प्रदेश सरकारले सहुलियतमा ३ अर्ब ऋण दिने



नेपाल समाचारपत्र, हेटौंडा

बागमती प्रदेश सरकारले उत्पादन तथा रोजगारी सिर्जना गर्न सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ ।

बुधबारको मन्त्रिपरिषद् बैठकले कृषि, उद्योग, व्यापार व्यवसायसँग सम्बन्धित कार्यक्रमका लागि ऋण लगानी कार्यक्रमलाई व्यवस्थित, सरल, सहज, प्रभावकारी र पारदर्शीरुपमा सञ्चालन कार्यविधि पास गरेको छ ।

कार्यविधिअनुसार स्थानीय तहले सिफारिस गरेका आर्थिकरुपमा विपन्न, सीमान्तकृत समुदाय तथा लक्षित वर्गका लागि सहुलियतपूर्ण ३ अर्ब ऋण लगानी गरिने आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुगेलले जानकारी दिनुभयो ।

प्रदेशले कृषि व्यवसाय, उत्पादन, प्रशोधन, भण्डारण र बजारीकरण, उद्योग व्यवसाय, पर्यटन प्रवद्र्धन, वन तथा वातावरणजन्य उद्योग, महिला उद्यमशीलता, दलित समुदाय व्यवसाय विकास र फोहरमैला व्यवस्थापनतर्फ ऋण लगानी गर्ने भएको हो ।

कृषि विकास बैंकमार्फत् हुने लगानीले देशमा रोजगार र व्यवसाय बढ्ने सरकारले अपेक्षा गरेको छ । लगानीपश्चात् सरकारले बेरोजगार युवा जनशक्तिलाई रोजगारीमा आबद्ध गर्ने, फोहोरमैला व्यवस्थापन गर्ने, महिला तथा दलित समुदायको उद्यमशीलता प्रवद्र्धन, उत्पादनशील कार्यक्रमका लागि लगानी प्रवद्र्धन, कोरोना प्रभावित कृषि, पर्यटन एवम् रोजगारीमूलक घरेलु तथा लघुउद्योग व्यवसायीलाई पुनरुत्थान गरिने मन्त्री ढुगेलले जानकारी दिनुभयो ।

सहुलियतपूर्ण ब्याजदरमा ऋण लगानी कार्यक्रम कार्यान्वयनको नीतिगत विषयमा आवश्यक निर्देशनका लागि सम्बन्धित मन्त्रालयका मन्त्री संयोजक हुने गरी निर्देशक समिति रहनेछ । ऋण लगानी प्रक्रिया सहजीकरण तथा समन्वयका लागि सम्बन्धित मन्त्रालयका सचिव संयोजक रहने गरी समिति बनाइएको छ । बैठकले प्रहरी एकार्इं भवन निर्माणार्थ बजेट निकासा गर्न स्वीकृत गर्ने निर्णयसमेत गरेको प्रवक्ता मन्त्री ढुंगेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्