‘र्यामडेसिभिर’को नेपाली अवतार ‘फेभिपारभिल’को नेपालमै उत्पादन शुरू



भगवती तिमल्सिना, काठमाडौं

कोभिड–१९ को उपचारका लागि महँगोमा खरिद हुँदै आएको ¥यामडेसिभिर नामले चिनिने खोप अब नेपालमै फेभिपारभिल (फेभिर २०० ट्याब्लेट)का नामले उपलब्ध हुने भएको छ ।

फेभिपारभिलको उत्पादन देउराली जनता फर्मास्युटिकल्स प्रालिले शुरू गरिसकेको छ ।

यो औषधी कोरोना संक्रमितलाई आकस्मिक प्रयोगका लागि अनुसन्धानात्मक प्रयोगका रूपमा विश्वले नै प्रयोग गर्दै आएको छ । यो औषधी यसअघि नेपालमा भारतबाट ल्याउनका लागि सीमित सप्लायर्सलाई मात्र टेन्डर स्वीकृति गरिएको र औषधीमा कालोबजारी हुँदै आएको थियो ।

प्रतिमात्रा ६ हजार ४ सयमा टेन्डर स्वीकृति भएको औषधीको ४० हजारदेखि एक लाखसम्म कालाबजारियाले लिँदै आएको पीडितहरूले यसअघि नै सार्वजनिक गरेका छन् । पहिला भने यो सामान्यरूपमा पाइने औषधी भए पनि कोरोनामा प्रयोग भएको भन्नेबित्तिकै कालोबजारी शुरू भएको थियो ।

नेपाल द्रूतरूपमा फैलिरहेको कोभिड–१९ महामारीबाट मंगलबारसम्म ६७ हजार ८ सय ४ जना संक्रमित भएको र ४ सय ३६ व्यक्तिको दुःखद निधन भइसकेको छ । यसको संक्रमण क्रमशः बढ्दै जाने देखिएकाले यस कठिन परिस्थितिमा सो रोगको उपचारका लागि आवश्यक औषधीमध्ये फेभिपारभिर ट्याब्लेट एन्टिभाइरल औषधीलाई विश्वका धेरै मुलुकहरूले कोभिड–१९ का बिरामीहरूमा परीक्षणपश्चात् प्रयोग गरिरहेको देउराली जनताले जनाएको छ ।

हालसम्म फेभिपारभिर ट्याब्लेट औषधी जापान, चीन, रसिया, अमेरिका, टर्की, क्यानडा, भारत र बंगलादेशलगायत धेरै मुलुकका सरकारले कोभिड–१९ को उपचारका लागि अत्यावश्यक प्रयोग गर्न अनुमति प्रदान गरिसकेका छन् ।

विगत तीन दशकदेखि नेपालमा औषधी उत्पादन गर्दै आएको देउराली जनताले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधी व्यवस्था विभागबाट उत्पादनको अनुमति लिई नेपालमा नै पहिलोपटक फेभिपारभिर उत्पादन शुरू गरेको जनाएको छ ।

कोभिड–१९ को उपचारका लागि क्लिनिकल अध्ययन प्रयोजनका लागि उपलब्ध गराउने गरी औषधी व्यवस्था विभागबाट यही असोज ६ गते कम्पनीले स्वीकृति पाएको हो ।

यस औषधीलाई आकस्मिक अनुसन्धान गर्नका लागि क्लिनिकल अध्ययन गरी त्यसको प्रभावकारिताको समेत नेपालकै बिरामीमा अध्ययन गर्न सहकार्य गर्ने तयारीसमेत गरिएको कम्पनीले जनाएको छ । बिरामीको उपचार÷प्रयोगका लागि चिकित्सकको सिफारिस र निगरानीमा मात्र अनुसन्धानार्थ सो औषधी उपलब्ध हुनेछ ।

‘स्वास्थ्य मन्त्रालय, औषधी व्यवस्था विभाग र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट माग वा निर्देशन भएमा कोभिड–१९ का बिरामीको उपचारका लागि आवश्यक मात्रामा तुरुन्तै फेभिपारभिल उपलब्ध गराउन हामी तयार

छौं।’ –देउराली जनताले बुधबार विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

नेपाल यो औषधी उत्पादन गर्ने विश्वको आठौं देश भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्