प्रशासनिक गल्तीले रोमा पराजित



रोमा, (एजेन्सी)

इटालियन ‘सिरी ए’ अन्तर्गत टोली रोमाले प्रशासनिक गल्ती गरेपछि ३–० को हार व्यहोर्नु परेको छ। शनिबार हेलास भेरोनाविरुद्ध खेलेको खेल गोलरहित बराबरी भएको थियो। तर, रोमाले २३ वर्षीय अमाडोउ डियावारालाई सिनियर टिमको सूचीमा नराखेपछि यसको सजायस्वरूप पराजय व्यहोरेको हो।

रोमाले डियावारालाई उनीहरूको २२ वर्षमुनिको टोलीमा सूचित गरेको थियो। तर, उनीहरूले सिनियर टोलीको २५ सदस्यमा उनको नाम समावेश गर्नुपर्ने थियो। त्यो नगरी रोमाले उनलाई सिरी ए अन्तर्गत भेरोनाविरुद्धको खेलमा ८९औं मिनेटमा मैदानमा पठाएको थियो। उक्त गल्तीले रोमाले ३–० को हार बेहोर्दा भेरोनालाई ३ अंक मिलेको छ।

यस्तो गल्ती यो पहिलोपटक भने भएको होइन। सन् २०१६ मा सिरी ए को खेलमा पनि त्यस्तै त्रुटि भएको थियो। सासाउलोले पेस्काराविरुद्ध एन्छोनिनो रागुसालाई मैदानमा पठाएको थियो। उनको नाम सूचीमा थिएन, यो गल्तीमा सासाउलोले ३–० को हारको सजाय भोग्नुपरेको थियो।

प्रतिक्रिया दिनुहोस्