अडाध्यक्ष–युवाबीच माथापच्ची : बलात्कारको घटना ढाकछोप गर्न खोजेको आरोप



गोकुल घोरसाइने, बारा

बलात्कारको घटना लेनदेनका आधारमा गाउँमै मिलाउन खोजेको भन्दै जनप्र्रतिनिधि र स्थानीय युवाबीच हात हालाहाल र भनाभन भएको छ । सुवर्ण गाउँपालिका–५ का वडाध्यक्ष रामएकवाल साहले पञ्चायत राखेर बालिका बलात्कारको घटना लेनदेनमा मिलाउन खोजेको स्थानीय युवाको आरोप छ ।

वडाध्यक्ष साहले गाउँमा भद्रभलादमीलाई बोलाएर पञ्चायत राखेका थिए । तर, स्थानीय युवाहरूले बलात्कार मुद्दा लेनदेनमा मिलापत्र पञ्चायत राखेको भन्दै विरोध गरेपछि स्थानीय युवा र वडाध्यक्ष साहबीच भनाभन र हात हालाहाल भएको थियो । त्यसपछि वडाध्यक्ष पञ्चायत छोडेर भागेका थिए । वडाध्यक्ष साहले २–२ पटक पञ्चायत राखेर १ लाख ५० हजार जरिवाना गरी बलात्कारीलाई बचाउन खोजेको स्थानीयको आरोप छ ।

लेनदेनबाट घटना नमिल्ने देखेपछि आरोपी शिवपुजन यादवलाई शनिबार नै वडाध्यक्ष साह भारततर्फ भागाइएको स्थानीय युवा विनोद यादवले बताउनुभयो । बलात्कार जस्तो जघन्य अपराध गर्नेलाई जरिवाना तिराएर लेनदेनका आधारमा मिलापत्र गराउन नहुने र कानुनी कारबाही गरिनुपर्ने यादवको भनाइ छ ।

सुवर्ण गाउँपालिका–५ को औरैयामा गत शुक्रबार राति करिब साढे ७ बजे गाउँमा विश्वकर्मा पूजाको मेला हेरेर घरभन्दा केही पर बुबालाई खाना खान बोलाउन १२ वर्षीया बालिका गएकी थिइन् । सोही बेला स्थानीय २५ वर्षीय शिवपुजन यादवले गम्छाले बालिकाको मुख थुनेर नजिकैको खाली घरमा लगी जबरजस्ती करणी गरेको स्थानीय बताउँछन् । बालिकाले चिच्याएर गुहार मागेपछि पुगेका छिमेकीहरूले पनि आरोपित शिवपुजन भागेको प्रष्ट देखेका प्रत्यक्षदर्शी स्थानीय जग्दीलाल यादवले बताउनुभयो ।

पीडक यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता भएको छ । पीडितका बाबुले असोज ३ गते जिल्ला प्रहरी कार्यालय बारामा जबरदस्ती करणी मुद्दा दर्ता गराएका हुन् । प्रहरीले पीडितको जिल्ला अस्पताल कलैयाबाट स्वास्थ्य परीक्षणसमेत गराइसकेको बारा प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्र बताउनुहुन्छ । घटनाबारे थप अनुसन्धान तथा फरार भनिएका आरोपितको खोजी कार्य भइरहेको पनि उहाँले बताउनुभयो ।

यता पञ्चायतबाट आफूलाई लखेट्ने गाउँका ७ जना युवाविरुद्ध वडाध्यक्ष साहले अभद्र व्यवहारमा मुद्दा दर्ता गर्न प्रहरीलाई दबाब दिएका छन् । पञ्चायत बसिरहेको समयमा आफूलाई लखेटेर हातपातसमेत गरेको भन्दै उनले ती युवाविरुद्ध मुद्दा दर्ता गर्न प्रहरीलाई दबाब दिइरहेको प्रहरी स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्