श्रमिकले पाएनन् अझै पारिश्रमिक



विजय नेपाली, पोखरा
रूपाकोटमा अहिले कालोपत्रे सडक छ । सवारीहरू कालोपत्रे बाटोमा आनन्दसँग गुड्छन् । तर, कालोपत्रे बाटो निर्माण गर्दा बाटोको छेउमा नाली तथा बाटो जोगाउन ग्याबिनमा राखिएको जालीमा काम गर्ने मजदुरले भने अझै पारिश्रमिक पाएका छैनन् । त्यो पनि १७ लाख रुपियाँ ।

धादिङ बेनीघाट रोडाङ–९ बाट कामका लागि पोखरा आएका २५ जना मजदुर ४ वर्षदेखि रकम पाउने आशामा बसिरहेका छन् । तर पनि अहिलेसम्म उनीहरूले काम गरेको रकम भने पाएका छैनन् ।
धादिङ सोही गाउँका रमेश चेपाङको जिम्मामा आएका २५ जना कर्मचारीले २०७३ सालमा खोलाको छेउदेखि भीरचोकसम्म नाली बनाए, जाली लगाए ।

रमेशले स्थानीय रामजी अधिकारीसँग पार्टनरसिपमा उक्त काम गरे । बीचमा रामजी राजनीतिमा बढी नै लाग्न थाले र कामतर्फ ध्यान दिएनन् । रामजी अधिकारी रुपाकोट गाउँपालिका–३ का वडाध्यक्षमा निर्वाचित भए । सम्भवतः उनले निर्वाचनको समयमा समेत रकम खर्च गरे होलान् तर आफ्नो पार्टनरसिपमा काम गरेको कर्मचारीलाई भने ज्याला दिन हिचकिचाए ।

२०७२ सालमा बाटोको टेन्डर परेपछि ०७३ साल मंसिर ३ गतेदेखि उनीहरूले काम शुरू गरे । काम घाटामा गयो । घाटामा गएसँगै सबै जिम्मा रमेशको काँधमा आएको छ । बारम्बार फोन गर्दासमेत नउठाउने नभेट्ने गर्दागर्दै ४ वर्ष बितिसक्यो । अहिले वडाध्यक्ष बनेर बसेका रामजीले घाटामा गएसँगै मजदुरलाई रकम दिन नसक्ने अभिव्यक्ति दिएका छन् ।

‘पैसा आएको छैन । ३÷४ महिना भन्दाभन्दै ४ वर्ष भइसकेछ ।’ –कामदारमध्येका एक प्रदीप चेपाङले भन्नुभयो । काम गरेपछि हालसम्म करिब १० देखि १२ हजार रुपियाँमात्र हातमा परेको उहाँले सुनाउनुभयो । ‘हामीले बारम्बार दुवै जनासँग कुरा ग¥यौं । रमेश दाइ भन्नुहुन्छ रामजीले फोन उठाएन । हामीले पनि आजसम्म फोन ग¥यांै उठ्दैन ।’ –उहाँले भन्नुभयो ।

त्यस्तै ठेक्का लिएर पार्टनरसिपमा काम गरेका ठेकेदार रमेश चेपाङले घाटा भए पनि दुवै मिलेर आधा–आधा तिर्नुपर्ने बताए पनि वडाध्यक्षले आनाकानी गरेको बताउनुभयो । ‘हामीले पार्टनरसिपमा मिलेर ५७ लाख ६० हजार ८ सयको योजनामा काम गरेका हौं । हामीले मजदुरलाई १७ लाख दिन बाँकी छ । हामी घाटामा गएका हौं । दुवै मिलेर तिर्नुपर्छ भन्दा उहाँ (वडाध्यक्ष रामजी) मान्नुहुँदैन । छलफल गरौंला भन्नुभएको छ हेरौं के हुन्छ ।’ –चेपाङको कथन छ ।

‘श्रमिक ऐनले काम गरेको ७ दिनभित्र ज्याला दिनुपर्छ भन्छ तर यहाँ ४ वर्षसम्म पनि पाएका छैनन् । कामको सिलसिलामा देशका विभिन्न ठाउँमा जाने मजदुर यसरी नै शोषणमा पर्ने गरेका छन् । कामको जिम्मा लिइसकेपछि नाफा भए पनि घाटा भए पनि श्रमको लागत दिनैपर्छ । मजदुरले आफ्नो पसिनाको मुल्य पाउँन पर्छ अब छिटो पाएनन् भने कानुनीरूपमा अघि बढ्नुपर्छ’, –क्युपेक नेपालका केन्द्रीय सदस्य पुण्यप्रसाद उप्रतीले भन्नुभयो– ‘रमेश चेपाङले समस्या हामीकहाँ ल्याउनुभएको छ । दिनभर घाम–पानीमा खटिएका मजदुरलाई कामको पैसा दिनुपर्छ । यसो नभए हामी श्रमिक ऐनअनुसार जान बाध्य हुनेछौं ।’

वडाध्यक्ष रामजीसहित रमेश र पुण्य प्रसादबीच आइतबारको छलफलमा रामजीले हिसाबकिताब हेर्ने गरी दुई जना पार्टनर मात्र बसेर निष्कर्ष निकाल्ने बताएका थिए । मोटो रकम तिर्न बाँकी भएकाले वडाध्यक्ष भने तिर्ने पक्षमा देखिनुभएको छैन ।

प्रतिक्रिया दिनुहोस्