खोटाङको बुइँपामा सुविधा सम्पन्न रंगशाला



रामधन राई, खोटाङ

खोटाङस्थित दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइँपामा निर्माणाधीन पूर्वी पहाडी जिल्लाकै व्यवस्थित रंगशालाको काम अन्तिम चरणमा पुगेको छ। बुइँपाका अग्रज प्रभुराम राईको अगुवाइ तथा इलाभेन स्पोर्ट्स क्लबको पहलमा २०६५ सालदेखि शुरू गरिएको खेल मैदानको काम हाल अन्तिम चरणमा पुगेको हो।

बुइँपाली खेलप्रेमी तथा समाजसेवीले चन्दा संकलन गरेर निर्माण कार्य थालेको खेल मैदान हाल सुविधा सम्पन्न पक्की प्याराफिटसहित राष्ट्रिय मापदण्डअनुरूप रंगशालाको रूपमा विकास भइरहेको छ।  करिब ३३ रोपनी क्षेत्रफलमा निर्माणाधीन रंगशाला  १ सय ३०  मिटर लम्बाइ र ९० मिटर चौडाइ रहेको छ।

रंगशालालाई नगरपालिकाले गौरवको आयोजनाको रूपमा लिएर ६० लाख रुपियाँ बजेट विनियोजन गरेर खर्च गरिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए। नगरपालिकाले यस आर्थिक वर्ष पनि रंगशालाका लागि ५० लाख रुपियाँ बजेटको व्यवस्थापन गरेको मेयर रिजालको भनाइ छ। रंगशाला निर्माण गर्न प्रदेश सरकारले पनि ६० लाख रुपियाँ बजेट विनियोजन गरेको छ।

रंगशालामा आसन कक्षसहितको व्यवस्थित मञ्च, दर्शकका लागि दुईवटा पक्की  प्याराफिट, खानेपानीको धारा तथा शौचालय निर्माण  भइसकेको छ। हाल, रंगशालाको पर्खाल लगाउने कार्य शुरू भएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ का वडाध्क्ष दिनेश राईले बताए।

प्रतिक्रिया दिनुहोस्