कवाडी व्यवसायलाई कानुनी दायरामा ल्याउन जोड



काठमाडौं, (नेस)
कवाडी व्यवसायलाई कानुनीरूपमा अगाडि बढाउन नेपाल कवाडी संघले माग गरेको छ । दर्ता बिना कवाडी आयात–निर्यात भइरहेको जनाउँदै संस्थाको सिफारिस र वाणिज्य विभागको अनुमतिपछि मात्रै यस्तो व्यवसाय सञ्चालन हुनुपर्ने संघको भनाइ छ ।
बिना दर्ता व्यवसाय सञ्चालन गर्दा राज्यको राजस्व गुम्ने भन्दै कवडाी व्यवसायलाई कानुनी दायरामा ल्याउन संघले सरकारको ध्यानाकर्षण गराएको छ । संघले यसअघि गृह मन्त्रालयसमक्ष संस्थाको सिफारिस र वाणिज्य विभागको अनुमति बिना कवाडी संकलन गर्न नदिन आग्रह गरेको थियो । गृह सचिवस्तरीय निर्णयअनुसार आवश्यक कारबाहीका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदनसहित पठाए पनि कार्यान्वयन भएको छैन । गृहले संस्थाको सिफारिसलाई व्यवसायमा एकाधिकार हुने जनाउँदै उक्त व्यवस्था लागू गर्न नसकिने जनाए पनि वाणिज्य विभागको अनुमतिमा व्यवसाय दर्ता गरी सञ्चालन गर्ने वातावरण निर्माणमा कानुनअनुसार आवश्यक कारवाहीका लागि संघीय मामिला मन्त्रालयले उपत्यकाको तीन जिल्ला र काभ्रेपलाञ्चोकका स्थानीय तहमा परिपत्रसमेत गरेको थियो ।
संघको हालै नयाँ समिति चयन गरेको छ । संघको साधारणसभाले पञ्च तामाङ लामाको अध्यक्षमा केन्द्रीय कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा श्रीराम घले लामा, सचिवमा तिलकप्रसाद बाँसकोटा र कोषाध्यक्षमा उपेन्द्र शाह तथा सदस्यमा दिनेश शाह, मानबहादुर घर्तिमगर, राजेन्द्र शाह, धर्मेन्द्र जयसवाल र राकेशकुमार जयसवाललाई चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्