सनराइजर्स हैदरावादविरुद्ध आरसीबीको विजयी यात्रा



अबुधाबी, (एजेन्सी)
रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी)ले इन्डियन प्रिमियर लिग (आईपीएल) को १३औं संस्करणमा जितबाट शुरुआत गरेको छ।
सोमबार राति अबुधाबीमा भएको खेलमा आरसीबीले सनराइजर्स हैदराबादलाई १० रनले हराएको हो। टोलीले १ सय ६४ रनको लक्ष्य दिएर हैदराबादलाई १ सय ५३ रनमा रोकेको थियो। योसँगै कप्तान विराट कोहलीले एउटै टोलीलाई ५० खेल जिताउने चौथो कप्तान बनेका छन्।
यसअघि महेन्द्र सिंह धोनीले चेन्नई सुपर किंग्स, गौतम गम्भीरले कोलकाता नाइट राइडर्स र रोहित शर्माले मुम्बई इन्डियन्सलाई ५० भन्दा बढी खेलमा जिताइसकेका छन्। धोनी भने टोलीलाई सयभन्दा बढी खेल जिताउने पहिलो र एक मात्र कप्तान हुन्।
आरसीबीका जितका नायक स्पिनर युजबेन्द्र चहल रहन पुगे। उनले १८ रन दिएर ३ विकेट लिएका थिए। उनैले लयमा देखिएका जोनी बेयरस्टो र मनीष पाण्डेलाई आउट गरेका थिए। दुवैले दोस्रो विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए। उनीहरूको साझेदारी चहलले तोडेका हुन्। यही नै आरसीबीले जित्न टर्निङ प्वाइन्ट बनेको थियो। प्लेयर अफ द म्याच चहलले विजय शंकरलाई खाता खोल्न पनि दिएनन्।
आरसीबीका कप्तान कोहली टोलीकै महँगा खेलाडी हुन्। १७ करोडको टोलीमा रहेका उनले केवल १४ रन बनाएका थिए। तर, २० लाखमा अनुबन्ध भएका सस्ता खेलाडी देवदत्त पल्लिकलले ५६ रनको योगदान दिए। उनको यो आइपीएलमा डेब्यू खेल पनि थियो। हैदराबादका महँगा खेलाडी कप्तान डेभिड वार्नर पनि जम्न सकेनन्। उनले मात्र ६ रनको योगदान दिएका थिए।
इंग्लिस ब्याट्सम्यान बेयरस्टोले तीनवटा जीवनदान पाए पनि हैदराबादको जित सुनिश्चित गर्न सकेनन्। कप्तान वार्नर सस्तैमा पवेलियन फर्केपछि बेयरस्टो र मनीष पाण्डेले ब्याटिङ राम्ररी सम्हालेका थिए। बेयरस्टोले ६१ रन बनाउँदा मनीषले ३४ रनको योगदान दिएका थिए। तर, बेयरस्टोले ४०, ४४ र ६० को व्यक्तिगत रनमा जीवनदान पाएर पनि त्यसको फाइदा उठाउन सकेनन्। हैदराबादका अन्य ८ खेलाडीले दोहोरो रन जोड्न नसक्नु नै हारको कारण बनेको थियो।
आरसीबीका लागि देवदत्तले अर्धशतक लगाएका थिए। उनले एरोन फिन्चसँग ९० रनको साझेदारी गरेका थिए। फिन्चले २९ रन मात्र जोड्न सके। त्यसपछि एबी डिभिलियर्सले आईपीएलमा ३४औं अर्धशतक बनाएका थिए। उनी रनआउट हुनुअघि ५१ रन बनाएका थिए। आरसीबीले आईपीएलमा २००९, २०११ र २०१६ मा गरी तीनपटक फाइनल पुगेर पनि उपाधि जित्न सकेको छैन।
मिचेल चोटका कारण बाहिरिए
हैदराबादका फास्ट बलर मिचेल मार्स चोटका कारण खेलबाट बाहिरिएका छन्। अस्टे«लियन बलरलाई पहिलो इनिङको पाँचौं ओभरमा चोट लागेको थियो। टोलीको पाँचौं ओभर उनको पहिलो ओभर थियो। उनले ४ बल मात्रै बलिङ गरेका थिए। दोस्रो बल बलिङ गर्दा उनको खुट्टा मर्किएको हो। यसका बाबजुद पनि उनले अर्को दुई बल फ्याँकेका थिए। त्यसपछि भने उनले बलिङ गर्न सकेनन् र बाँकी २ बल विजय शंकरले गरे तर उनले दुई नोबल फ्याँलेका थिए। हैदराबादका कप्तान वार्नरले मार्सको चोट त्यति गम्भीर नभएको जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्