ज्योति ग्रुपको अध्यक्ष को ?

कम्पनी रजिस्टारको कार्यालय दाइको पक्षमा



नेपाल समाचारपत्र, काठमाडौं

नेपालको चर्चित उद्यमी समूह ज्योति ग्रुप दाजु–भाइबीच सिर्जना भएको मनमुटाबका कारण अध्यक्षको विवादमा फसेको छ । दाइ पद्म ज्योति र भाइ रुप ज्योति दुवैले आफूलाई अध्यक्षको दाबी गरिरहनुभएको छ ।

दाजु पद्म ज्योतिले कानुनविपरीत आफूलाई हटाइएको गुनासो गर्नुभएको छ भने भाइ रुप ज्योतिले कानुनका दफा उद्धृत गर्दै नियमसंगत ढंगले हटाएर आफू अध्यक्ष बनेको दाबी गर्नुभएको छ ।

डा. रुप ज्योतिले यही भदौ २९ गते केही राष्ट्रिय दैनिकमा विज्ञापन छपाएर आफू अध्यक्ष भएको घोषणा गरेपछि ज्योति ग्रुपको विवाद सतहमा पुगेको हो ।

विज्ञापनमार्फत डा. रुप ज्योतिलाई अध्यक्ष निर्वाचित भएको जनाएपछि व्यापारिक संस्थामा तरंग उत्पन्न भएको हो । अध्यक्षलाई जानकारी नै नदिई भाइले आफू अध्यक्ष भएको घोषणा गरेपछि ज्योति ग्रुपको घर झगडाको गहिराइ देखिएको हो ।

भाइले आफूलाई कुनै जानकारी नै नदिई अध्यक्ष घोषणा गरेर प्रचारबाजी गर्दै ज्योति ग्रुपको अध्यक्ष लेख्न थालेपछि अध्यक्ष पद्म ज्योति र भाइ रुप ज्योतिबीच बोलचाल बन्द मात्र भएको छैन, विवादले उग्र रुप लिएको छ ।

अध्यक्ष पदमज्योतिले यही असार ५ गते सबै कम्पनीबाट कम्पिनी रजिस्टार कार्यालयमा पत्राचार गरी वैधानिक अध्यक्ष आफू नै भएको जानकारी गराउनुभएको थियो ।

लगत्तै कम्पनी रजिस्टार कार्यालयले यही साउन १८ गते भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्स लिमिटेड पब्लिक कम्पनी भइसकेको कारण त्यसको अध्यक्ष परिवर्तन गर्न विशेष साधारण सभा बोलाउन १५ दिनअगावै राष्ट्रिय दैनिकमा दुई पटक सूचना जारी गर्नुपर्ने, तर त्यो विधि नपुगेको जनाएको थियो ।

‘यसरी विधि नै नपु¥याई गरिएको अध्यक्ष परिवर्तनलाई एकलौटी र मनोमानी किन नभन्ने, रुप ज्योतिले दाइ पद्म ज्योतिमाथि अन्याय गरेको किन नमान्ने?’ दाइ पक्षले प्रश्न उठाएको छ । कम्पनी रजिस्टार कार्यालयले विशेष साधारण सभा नभएसम्म पद्म ज्योति नै भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्स लिमिटेडको अध्यक्ष भएको जनाउँदै पत्र पठाएको छ ।

ज्योति ग्रुपअन्तर्गत हिमाल आइरन एन्ड स्टिल, हिमाल एन्ड कम्पनी, म्यानेजमेन्ट सर्भिस, स्याकार कम्पनी, ज्योति एन्ड कम्पनी, स्यामकापु एन्ड कम्पनीलगायतका प्राइभेट कम्पनी रहेका छन् ।

अध्यक्षको विवादका सम्बन्धमा रुप ज्योतिको प्रतिक्रियाका लागि बुधबार नेपाल समाचारपत्रले सम्पर्क गर्दा उहाँले ‘म अहिले ध्यानमा छु, शनिबार फर्केपछि विस्तृत बताउनेछु, अहिले कानुनी सल्लाहकारसँग बुझ्नुहोस्’ भन्नुभयो ।

उहाँका कानुनी सल्लाहकार ठाकुर पोखरेलले भाजुरत्न इन्जिनियरिङ पब्लिक कम्पनी भएकोले विशेष साधारण सभा बोलाउन १५ दिनअगावै सूचना प्रकाशित गर्नुपर्ने थियो तर अन्य निजी कम्पनी भएकोले त्यो विषय लागू हुँदैन । उहाँले कम्पनी ऐनको दफा ८६ को उपदफा ४ अनुसार निजी कम्पनीले सञ्चालकहरुको ५१ प्रतिशत बहुमत पु¥याएर कुनै पनि सञ्चालकलाई अध्यक्ष चयन गर्नसक्ने प्रावधान रहेको बताउनुभयो ।

उता पद्म ज्योतिले कम्पनी ऐनअनुसार अध्यक्षले बैठक बोलाउनुपर्ने बताउनुभयो । ‘अहिलेको सन्दर्भमा मलाई केही जानकारी नै छैन, न त मैले साधारण सभा बसेको देखेको छु । अन्य सञ्चालकहरु आफू आफू मिलेर अध्यक्ष परिवर्तन ग¥यो भन्छन्, अध्यक्षलाई नै थाहा छैन । यो गलत प्रक्रिया हो ।’ –उहाँले भन्नुभयो ।

कम्पनी रजिस्टर कार्यालयले भाद्र २ गते ज्योति ग्रुपअन्तर्गतका सबै निजी कम्पनीमा पत्र काट्दै एक साताभित्र यथार्थ जानकारी दिन निर्देशन दिएको छ । सो नगरे कम्पनी रजिस्टार कार्यालयले कम्पनी ऐन २०६३ बमोजिम कारबाही हुने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्