कोरोना भूसको आगो



कोरोना संक्रमणका कारण मुलुक अनिश्चितता तर्फ रुमलिन थालेको छ । लामो समयको लकडाउन पछि पनि अवस्थामा सुधार नआएपछि सरकारले अवस्थालाई सामान्यतर्फ लैजाने प्रयास गरेको छ । अहिले जनजीवन सामान्य बनेको जस्तो देखिएपनि संक्रमण भने भुसको आगोजस्तै भित्रभित्रै सल्किएको छ । खासगरी राजधानी अहिले बढी प्रभावित क्षेत्रको रुपमा देखा पर्नथालेको छ ।
सरकारले सबै व्यवसाय सञ्चालन गर्नपाउने घोषणा गरेपछि सहर–बजारमा देखिएको अनियन्त्रित भिडले अर्को विकराल समस्या ल्याउने निश्चित प्रायः देखिन्छ । नजिकिदो चाडका कारण अहिले बजारमा देखिने भिड निसासिने खालको छ । सरकारले घोषणा गरेको स्वास्थ्य मापदण्डलाई बेवास्ता गर्दै बजारमा देखिएको भीडले असर देखाउँछ नै । व्यापारीहरु पनि रोगभन्दा भोकसंँग बढी डराएको देखिन्छ । अहिले जथाभावी रुपमा खोलिएका बजार र व्यवसायका कारण कोरोना संक्रमणको इपी सेन्टर राजधानी बन्ने निश्चित छ । युरोपका केही मुलुकले कोरोना नियन्त्रणमा आयो भन्दै बन्दाबन्दीको अन्त्य गरेपछि अहिले त्यहां देखिएको कोरोना संक्रमणको भयावह स्थितिपछि पुनः बन्दाबन्दी गर्ने तयारी गरेका छन् । संक्रमणले महामारीको रुप लियो भने यसलाई नियन्त्रण गर्न राज्यलाई हम्मे पर्ने देखिन्छ । राज्य पछिल्लो समय संवेदनहीन बन्दैगएको छ । यसले जनतामा पार्ने असरका बारेमा राज्यले सोच्न नसक्नुलाई अर्को विडम्वना नै मान्नुपर्दछ । जनतामा पनि मैले जे गरेपनि हुन्छ भन्ने मनोवृत्तिले अकालमा नै ज्यान जाने अवस्था सिर्जना हुनुलाई गम्भी रुपमा लिनुपर्दछ ।
कोरोना भाइरसको अहिलेसम्म औषधि पत्ता नलागेको र संक्रमण तीव्र गतिमा फैलने क्रममा रहेकोले यसले समाजमा पार्ने असरका बारेमा न जनताले कल्पना गरेका छन् न राज्यले नै अनुमान गरेको छ । यसलाई सामान्य मान्ने नेपाली जनताको हेलचेक्र्याइँपूर्ण ब्यवहार अहिले सबैभन्दा बढी चासो र चिन्ताको विषय बन्न पुगेको छ । मैले के गर्नुहुन्छ, के गर्न हुदैन भन्ने चेतना तल्लो वर्गसम्म नपुग्दा यो समस्या विकराल बन्दैगएको देखिन्छ । हामीले के गर्ने के नगर्ने भन्ने विषयमा नागरिक आफै सचेत हुनुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्