नेपाललाई भारतको सहयोग निरन्तर रहने



नेपाल समाचारपत्र,काठमाडौं ।

छिमेकी भारतले नेपालको आर्थिक–सामाजिक विकासमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता दोहो-याएको छ । नेपालस्थित भारतीय राजदूतावासबाट मंगलबार जारी एक प्रेस विज्ञप्तिमा भनिएको छ, ‘भारत सरकार भूकम्पपछिको पुनर्निर्माण परियोजनालगायत नेपालको आर्थिक–सामाजिक विकासमा निरन्तर सहयोग गर्न प्रतिबद्घ छ ।’

नेपालमा २०७२ सालमा आएको विनाशकारी भूकम्पले पारेको असरलाई सम्बोधन गर्ने उद्देश्यले भारतले खासगरी शिक्षा क्षेत्रमा भएका पुनर्निर्माण प्रयासहरुबारे तयार पारिएको सीबीआरआई परियोजना वेबसाइटको भारतीय राजदूत विनय मोहन क्वात्रा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीद्वारा संयुक्त रुपमा शुभारम्भ गरिएपछि जारी गरिएको प्रेस विज्ञप्तिमा सो प्रतिवद्धता दोहो¥याइएको हो ।

‘भारत सरकारको १ अर्ब अमेरिकी डलरको प्रतिवद्घताअनुरुप नेपालमा सञ्चालित भूकम्पपछिका पुनर्निर्माण परियोजनाहरु निरन्तर अघि बढिरहेको’ जानकारी गराउँदै विज्ञप्तिमा विशेषगरी आवास क्षेत्रमा, गोरखा र नुवाकोट जिल्लामा ५० हजार थान घरमध्ये ४६ हजार घर निर्माण भइसकेको विवरण दिइएको छ ।

यस्तै, ७० वटा विद्यालय, एउटा पुस्तकालय, १ सय ४७ वटा स्वास्थ्य संरचना र २८ वटा सांस्कृतिक सम्पदा क्षेत्रका परियोजनासहित शिक्षा, स्वास्थ्य र सांस्कृतिक पुनस्र्थापना परियोजना पुनर्निर्माण/रेट्रोफिटिङ्गका लागि कार्यान्वयनमा रहेको पनि प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संयुक्त रुपमा उद्घाटन गरिएको वेबसाइटमा नेपाली र अंग्रजी भाषामा भूकम्प पछिको पुनर्निर्माणमा भारतले खासगरी शैक्षिक क्षेत्रमा पु-याएको योगदानको विस्तृत जानकारी प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्