बासुलिंगद्वारा कैलपाल पराजित



विनोद सिंह विष्ट, बैतडी
बैतडीको सतबाँझमा सम्पन्न प्रथम सुर्नया टी–१० क्रिकेट लिगको उपाधि आयोजक बासुलिंग क्रिकेट क्लब ‘ए’ले हात पारेको छ।
फाइनल भिडन्तमा बासुलिंगले कैलपाल क्रिकेट क्लबलाई ५ विकेटले स्तब्ध पार्दै उपाधि जितेको हो। कैलपालले दिएको ८१ रनको लक्ष्य बासुलिंगले ९ ओभरमा ५ विकेटको क्षतिमा पूरा ग¥यो। जसमा दीपक बोहराले ३७ रनको उत्कृष्ट पारी खेले। कैलपालका लागि प्रदीप चन्दले २ विकेट हात पारे पनि हार भने टार्न सकेनन्।
त्यसअघि सिद्धखाली खेल मैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको कैलपालले ७ विकेटको क्षतिमा ८० रन बनाउन सक्यो। उसका लागि प्रदीप चन्दले २९ रनको योगदान गरे। बासुलिंगका टेक चन्दले ३ विकेट झारे। म्यान अफ द फाइनल बासुलिंगका दीपक बोहरा चुनिए।
उपाधिसँगै बासुलिंगले २५ हजार रुपियाँ हात पारेको छ भने कैलपालले ८ हजारमा चित्त बुझाउन बाध्य भयो। प्रतियोगिताका विजेता र उपविजेता टोलीलाई युवा समाजसेवी भुवन कार्की र भोजराज जोशी ‘क्वालिटी’ ले पुरस्कार वितरण गरेका थिए।
बासुलिंग क्रिकेट क्लबको आयोजनामा असोज ३ गतेदेखि शुरू भएको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको क्लबका कप्तान महेश ऐरीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्