि २०१० को आईपीएलमा रोयल्सले चेन्नईलाई १७ रनले हराएको थियो।

रोयल्सलाई जित दिलाउन सन्जु सेमसन र स्पिनर राहुल तेबतिया नायक बने। सेमसनले ३२ बलमा ७४ रनको सानदार ब्याटिङ गर्दा तेबतियाले चेन्नईका तीन खेलाडीलाई आउट गरेका थिए। उनले सातौं ओभरमा जमिरहेका वाटसनलाई आउट गरे भने यसै ओभरको अन्तिम दुई बलमा सेमकरण र रितुराज गायकवाडलाई शून्यमै पवेलियन फर्काएका थिए।

यसअघि रोयल्सले ७ विकेटको क्षतिमा २ सय १६ रन बनाएको थियो । यो यूएईमा आईपीएलमा सबैभन्दा ठूलो स्कोरसमेत हो। यसअघि २०१४ मा किंग्स इलेभेन पन्जाबले चेन्नईविरुद्ध नै २ सय ६ रनको ठूलो स्कोर बनाएको थियो। रोयल्सका कप्तान स्टिभ स्मिथले सर्वाधिक ६९ रनको योगदान दिए। अर्का ब्याट्सम्यान सेमसनले १९ बलमै अर्धशतकीय प्रहार गरे।

तर, जोफ्रा आर्चरले ८ बलमै २७ रन बनाउँदा रोयल्सलाई ठूलो स्कोरमा पुग्न मद्दत मिलेको थियो। उनले लुंगी एन्गिडीको एकै ओभर ४ छक्का प्रहार गरेका थिए। यदि, एन्गिडीले यति महँगो ओभर नफ्याँकेको भए सायद चेन्नईले जित हात पार्न सक्ने थियो। चेन्नईको बलरमा सेमकरणले ३ विकेट लिए भने दीपक चाहर, एन्गिडी र पीयूष चावलालले १–१ विकेट हात पारेका थिए।

चेन्नईका लागि कप्तान महेन्द्रसिंह धोनी १५ करोडमा अनुबन्ध भएका हुन्। यति महँगो खेलाडीले सातौं नम्बरमा आएर ब्याटिङ गरेर २९ रन जोडेका थिए। तर, उनले टोलीलाई जित दिलाउन सकेनन्। अर्का महँगा खेलाडी केदार जाधवलाई ७ दशमलव ८० करोडमा किनेको थियो। केदारले पनि केवल २२ रनको योगदान दिए।

रोयल्सका लागि भने स्मिथ १२ दशमलव ५० करोडका खेलाडी हुन्। स्मिथले पैसाअनुसारको खेल पनि पस्के। उनले ६९ रन बनाएका थिए । त्यस्तै, सेमसन ८ करोडका खेलाडी हुन, उनले ७४ रनको सानदार इनिङ खेले। टिमका श्रेयस गोपाल र रैयान पराग २०÷२० लाखमा अनुबन्ध भएर सस्ता खेलाडी बने। जसमा गोपालले १ विकेट लिए भने परागले ६ रनमै पवेलियन फर्कनुपरेको थियो।

२० करोड दर्शकले हेरे खेल
आईपीएलअन्तर्गत चेन्नई र रोयल्सबीचको खेल टिभीमा २० करोड दर्शकले हेरेको बीसीसीआईले दाबी गरेको छ। बीसीसीआईका सचिव जय शाहले ट्वीटरमार्फत भने– ‘चेन्नई र राजस्थानबीचकोे खेल हेर्ने दर्शकको संख्या २० करोड रहेको छ। यो विश्वका कुनै पनि खेलको प्रारम्भिक खेल हेर्ने दर्शकको हिसाबले कीर्तिमानी दर्शक संख्या हो।’

३३ छक्का
राजस्थान रोयल्स र चेन्नई सुपर किंग्सबीचको खेलमा छक्काको वर्षा भएको छ। यो खेलमा ३३ छक्का प्रहार भएको छ। आईपीएलमा यो दोस्रोपटक यति धेरै संख्यामा छक्का प्रहार भएको हो। यसअघि २०१८ को आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलोर र चेन्नई सुपर किंग्सबीचको खेलमा पनि ३३ छक्का प्रहार भएको थियो।

यसपटक राजस्थान रोयल्सका तर्फबाट सन्जु सेमसनले ९ छक्का तथा स्टिभ स्मिथ र जोफ्रा आर्चरले ४÷४ छक्का प्रहार गरे। त्यस्तै, चेन्नई सुपर किंग्सका लागि सर्वाधिक ७२ रन बनाएका फाफ डु प्लेसिसले ७ छक्का प्रहार गरे। अन्यमा सेन वाटसनले ४, एमएस धोनीले ३ र सेमकरणले २ छक्का प्रहार गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्