सीमा बन्दको प्रभाव : विराटनगरमा बढ्यो व्यापार



सरोज यादव, विराटनगर

सार्वजनिक यातायात सञ्चालनमा आएसँगै विराटनगर बजारको चहलपहल बढेको छ । बजारमा उपभोक्ताको चहलपहल बढ्दा कोरोना महामारीबाट प्रभावित व्यवसायीले राहत अनुभूति गरेका छन् ।

भदौ अन्तिम सातादेखि पूर्णरूपमा खुलेको विराटनगर बजारमा आजभोलि उपभोक्ताहरूको घुँइचो बढ्दै गएको छ । नेपालमा महत्वका साथ मनाइने दशैं–तिहार नजिकिँदै गएकाले पनि बजारमा उपभोक्ताको चहलपहल बढेका हो ।

विगत वर्षहरूमा दशैं–तिहार जस्ता ठूला पर्वको पूर्वसन्ध्यामा पनि ग्राहक कुरेर बस्नुपर्ने विराटनगरका पसलमा अहिले बिहानदेखि नै उल्लेख्य संख्यामा उपभोक्ता पुग्ने गरेको बताउँछन् । उपभोक्ता बढेपछि ७ महिनासम्म व्यवसाय बन्द गर्दा भएको नोक्सानीबाट पीडित भएका व्यवसायीले राहतको सास फेरेको विराट व्यापार संघका अध्यक्ष सुजन थापाले बताउनुभयो ।

कोरोनाका कारण अन्तर्राष्ट्रिय सीमा नाकाहरू बन्द हुँदा विराटनगर जस्तो सीमा क्षेत्रको बजारलाई फाइदा भएको अध्यक्ष थापाको भनाइ छ । सीमानाका बन्द भएपछि उपभोक्ताहरु विराटनगर बजारबाटै आफ्ना दैनिक आवश्यकताहरू पूरा गरिरहेका छन् । जसले गर्दा यहाँको व्यापार राम्रो ढंगले चलेको थापाले बताउनुहुन्छ ।

लकडाउनको अवधिमा पनि खुला रहेको किराना पसललाई सीमानाका बन्द हुँदा सबैभन्दा राम्रो फाइदा पुगेको छ । ‘सीमानाका बन्द हुँदा विराटनगरमा ५० प्रतिशत उपभोक्ता बढेका छन्’, थापाले भन्नुभयो– ‘दैनिक हजारौं मानिस नजिकको भारतीय बजारबाट दैनिक उपभोगका अधिकांश वस्तु आयात गर्दारहेछन् भन्ने कुरा अहिले प्रमाणित भएको छ ।’

सरकारले दुई देशबीच खुला आवत–जावत गरे पनि उपभोक्तालाई आफ्नै बजारमा रोक्ने गरी व्यवस्था मिलाउनुपर्ने थापा बताउनुहुन्छ । सामान्य अवस्थामा विराटनगरका उपभोक्ताले भारतीय बजार जोगवनीमा दैनिक सरदर ३ करोड रुपियाँ खर्च गर्दै आएको यहाँका व्यवसायीहरूले बताउने गरेका छन् । बोर्डर बन्द रहेको र बजार खुलेको अवस्थामा विराटनगरमा फस्टाएको व्यापारले उक्त दाबी प्रमाणित गर्ने उनीहरूको दाबी छ ।

सार्वजनिक यातायात सञ्चालनमा आएपछि सोमबार धरानबाट एक जना व्यापारी भारतको जोगवनी जानका लागि विराटनगर आइपुगे । जोगवनीका पसलेसँग सम्पर्क गरेर आएका उनले चोरबाटो भएर जोगवनी जाने आँट गरेनन् ।

व्यापारको उद्देश्यले केही किराना सामान, केही लत्ताकपडा धरान लैजान भनी आएका उनले विराटनगरबाटै सामान लिएर फर्किए । ‘जोगवनीका व्यापारीहरूले आवश्यक सामान छानेर फर्किए दुई दिनभित्रमा सामान घरमै पु¥याइदिने भनेका थिए ।’ –नाम नबताउने सर्तमा ती व्यापारीले भने । यो घटनाले अहिले पनि अनौपचारिक सीमापार व्यापार जारी रहेको स्पष्ट पारेको छ ।

केही दिनदेखि लत्ताकपडा, किराना, बिजुलीका सामानहरु आदिको कारोवार राम्रो भइरहेको व्ययापारीहरुले बताएका छन् । यद्यपि लामो समयको लकडाउन र मानिसहरुको आम्दानीमा परेको प्रभावले गर्दा बजारमा सबै खालका उपभोक्ता भने नआइपुगेको उनीहरूको भनाइ छ ।

अन्तर्राष्ट्रिय सीमानाका बन्द बजारमा कपडा व्यवसायीहरुलाई पनि राम्रो फाइदा भएको छ । यस क्षेत्रका अधिकांश उपभोक्ता कपडा किन्नकै लागि जोगवनी जाने गरेका थिए । विराटनगरका मात्र होइन धरान, धनकुटादेखि कपडा र चिनी किन्न जोगवनी जाने हजारौंको संख्यामा थिए । अहिले उनीहरू आन्तरिक बजारकै उपभोक्ता बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्